विचार

‘बिचरो ! बागी उम्मेद्वार’

निर्मल घिमिरे

‘बिचरो ! बागी उम्मेद्वार’

राजनीति शास्त्रका पिता अरस्तु होस् वा नीति शास्त्रका प्रणेता चाणक्य वा कौटिल्यले होस्। नेताहरूको प्रकार, स्वाभाव, विशेषता, काम, जिम्मेवारी, भूमिका इत्यादि खुलस्त पारेका छन् । माथी उल्लेखित नीतिगत स्वभावहरु अन्य तिर लागु भए पनि हाम्रो तिर यो सायद अपवाद पनि हुन सक्छ। किनकि न त अरस्तु नेपाल आएका थिए, न चाणक्य वा कौटिल्य नै । अन्य तिर त्यो सिद्दान्त अक्षरस लागु हुने तर हाम्रोमा अपबाद हुनु यो आफैमा अचम्मको विषय हुन सक्छ । मतलब ती क्षमता र बिशेषता नभएता पनि हाम्रो देशमा नेता हुन सकिने रहेछ । 

हाम्रो समाजमा जहिल्यै पनि जनता, कार्यकर्ताहरू नेताद्वारा पीडित छन् भनेर चित्रित गरिँदै आइएको यर्थात छ । यसमा कुनै दुई मत नहोला । तर, हामी खाली जनतामात्र पीडित हुन्छन् भनेर सोच्छौं भने त्यो अपूर्ण सत्य हुन सक्छ । नेताले दुख मात्र दिए, काम केहि गरेनन । यिनीहरु जस्तो चुतिया जात त यो सन्सारमा कसैको हुन्न होला । कस्ता ज्याद्राहरु हुन यी नेता भनाउदाहरु भन्ने आम जनमानसमा त्यस्तो जनभावना छ, जुन पुर्ण रुपमा सत्य नहुन सक्छ । हाम्रा नेताजीहरुलाई पनि आ–आफ्नै स्तर अनुसारको दुःख छ । टोल स्तरिय नेतादेखी केन्द्रको मुख्य नेता सबैका सबैलाई दुःख धेरै छ । किनकी, जनता र ‘कार्यकर्ताबाट पीडित नेताहरू’ पनि हुँदा रहेछन् ।

प्रसंग आजकाल स्थानिय तहको निर्वाचनको संघारमा देखापरेका ताण्डव नृत्य अनि सो पटाङ्गिनीमा बेसुरले नाचिरहेका नृत्याङ्गना रुपी नेतागणहरूको हो। जो पछिल्लो पटक धेरै ठाउमा छिटपुट मात्रामा  ‘बागी’ का रुपमा पदार्पण भइरहेका छन् । जनता वा कार्यकर्ताबाट नेताहरू पीडित बन्दै आइरहेका केहि दृस्टान्तहरु सहित हृदयगम् गरी यो आलेख लेखिएको हो । 

हाम्रो देश सम्भवत पछिल्तिर सबै भन्दा बढ्ता गाली खाने पात्र हुन् ‘नेता’ । पानी परेर बाटो चिप्लियो भने नेता गतिलो नभएर बाटो चिप्लिएको भनेर सराप्छन् । प्राविधिक समस्या भएर बिजुली बत्ती झ्याप्प निभ्छ, जुन स्वयं नेताजीको घरमा पनि बत्ती गएको हुन्छ त्यहाँ पनि विचरो उसको दोष थियो त ? आफ्नो घर अगाडि फोहोर गर्छन् मान्छेहरू, अनि पुनः नेताहरूलाई सराप्छन् । मेरो भनाइ त्यत्ति मात्र हो कि हामी नेताहरूबाट किन यति धेरै अपेक्षा गरिरहेका छौं । बुङ– वुङ धुलो उड्दा होस् वा बाटो हिलाम्मे हुदाँ, विजुली बत्ती जाँदा होस् वा मोटर दुर्घटना हुँदा, धारामा पानी नआउँदा होस् वा वस्ती फोहोर हुदाँ हामी जतिबेला पनि नेताहरूलाई सत्तोसराप गछौँ । 

