समाचार

झाँक्रीले सरकारी क्वाटर नछोड्दा मन्त्री चौधरीलाई समस्या

झाँक्रीले सरकारी क्वाटर नछोड्दा मन्त्री चौधरीलाई समस्या

रुदै मन्त्रीबाट हटेर चर्चामा रहेकी निवर्तमान शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पद छोडेको झण्डै एक सातासम्म पनि सरकारी निवास छोडेकी छैनन् । झाँक्रीले क्वार्टर खाली नगर्दा सोमबार शहरी विकास मन्त्री बनेका मेटमणि चौधरी डेराबाटै धाईरहेका छन् ।

निवर्तमान मन्त्री झाँक्रीको शंखमूलमा आफ्नै घर छ । तर पनि उनले क्वाटर छोड्न आलटाल गरिरहेको जनाईएको छ। झाँक्रीको सचिवालयले भने घर मर्मत गर्नुपरेकाले पुल्चोकस्थित सरकारी निवासबाट सर्न ढिलाई भएको बताएको छ ।

मन्त्री चौधरी भने शंखमूलस्थित डेराबाटै सिंहदरबार आउजाउ गरिरहेका छन् । डेरा भएकाले उनलाई नागरिकसँग भेटघाट गर्न र सवारी राख्न समस्या परेको छ। उनले झाँक्रीले चाँडै क्वाटर खाली गरिदिए हुन्थ्यो भन्ने चाहना राखेका छन् ।

’डेरामा बस्ने निवर्तमान मन्त्रीहरूलाई त झट्टै सर्न समस्यै होला तर उहाँको त घरै छ, ढिला नगरिदिएको भए हुन्थ्यो’ मन्त्री चौधरीका एक सहयोगीले भने ।

झाँक्री र चौधरी दुवै नेकपा एकीकृत समाजवादीका नेता हुन् । १२ असारमा मन्त्रिपरिषद् हेरफेर हुँदा झाँक्रीको ठाउँमा समाजवादीले चौधरीलाई पठाएको हो । 

मन्त्रालयमा झाँक्रीको विदाईका लागि आयोजित कार्यक्रममा उनले करिव आधि घण्टाको समय रोएरै विताएकी थिईन। पार्टीले सरकारबाट फिर्ता वोलाउने निर्णय गरेपनि आफुहरुलाई नहटाउन आग्रह गर्दै प्रधानमन्त्री शेरवहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दवाव दिन थालेपछि उनको आलोचना भएको थियो।

यति गर्दा पनि धर नपाएपछि उनी रुदै मन्त्रालयबाट वाहिरिएको घट्ना अझै आलोचित भएको थियो। अव सरकारी क्वाटर छोड्न पनि आनाकानी गर्न थालेपछि उनको आलोचनाको श्रृंखला नै सुरु भएको छ।

रामकुमारी झाँक्री मेटमणि चौधरी क्वाटर
ADVERTISEMENT