समाचार

मन्त्री आलेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

मन्त्री आलेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्चमा रिट

अस्लिल बोल्ने र हातपात गरिहाल्ने स्वभावका कारण ‘उदण्ड मन्त्री’ को उपमा पाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई मन्त्रीबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।

अधिवक्ता किशोरकुमार पौडेलले आले विरुद्ध रित दर्ता गराएका हुन। यस अघि पनि सर्वोच्च गएका पौडेलको रिट सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो। दरपिठ विरुद्ध पनि पौडेलले निवेदन दिएपछि न्यायाधीश टंक मोक्तानको इजलासले दरपीठ बेरितको देखिएको भन्दै बदर गरिदिएको थियो।

मोक्तानको आदेशपछि सर्वोच्चले बिहीबार रिट दर्ता गरेको निवेदक पौडेलले जानकारी दिए । रिटमाथि शुक्रबार सुनुवाइका लागि पेशी तोकिएको छ। मन्त्री आलेको आफनो व्यवहार र बोलिका कारण पटक–पटक विवादमा परेकाले पदमा बसिरहन योग्य नभएको निवेदकको जिकिर छ।

‘निज सो पदमा बसिरहन असक्षम रहेको प्रस्ट छ। निजको गैरजिम्मेवार अभिव्यक्तिले समाजलाई अपुरणीय क्षति पुगेको विषयमा यस सम्मानित अदालत जानकार छ’ रिटमा भनिएको छ–‘निज सो पदमा रहिरहँदा थप सिंगो समाज, देश, विदेशमा नकरात्मक प्रभाव पर्ने र थप क्षति पुग्ने भएकाले निजलाई मन्त्री पदमा आजकै मितिदेखि मुद्दाको अन्तिम किनारा नहुन्जेलसम्म काम नगर्नु, गर्न नदिनु भनि सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ बमोजिम विपक्षीको नाममा सुविधा सन्तुलनको रोहमा अन्तरिम आदेश जारी गरी पाउँ।’

आलेजस्ता निर्लज्ज व्यक्ति भविष्यमा कुनै पनि सार्वजनिक पदमा आउन नहुने भएकाले आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न रोक लगाउन आदेश माग गरिएको छ। यसअघि मन्त्री आलेविरुद्ध पौडेलसहितले नै संघीय संसद सचिवालयमा पनि उजुरी दिएका थिए। 

प्रेम आले