समाचार समाज

सिसडोल ल्यान्डफिल साइटः तत्काल बन्द नगरिए विस्फोट पनि हुन सक्छ

सिसडोल ल्यान्डफिल साइटः तत्काल बन्द नगरिए विस्फोट पनि हुन सक्छ

नुवाकोटस्थित सिसडोल ल्यान्डफिल साइटको स्थलगत अध्ययन गर्न पुगेका विज्ञहरूको टोलीले उक्त साइट बन्द गर्न थप ढिलाइ गर्न नहुने बताएका छन्।

मङ्गलवार नमुना सङ्कलन गरी काठमाण्डू फर्केको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको टोलीमा संलग्न वैज्ञानिकहरूले त्यहाँ फोहोर फाल्ने ठाउँ अब बाँकी नरहेको बीबीसीलाई बताएका हुन्।

सिसडोल ल्यान्डफिल साइटमा उपत्यकाको फोहोरमैला विसर्जन गर्न थालिएको १७ वर्ष भइसकेको छ।

वि.सं. २०६२ सालको जेठ महिनाबाट उक्त ल्यान्डफिल साइटमा दुई वर्षका लागि भन्दै फोहोरमैला विसर्जन गर्न थालिएको हो।

वैज्ञानिकहरूले के गरे?


काठमाण्डूमा फोहोरमैला सङ्कलन हुन नपाएको पृष्ठभूमिमा महानगरपालिका प्रमुख बालेन्द्र शाहको आग्रहमा विज्ञ टोली सिसडोल ल्यान्डफिल साइट पुगेको थियो।

टोलीमा संलग्न नास्टकी वैज्ञानिक डा. टिष्टा प्रसाईँ जोशीका अनुसार कोल्फु खोलाका तीन फरक स्थानबाट पानीको नमुना सङ्कलन गरिएको हो।

“लीचेट मिसिनुभन्दा अगाडिको स्थान, मिसिएको स्थान र मिसिएकोभन्दा परको स्थानबाट हामीले फरकफरक नमुना सङ्कलन गरेका हौँ’ उनले भनिन्। लीचेट भनेको फोहोरमैला रसाएर निस्कने तरल पदार्थ हो।

सङ्कलन गरिएका नमुनाहरूको अध्ययन सुरु पनि भइसकेको टोलीमा संलग्न अर्का विज्ञ डा. रवीन्द्र ढकालले बताए। ‘विशेषगरी हिजोको हाम्रो भ्रमण लीचेटको अवस्था, त्यसले खोलाको पानीमा कुन स्तरमा विषाक्तता निम्त्याइरहेको छ भन्ने कुरामा केन्द्रित थियो’ उनले भने।

वैज्ञानिकहरूले के पत्ता लगाए?
सिसडोल ल्यान्डफिल साइटमा लीचेट सङ्कलन हुने ठाउँ नभएको आफूहरूले पाएको ढकालले बताए। “लीचेट सङ्कलन हुने पोखरीहरू पुरिएका छन् जसका कारण त्यो सीधै बगेर खोलाको पानीमा मिसिने गरेको छ।“

अध्ययनको नतिजा आएपछि मात्रै सबै कुरा प्रष्ट हुने छ। तर प्रारम्भिक रूपमा भन्नुपर्दा जहाँबाट लीचेट मिसिन थालेको छ त्यहाँदेखि परसम्म जलचर हुने सम्भावना न्यून देखिन्छ,“ उनले थपे।

दश वर्षअगाडि आफूले देखेकोभन्दा सिसडोल ल्यान्डफिल साइट झन् नराम्रो अवस्थामा पुगेको डा. टिष्टा प्रसाईँ जोशीले बताइन्। ‘पहिला त लीचेट जम्मा हुने पन्ड/ट्याङ्क थिए अनि त्यसैमा जम्मा हुन्थ्यो। अहिले त जताबाट पनि बगेको छ, अस्तव्यस्त छ’–उनले थपिन्।

तत्काल बन्द गर्नुपर्ने कारण के हो?


सिसडोल ल्यान्डफिल साइटछेउछाउ भएका बासिन्दाले बस्नै नसक्ने अवस्था आएको गुनासो गर्दै आएका छन्। ल्यान्डफिल साइटबाट टाढासम्म दुर्गन्ध फैलिएको मात्रै नभई पानीका स्रोत प्रदूषित हुनेदेखि मानव स्वास्थ्यसम्ममा गम्भीर असर परेको उनीहरू बताउँछन्।

उक्त ल्यान्डफिल साइटलाई तत्काल बन्द नगरिए ठूलो समस्या निम्तिन सक्ने विज्ञहरूले औँल्याएका छन्। ‘भोलि गएर ल्यान्डफिल साइटमा फोहोरकोे पहिरो जान सक्ला, ग्यास मिथेने निस्केर बल्न सक्ला अथवा दुर्गन्ध निस्किरहला’ ढकालले भने।

विज्ञहरूका अनुसार कुहिने फोहोरमैलाबाट प्रचुर मात्रामा मिथेन ग्यास निस्कने गर्छ। ‘मिथेन त ब्लास्ट नै हुन सक्छ। त्यो प्रज्वलनशीन हुन्छ। विगतमा मूलपानीस्थित ल्यान्डफिल साइटमा त आगो नै बलेका उदाहरण छन्’ प्रसाईँले सचेत गराइन्।

डा. ढकालका अनुसार नदेखिने कतिपय प्वालहरूबाट ग्यास निस्किरहेकोले विस्फोट नहुन पनि सक्छ। ‘तर भित्र बसेको ग्यासलाई धातुको पाइपबाट निकालेर बाल्ने अथवा जम्मा गर्ने काम भयो भने चाँडै मुक्ति पाउन सकिन्छ’ उनले थपे।

समाधानका उपाय के हुन?
आफूहरूको प्रतिवेदन आएपछि समाधानका उपायबारे महानगरलाई आफूहरूले औपचारिक सुझाव दिने अध्यननमा संलग्न विज्ञहरूले बताएका छन्। सिसडोल ल्यान्डफिल साइटको समस्या समाधानका लागि दुईवटा विकल्प हुन सक्ने डा. ढकाल बताउँछन्।

‘एउटा फाइटोरिमेडिएशन हो र अर्को फाइटोमाइनिङ हो’ उनले भने।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो। 
 

सिसडोल
ADVERTISEMENT