समाचार

काठमाण्डौंवासीको चमत्कारः पहिलो नानीमैयाँ दाहाल, दोस्रो बालेन साह !

काठमाण्डौंवासीको चमत्कारः पहिलो नानीमैयाँ दाहाल, दोस्रो बालेन साह !

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ। सुरुवाती चरणदेखि नै स्वतन्त्र उम्मेदवार बालेन साहले आफनो अग्रता कायम राखेका छन्। उनको रफ्तार सामान्य छैन, एकपछि अर्को छलाङ मारिरहेका छन् । महानगरको मेयरको कुर्सी पाउने दौडमा रहेका अन्य प्रतिस्पर्धीलाई उनले धेरै पछि छोडेका छन् ।

बालेनले पाएको मतको तुलना गर्दा ठूला दलहरू प्रतिको वितृष्णा काठमाडौंवासीले यस पटक भोटका रुपमा ब्यक्त गरेको प्रष्ट देखिन्छ। ०७४ सालको स्थानीय तह निर्वाचनमै काठमाण्डौंवासीले दलहरुलाई सचेत गराएका थिए। तर, त्यो संकेत दलहरुले वुझन सकेनन्। विवेकशीलकी रञ्जु दर्शना (२३ हजार) र साझाका किशोर थापा (१८ हजार) ले पाएको मतको चेतावनीलाई वास्ता नगर्दा काठमाण्डौं दलहरुको हातबाट चिप्लिने अवस्थामा छ। 

बालेनले पाएको भोट आक्रोश र ठूला दलप्रतिको वितृष्णाको भोट हो भन्ने धेरैको वुझाई छ। इतिहाँस हेर्ने हो भने पनि यो भनाई सत्यताको नजिक छ। यस पटक मात्रै होईन, काठमाण्डौंले वेला वखत यस्ता अप्रत्यासित निर्णय गर्ने गरेको छ। त्यसैले जव–जव बालेन साहको मत थपिदै जान्छ तव–तव एउटा नाम जवर्जस्त रुपमा जोडिएर आउँछ। बालेनसँग जोडिएर आउने नाम हो– नानीमैयाँ दाहाल।

को हुन नानीमैयाँ ?
बालेन साह जस्तै काठमाण्डौवासीले ०३८ सालमा गरेको ‘चमत्कार’ को नाम हो नानीमैयाँ दाहाल। काठमाण्डौंको भोटको प्रपृत्ति आँकलन गर्ने हो भने ‘नानीमैयाँ दाहाल’ अनिवार्य नाम हो। राजनीतिक विश्लेषकहरुका अनुसार उनको नाम छुटाएर गरिएको आँकलन अधुरो, अपुर्ण र असफल हुन्छ।

त्यस वेला पनि काठमाण्डौंवासीले तत्कालीन काठमाण्डौं नगर पञ्चायतको प्रमुखमा स्वतन्त्र उम्मेदवार नानीमैयाँ दाहाललाई जिताएर पञ्चायती व्यवस्थालाई झड्का दिएका थिए।  राजनीतिमा सामान्य लगाव देखिएपछि उनको राजनीतिक पृष्ठभूमि काठमाण्डौं नगर पञ्चायतको चुनाव जित्ने भने थिएन। तर, उनले चुनाव जितिन। राजनीतिमा महिलाको उपस्थिति नगण्य रहेको वेला पञ्चायतलाई सबक सिकाउन चुनावमा उठाइएको एक ‘उटपट्याङ’ पात्रको रुपमा पनि नानीमैयाँलाई चित्रण गरिन्छ।

त्यस्तो बेलामा पनि नानीमैयाँले लोकप्रिय मत पाउनु चमात्कार नै थियो। तर, त्यो चमत्कार काठमाण्डौंवासीले ०३८ सालमै गरेका थिए । नानीमैयाँलाई जिताउनुमा तत्कालीन मालेको भूमिका रहेको कतिपय नेताहरुले बताउने गरेका छन्। त्यसबेला जनमत संग्रहमा जस्तै मालेले राष्ट्रिय पञ्चायतको चुनावमा पनि बहिष्कारको नीति लिएपछि पञ्चायतलाई गिज्याउन उटपट्याङ पात्रको खोजी गर्ने रणनीति बनायो।

