कभर स्टोरी

असल नेतामा यस्ता गुण हुन्छन्

असल नेतामा यस्ता गुण हुन्छन्

नेता बन्ने भन्दा खेरि हामी के बुझ्छौँ ? नकारात्मक अर्थमा ठूल्ठूलो स्वरमा भाषण गर्ने, आफ्नो गुट बनाउने, अरूलाई चर्को गाली गर्ने आदि गुण हाम्रो मनमा आउनसक्छ । सकारात्मक अर्थमा भने महात्मा गान्धी, विवेकानन्द, गणेशमान सिं, माओत्से तुंग, अब्राहम लिङ्कनजस्ता उच्च व्यक्तित्व पनि आउनसक्छन् । नेताको नकारात्मक छविले 'धत् नेता पनि बन्ने र !!' भन्ने विचार आउनसक्छ भने गान्धीजस्ता महान् सकारात्मक छविले 'अहो म पनि नेता बन्नसक्छु र ? त्यस्तो महान् व्यक्तित्व ममा कहाँ छ र ?' भन्ने विचार आउनसक्छ ।

Laxmi Tyres

नेताको वास्तविक अर्थ यी दुवै विचारभन्दा फरक छ । 'नेतृत्व' एउटा गुण हो जुन प्रत्येक व्यक्तिमा हुन्छ । हामी प्रत्येकभित्र एउटा नेता छ । अर्थात् प्रत्येक व्यक्तिभित्र नेतृत्व गर्ने गुण लुकेको हुन्छ, नेता बन्ने गुण लुकेको हुन्छ । हाम्रो व्यक्तित्वको विकास भनेकै आफूभित्र सुशुप्त अवस्थामा रहेको नेतृत्व गुणको विकास गर्नु हो ।

नेता बन्न लाखौँ मानिसको भीडलाई पछाडि लगाउनुपर्छ भन्ने होइन न त चर्को आवाज हुनु नै जरुरी छ । नेतृत्व भन्ने कुरा आफैँबाट सुरु हुन्छ । असल नेता बन्ने पहिलो खुड्किलो हो आफैँलाई नेतृत्व गर्ने । जसले आफैलाई नेतृत्व गर्न सक्दैन ऊ अरूको नेता कसरी बन्नसक्छ ? नेतृत्व क्षमता व्यक्तिको आन्तरिक गुणमा आधारित कुरा हो ।

त अब हेरौँ असल नेताका के के गुण हुन्छन् त भन्ने कुरामा । राम्रो नेताका गुणहरू हुन् ।

१. बलियो इच्छाशक्ति

२. आत्मविश्वास हुनु

३. अभिप्रेरित गर्न सक्ने क्षमता

४. जिम्मेवारी र उत्तरदायित्वको भावना

५. प्रभावकारी सञ्चार सीप

६. इमानदार सोच र चरित्र

७. त्यागको भावना

को कति ठूलो नेता हो भन्ने कुरा उसको पछाडि लागेको भीडले होइन, उसको लक्षले निर्धारण गर्छ । लक्ष व्यक्तिगत पनि हुनसक्छ वा सामूहिक । कसैले राम्रो डाक्टर वा लेखक बन्ने लक्ष लिएको छ भने त्यो पनि राम्रो नेता हो । तत्कालै उसको पछाडि कोही नहुनसक्छ तर उसले आफैँले आफैँलाई लक्ष्यतिर नेतृत्व गर्दैछ । कालान्तरमा उसबाट पे्ररित भएर मानिसहरू उसको पछाडि लाग्न पनि सक्छन् । लक्ष्य सानो छ वा ठूलो छ, वैयक्तिक छ वा सामाजिक भन्नेभन्दा पनि कति दह्रो छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । साथै कति यथार्थपरक छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण हुन्छ । आफूले गर्नै नसक्ने ठूलो महत्वाकाङ्क्षा राखेर चाँडै हार खानुभन्दा आफूले सक्ने र चित्तबुझ्दो लक्ष्य राख्नु राम्रो हुन्छ तर लक्ष्यबिना बाँच्नुको केही अर्थ छैन । लक्ष्यले नै जीवनलाई अर्थ प्रदान गर्छ ।

सफलताको भर्‍याङ नै आत्मविश्वास हो । लक्ष्य प्राप्त गर्न बाहिरी वातावरणभन्दा पनि आत्मविश्वास बढी सहयोगी हुन्छ । आत्मविश्वास छ भने अझै बढाउन सकिन्छ, छैन भने पनि पैदा गर्न सकिन्छ । फेरि आत्मविश्वास भन्ने कुरा सुरुमा कम भए ता पनि काम गर्दै गएपछि बढ्दै जाने कुरा हो । आत्मविश्वास छैन भनेर हतोत्साही हुनु जरुरी छै्रन । लक्ष्य प्राप्तितिर अघि बढ्दै गएपछि आत्मविश्वास बढ्दै जान्छ । बाधा र असफलता आउँदा पनि आत्मविश्वास नगुमाई निरन्तर लक्ष्यतिर बढिरहनु पनि राम्रो नेताको गुण हो ।

