कला साहित्य

कविताः दुख्दा पनि नजाने यादहरु

चन्दा पराजुली

कविताः दुख्दा पनि नजाने यादहरु

हृदय छिया पार्नेहरु यही मुटुभित्र कैद छन्
विश्वासको चौघेरामा विष घोलेर
आस्थाको धरहरामा प्रहार गर्छन्
भ्रमको दुनियाँ नचिनेर तिनैका लागि
परेलाबाट भल बग्छन् आँशुको किन
भतभती पोल्छ मन तै पनि आत्माभित्र वस्छन्
खुकुरी हान्छन् अनि मल्हम खोज्छन्
हो आखिर सम्बक्ध भनेकै के ?
अनुत्तरित प्रश्नहरु खेलेका छन्
मनोवाद चलिरहेछ सुनसान रात
न काम न निद्रा न भोक न प्यास
आखिर उत्तरहिन यो शुन्य समय के हो ?
मनमा के छ प्रष्ट देखिने भए
देखिए जस्तो भई दिए अनि
भईदिए जस्तै देखिए सायद
मुहार र विचारको चित्र कोर्दै
समयले अथाह पीडा दिएर जाने रहेछ
जिन्दगीको एक दिन मान्छेले गुण होईन
अवगुण सम्झेर धारमा फालिदियो
तर कस्तो विश्वास आफै भित्र
दुख्दा पनि नजाने यादहरु
लाग्दो हो कमजोरी हो वा मोडिन्छ बाटो
दोवाटो भए पो सम्भव छ
फर्कन सम्भावना छैन, मोडिन अर्को बाटो छैन
कि रोकिएला नत्र भने 
वढ्नुको विकल्प नहोला
त्यही वेला थाहा होला जुन दिन थाह हुनेछ
समय वलवान छ,
हरियो सर्प र रायोको साग उस्तै होईनन्
रङ्ग छुट्याउने समस्या हटेको दिन समाधान होला।
 

चन्दा पराजुली