अहिलेका मेयरका प्रत्यासी केशव स्थापित लगायत नेताहरु नै त्यसको पृष्ठभूमिमा थिए भनिन्छ। यो योजना सफल पार्न उनीहरु कम्मर कसरेर लागे। पञ्चायतको खिल्ली उडाउने पात्रको खोजी गर्दा त्यसबेला गोल्छे सार्कीले नानीमैयाँ दाहाललाई फेला पारे। तर, तिनै उट्पट्याङ पात्रले नै अन्त्यमा यसरी काठमाडौं नगर पञ्चायतमा लोकप्रिय मत पाइन्। उनको भोट रेडर्कलाई अहिलेसम्म कुनै नेताले उछिन्न सकेका छैनन्। काठमाडौंले पञ्चायतप्रतिको असन्तोष त्यस वेला नानीमैयाँ दाहालमार्फत पोखेको बताईन्छ।

कसरी अगाडि आईन नानीमैयाँ
नानीमैयाँ सानैदेखि विद्रोही स्वाभावकी थिईन। अन्याय र अत्याचार विरुद्ध आवाज उठाईहाल्ने स्वभावका कारण उनलाई चिन्नेहरुको संख्या वढ्दै गयो। ०१५ सालको चुनावदेखि राजनीतिक यात्रामा पाईला चालेकी उनी ०२५ सालमा महिला संघको सभापति भईन। ०२९ सालमा वौद्ध, जोरपाटी, कपन गाउँ पन्चायतको उपप्रधानपन्चमा निर्वाचित भइन् ।

त्यसपछि उनले सुकुम्वासीहरुलाई वस्ती बसाउँने, भूमिसुधार लागू गरेर भूमिहीनहरुलाई जग्गा दिलाउँनेलगायतका काम गरेर लोकप्रियता कमाईन। ०३६ सालमा जनमत संग्रह हुँदा उनी वहुदलीय व्यवस्थापको पक्षमा उभिइन्। तर, मत परिणाम भने निर्दलिय पन्चायतकै पक्षमा आयो।

गाउँ पन्चायतको उपप्रधानपन्च हुँदा श्रोत साधन र अधिकारको सिमाका कारण चाहेर पनि धेरै काम गर्न नसकेकी उनलाई एक ज्योषिले ‘ग्रहदशा राम्रो छ’ भन्दै पुनः चुनाव लड्न सुझाव दिए । नभन्दै ०३८ साल बैशाख २० गते भएको चुनावमा उनी उम्मेदवार भईन। त्यसमाथि दाहाल मुखमा जे आयो त्यही बोलेर अराजक नेताको पहिचान बनाउन सफल थिइन् । उनको चर्चा यति चुलिएको थियो कि देशको नेतृत्व नै उनले गर्नुपर्ने काठमाडौंवासीको आवाज थियो । त्यही चर्चाका विचमा उनी लोकप्रिय मत ल्याएर निर्वाचित भईन।

पछि अर्को चुनावमा स्वतन्त्र उम्मेदवार गोल्छे सार्कीलाई पनि काठमाण्डौंवासीले राम्रै मत दिए। तर, उनी पराजित भए।

गोल्छे सार्की तिनै ब्यक्ति हुन, जस्ले तत्कालिन स्थानीय विकास मन्त्री तथा कांग्रेसका नेता रामचन्द्र पौडेललाई थप्पड हानेका थिए । २०५० साउन ६ गते संसद भवन सिंहदरबारमा संसदको बैठक चलिरहेको थियो। एमालेका तत्कालिन सभासद् गोल्छे सार्की बोलिरहेका थिए । आफू बोलिरहँदा मन्त्री पौडेलले जिस्काएको भन्दै एकाएक रन्किए र सरासर मन्त्री पौडेल नजिक पुगेर गालामा पाँच चड्कन लगाइदिए।

संसद बैठकमा खैलाबैला मच्चियो, पछि उनलाई हातपात गरेको आरोपमा कारावाही पनि भयो। त्यसपछि उनले कम्युनिष्ट पार्टी छोडे।
 

बालेन शाह नानीमैयाँ दाहाल

विशेष