समाचार कर्पोरेट

एनसेलको ठगी धन्दाः यसरी सुटुक्क काटिन्छ सेवाग्राहीको पैसा (श्रृंखला– २४)

एनसेलको सिम प्रयोग गर्नु हुन्छ ? होस गर्नोस, नत्र यसरी लुटिनु हुन्छ

एनसेलको ठगी धन्दाः यसरी सुटुक्क काटिन्छ सेवाग्राहीको पैसा (श्रृंखला– २४)

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले सेवाग्राहीलाई जानकारी नै नदिई पैसा काट्ने गरेको गुनासो नयाँ होईन। पटक–पटक यस्ता गुनासो आउने गरेका छन्। तर, नत एनसेलले यस्ता कमजोरी सुधारेको छ, नत नियमनकारी निकायले नै चासो देखाएको छ।

पछिल्लो पटक शुक्रवार ९८०६००८..५ नम्वरको सिममा सेवाग्राहीले १०० सय रुपैयाँको रिचार्ज गरे। रिचार्ज गरेपछि उनको ब्यालेन्स १००.१६ पैसा भयो। रिचार्ज गरेको केही समयभित्रै उनको ११ रुपैयाँ पैसा काटियो। बाँकी रह्यो ८९ रुपैयाँ १६ पैसा। त्यसपछि दोस्रो पटक पनि १७ रुपैयाँ ७१ पैसा काटियो। ब्यालेन्स चेक गर्दा ७१ रुपैयाँ ४५ पैसा मात्रै बाँकी रहेपछि सेवाग्राहीको मनमा चिसो पस्यो।

लगातार पैसा काटिने र काटिने रकमको दर वढ्दै जाने समस्या देखिएपछि उनले एनसेलको कस्टमर केयरमा फोन गरेर गुनासो पोखे। कस्टमर केयरले आफनो गल्ति स्विकारेन वरु सेवाग्राहीलाई दोस दिएर ‘तपाईले युनिफन च्याट र रेडियो एक्टिभ गर्नु भएको रहेछ, त्यसैको चार्ज हो’ भनेर जवाफ फर्काए।

तर, आफुले कुनै पनि सेवा एक्टिभ नगरेको सेवाग्राहीको दावी छ। यस विषयमा नेपाल आजले कस्टमर केयरमा सम्पर्क गर्दा पनि एनसेलले सोही जवाफ दिएको छ। एनसेल कर्मचारीले युनिफन च्याट एक्टिभ गरेकाले ११ रुपैयाँ काटिएको र  बाँकी रकम फोन गरेरै सकियो दावी गरे।

ति कर्मचारीका अनुसार एनसेलले विभिन्न अफरसहित सेवाग्राहीलाई एसएमएस, लिंक र अनलाईन एड एक्टिभेट गर्नोस भनेर समय समयमा म्यासेज पठाउँछ। त्यो एसएमएस, लिंक र अनलाईन एड क्लिक गर्यो भने अटोमेटिक सेवा एक्टिभ हुन्छ। त्यसै गरी आएको लिंक र अनलाईन एड क्लिक गर्दा ति सेवाग्राहीको युनिफन च्याट एक्टिभ भएको उनको दावी छ।

अनावश्यक रुपमा म्यासेज गरेर आफै पैसा काट्ने कुरा सहि हो त भन्ने प्रश्नमा भने ति कर्मचारीले ‘अनावश्यक होईन, सेवाग्राहीलाई जानकारीका लागि म्यासेज पठाएको हो। त्यसमा क्लिक गरेकाले सेवा एक्टिभ भएको हो’ भन्दै जवाफ दिए ।

यति मात्रै होईन, रिचार्ज गरेपछि फोन नगरी/इन्टरनेट नचलाई आफै पैसा काटिएको भन्दै गुनासो गर्ने सेवाग्राहीको संख्या धेरै छ। एनसेलले कहिले भ्यालु एडेड सर्भिसका नाममा त कहिले ‘गेमलोफ्ट’, कहिले युनिफन च्याटका नाममा सेवाग्राहीको रकम अनाधिकृत रुपमा काट्ने गरेको छ। यो आरोप होईन, छानविनले पनि यो कुराको पुष्टि गरेको थियो । ग्राहकलाई थाहै नदिई विभिन्न सेवा एक्टिभ गर्ने र अटो रिन्यूको नाममा ग्राहकको पैसा काट्ने गरेको एनसेल विरुद्ध गुनासो ब्याप्त छ। 

एनसेलले बारफोन (किप्याड युक्त मोवाईल) प्रयोग गर्ने र इन्टरनेटको वारेमा जानकारीसम्म नभएका उपभोक्ताबाट सोही शिर्षकमा पैसा काटेका घट्ना पनि सार्वजनिक भएका छन । त्यस क्रममा एनसेलले अटोमेटिक बिलिङ गर्ने र उपभोक्ताको पैसा अनावश्यक रुपमा काट्ने गरेको पाईएको थियो।

एनसेलले यस्ता लाखौ उपभोक्ताबाट दैनिक अटोमेटिक सिस्टमबाट पैसा काट्ने गरेको गुनासो छ। तर, यस विषयमा अहिलेसम्म नियमनकारी निकायले वास्ता गरेको छैन। एनसेलले एकातर्फ अनावश्यक म्यासेज पठाएर सेवाग्राहीलाई मानसिक रुपमा यातना दिईरहेको छ भने अर्को तर्फ जानकारी नै नभएका म्यासेज पठाउने अनि क्लिक गर्नासाथ सेवा एक्टिभ हुने सिस्टम वनाएर पैसा काटेर ठगीरहेको छ।

यस विषयमा भने एनसेलले अहिलेसम्म चित्तवुझ्दो जवाफ दिएको छैन। 

यो पनि,

एनसेल

विशेष