लक्ष्य र कामप्रति सधैँ उत्प्रेरित भइरहनु नेताको गुण हो । यदि तपाईंको लक्ष्य सामूहिक वा सामाजिक छ भने अरूलाई साझा लक्ष्यप्रति उत्प्रेरित गराइराख्नु पनि उत्तिकै आवश्यक छ । के. एम. केलीले भनेको छन्- हाकिमले 'गर' भन्छ भने नेताले 'गरौँ' भन्छ । यस्तो सोचले अरूलाई उत्प्रेरित गर्छ । उत्प्रेरणा दुई किसिमका छन्- आन्तरिक उत्प्रेरणा र बाहृय उत्प्रेरणा । आन्तरिक उत्प्रेरणाहरू हुन् - लक्ष्य प्राप्तितिर अघि बढ्दा प्राप्त हुने खुसी, सन्तुष्टि, गर्व, आत्मसम्मान । बाहृय उत्प्रेरणाहरू हुन्- तलब, पैसा, सुविधा, पदोन्नति, आदि । राम्रा नेता बाहृय उत्प्रेरणामा मात्र निर्भर हुँदैनन् । उनीहरूमा आन्तरिक उत्प्रेरणा बलियो हुन्छ ।

को कति राम्रो नेता हो भन्ने कुरा ऊ कति जिम्मेवार छ भन्ने कुराबाट प्रमाणित हुन्छ । राम्रो नेता सम्पूर्ण अर्थात् शतप्रतिशत जिम्मेवार हुनु जरुरी छ । ठूला कुरामा मात्र होइन सानोभन्दा सानो कुरामा पनि उत्तरदायित्वपना देखाउनु पर्छ । जो जिम्मेवार हुँदैन, ऊ विश्वासिलो बन्न सक्दैन । जो विश्वासिलो हुँदैन, उसको पछाडि कोही लाग्दैन । आˆनो जिम्मेवारी पन्छ्याएर अरूलाई दोष दिइरहने वा अरूको दोष मात्र देख्ने व्यक्ति राम्रो नेता हुन सक्दैन । राम्रो नेताले व्यक्तिलाई मात्र होइन परिस्थितिलाई पनि दोष दिई रहँदैन । उसले बुझेको हुन्छ कि अप्ठ्यारो परिस्थितिको बाबजुद नै काम गर्नु छ, अप्ठ्यारा मानिसको बीचमै कार्य गर्नुछ ।

राम्रो नेता बन्न प्रभावकारी सञ्चार सीप हुनु अत्यन्त जरुरी छ । प्रभावकारी सञ्चार सीप भनेको भाषण गर्न जान्नु नै मात्र होइन । भाषण गर्दा महात्मा गान्धीको पिंँडुलाको मासु काँप्ने गर्छ । यसको अर्थ गान्धी राम्रो नेता होइन भन्न मिल्दैन ।

अरूको कुरा सुन्नसक्नु, बुझ्नसक्नु सञ्चारको पहिलो सीप हो । आˆनो कुरा इमानदारीपूर्वक र स्पष्टसित भन्नसक्नु दोस्रो सीप हो । जिज्ञासाले भरिएका प्रश्न गर्नसक्नु तेस्रो र अत्यन्त महìवपूर्ण सञ्चार सीप हो । सञ्चार र सिकाइलाई यहाँ एकै ठाउँमा राखिएको छ । सिक्न चाहने प्रवृत्ति सञ्चारमा प्रकट हुन्छ । सञ्चार भनेको आˆनो कुरा जोडदार रूपले भन्ने मात्र होइन, अरूको कुरा सुन्ने र अरूबाट सिक्न तयार हुँदा बल्ल सञ्चारको लागि बाटो खुल्छ । अरूको कुरा बुझ्न खोज्नेले धेरै कुरा सिक्छ । अरूलाई बुझ्न र अरूबाट सिक्न धेरै भन्नुभन्दा पनि सुन्नु र सोध्नु महìवपूर्ण हुन्छ । अरूको कुरा बुझिसकेपछि आफूलाई स्पष्टरूपमा अभिव्यक्त गर्नु पनि उत्तिकै जरुरी हुन्छ । भाषण गर्ने सीप कसैकसैमा जन्मजात हुनसक्छ तर सञ्चार सीप सिकेर र अभ्यास गरेर बढाउने कुरा हो ।

असल नेताको लागि लक्ष्य हुनु मात्र प्रशस्त छैन । लक्ष्यको साथसाथै मूल्य-मान्यता र आदर्श हुनु पनि उत्तिकै जरुरी हुन्छ । अझ भनौ कहिलेकाहीँ मूल्य-मान्यताको लागि प्राप्त हुन लागेको उपलब्धि पनि त्याग्न सक्नुपर्ने पनि हुनसक्छ । साँच्चिकैको नेताले लक्ष्य प्राप्तिको लागि मूल्य-मान्यता र आदर्शलाई त्याग्दैन । आफूले एकपल्ट स्थापित गरेको आदर्शलाई त्यागेर लक्ष्य हात पार्नेतिर लाग्दैन । उसमा इमानदारी हुन्छ, उसको दूरदृष्टि हुन्छ र मूल्य-मान्यताको विरुद्धमा गएर तत्कालै लक्ष्य प्राप्त गर्नुभन्दा ढिलै सही आदर्शसहित लक्ष्य प्राप्तिमा ऊ लागेको हुन्छ । उसमा केबल लक्ष्य प्राप्त गर्ने चाहना हुँदैन, आवश्यक परे त्याग गर्न सक्ने उच्च गुण पनि हुन्छ । यस्तै गुणले कुन नेता कुन स्तरको छ भनेर चिनिने हुन् ।

नेताका सात गुणमध्ये माथिका पाँच गुणले कुशल नेता बनाउँछ भने तलका दुईले महान् नेता बनाउँछ । नेतृत्व सीपको बीउ प्रत्येक व्यक्तिभित्र हुन्छ । यसलाई कति हुर्काउँदै बढाउँदै लाने भन्ने कुरा हाम्रो सिकाइ र अभ्यासमा भर पर्छ ।