समाचार

आईजीपी नियुक्तिबाट सुरु भएको धिरज र विश्वराजको टसल रोचक मोडमा

आईजीपी नियुक्तिबाट सुरु भएको धिरज र विश्वराजको टसल रोचक मोडमा

आईजीपी नियुक्तिका कारण प्रहरीका उच्चअधिकृतहरु धिरजप्रताप सिंह र एआईजी विश्वराज पोखरेलका विचमा सुरु भएको सितयुद्ध रोचक मोडमा आईपुगेको छ।

सरकारले सिंहलाई आईजीपी नियुक्त गरेपछि आफूमाथि अन्याय भएको भन्दै पोखरेल सर्वोच्च अदालत पुगेका थिए। सँगै उनी एक महिने विदामा वसेका छन् । उनले लिएको एकमहिने बिदा यही जेठ २४ गते सकिँदै छ । तर, उनले सर्वोच्चमा दर्ता गराएको रिटको किनारा अझै लागेको छैन।

पोखरेलको रिट निवेदनको सुनुवाइ अव जेठ ३० गते मात्रै हुने भएको छ । मंगलवार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिएको भए पनि म्याद तामेल नभएको कारण सुनुवाइ हुन सकेन ।

यसअघि न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते मुद्दाको अन्तिम सुनुवाइ मंगलवारदेखि हुने आदेश दिएको थियोे । इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
 
यस्तोमा अव पोखरेलले थप बिदा लिन्छन् की काममा फर्किन्छन ? भन्ने चासो वढेको छ। विदा थप गर्नपनि आईजीपीकै स्विकृति चाहिन्छ। थप बिदा स्वीकृत नभए उनले बाध्य भएर काममा फर्किनुपर्ने हुन्छ ।

तर, आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै सर्वोच्च गएका पोखरेल काममा फर्किने सम्भावना धेरै कम रहेको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् । बिदा थप नभए उनी काममा फर्कने र आईजीपीसँग समन्वय नगरी वस्न सक्ने उनीहरुको अनुमान छ।

पोखरेल हाल मानवस्रोत विभागको एआईजी छन् । पोखरेलको मुद्दाको टुंगो कहिले लाग्छ यकिन छैन । प्रहरीमा हाल ३० वर्षे सेवा अवधि कायम छ भने एआईजीको उमेर हद ५६ वर्ष र आईजीपीको उमेर हद ५८ वर्ष छ ।

पोखरेल आउँदो साउन २० गते ५७ वर्ष लाग्छन् । साउन २० अघि मुद्दाको किनारा नलागे उनले स्वतः एआईजीबाटै अवकाश पाउनेछन् । 

पोखरेल र हालका आईजीपी सिंह प्रहरी निरीक्षक पदमा एकै मितिमा भर्ना भएका थिए । एआईजी बढुवामा भने पोखरेल १८ महिना सिनयर हुन् । सोही आधारमा पोखरेल आफू आईजीपी हुनुपर्ने भन्दै अदालत पुगेका हुन् । 
 

आईजीपी धिरजप्रताप सिंह विश्वराज पोखरेल
ADVERTISEMENT