एक्लै हुँदा र अरुले नदेखेको बेला सरापेको भए त कम से कम  नेताहरूले त्यसलाई सहजै पचाउन वा टारिदिन सक्छन्। तर आफ्ना आफन्त, नातागोता, सम्ध्यैलो साइनो इत्यादिका मुखिञ्जेल सानो–सानो कुरामा पनि सत्तोसराप गर्दा त विचरा ती नेताको परिवारबाट सो पेशाबाट हात झिक्न बरोबर नैतिक दबाव सिर्जना हुदाँ कस्तो पेशामा लागिएछ भन्ने हीनताबोध हुुनु स्वाभाविकै हो । यहाँ बुझ्न नसकेको कुरा भनेको त्यो पानी के नेताले पारिदिएको हो र ? नेपाली जनता राज्यले दिएका अधिकारै ठान्छन् नेताहरूलाई सराप्ने काम । मानौं यो उनीहरूको मौलिक अधिकार हो ।  
पछिल्लो समय हाम्रो स्थानिय तहहरुमा बागी उम्मेद्वारहरु किन यसरी ब्यापक रुपमा बढिरहेका छन त भनि यसको उत्तर खोज्दै गहिराइसम्म पुग्दा ‘नेता हुने बेलामा चाहिने÷नचाहिने, सक्ने÷नसक्ने, हुने÷नहुने सबै काम गरिदिन्छु  भनेर भोट माग्नु र अनावश्यक आश्वासन बाँड्नु’ नै हो। बिभिन्न विकासका आश्वासनको  लिष्ट लिएर फलाक्दै भाषण गरी घर–घरमा खुट्टा समात्छन् । अंकमाल गरी ढोगी आत्मीयता दर्साई मत मागिरहेको दृश्य अब पुन देखिन थालिसकेको छ । हलो जोतिरहेको हली दाइको खेतमा पुगी नेताहरुले एक मिनेट जोते जस्तो गरेर सेल्फी पोष्ट गर्दै किसान मैत्री कहलाउने प्रयत्न गर्दैछन् भने अस्पतालमा विरामी भेट्न पुगी फेसबुकमा फोटो हालेर इमोशनल मत तान्ने प्रयत्न गर्दैछन् । 

अघी पछी बाटोमा आमने सामने देख्दा पनि मुण्टो बटारेर हिड्ने र कार्यकर्ता बिमार हुँदा सहयोग माग्ने भो भनेर फोन नउठाउने नेताहरु आजकाल तीनै कार्यकर्ताहरुको टाढाको नातेदारहरु बिमार हुँदा ‘सिघ्र स्वास्थ्य लाभको कामना’ गर्दै फेसबूकको भित्ता रङ्गाइरहेको देखिदैछ । सामाजिक सञ्जालमा हाल अत्यन्तै मीठा– चिल्ला बनावटी दृश्य सिर्जित गरिदैछ । आसेपासे, छोले झम्टे, अगुवा, पछुवा, दाइने हात, देब्रे हातहरू सामाजिक सञ्जालमा महिमाको वर्णन गर्न उद्यत छन् भने नेताहरू सो पोष्टलाई सेयर गर्न तल्लीन छन् । उनीहरूले यो बुझ्न किन सक्दैनन् कि यो कुरा म पक्कै गर्न सक्दिनँ र कालान्तरमा मैले गाली खानु पर्ने हुन्छ ।

उपल्ला दर्जाका नेतालाई माथि उल्लेखित उपहार र कार्यकर्ताहरूलाई २ महिना अगाडिदेखि साँझ परेपछिको सोमरस स्वादन अनि तामसी भोजनको होटल–बिल तिर्दा हैरान भएका बेला स्थानीय स्तरबाट भने सिफारिसमा पर्न सफल हुन्छन् । अनेकन रस्साकसी र धेरै पापड बेलाई पश्चात गलेको दाललाई लिएर गाउँबाट काठमाडौंका आफ्ना आस्था अनुसारको दरवारमा माथि उल्लखित च्यानल मेकानिजमको सदुपयोग गरी पुग्दछन् । यो पटक चाही जसरी पनि टिकट पाउनेछु भनी दुइ–चार वर्ष अगाडि देखि नै घरमा पालिएको सबैभन्दा ठूलो खसी होस् वा बगैँचामा फलेका सबैभन्दा मीठा आँप लिची हुन्,  हर्पेका हर्पे घ्यू होस् वा महङ्गा महङ्गा मोबाइल होस्, प्रत्येक दिन सामाजिक सञ्जालमा देवत्वकरण गरेर होस् वा नगद उपहार बक्स गरेर पोलिटब्यूरो, स्थायी कमिटी, सचिवालयका वा सेण्ट्रल तहका नेताको भक्तिगान गाइरहेका हुन्छन् जिल्ला तहका नेताहरू । 

सिधै शीर्ष नेताकोमा पुग्न उनीहरूको खासै पहुँच नपुग्ने भएकाले एक÷एक गुट समाई गाउँबाट चिनजानका केन्द्रीय स्तरका नेताका माध्यमबाट शीर्ष नेताको ५ मिनेट ‘दर्शन भेट’ का लागि घटीमा एक साताको समय अनि माथि उल्लेखित ‘उपहार’ का साथमा पुग्छन् र ‘आफ्नो लागि तथास्तु भनिदिन’  एक मिनेट लगाएर बिन्ती भाउ चढाएपछि एउटा फोटो खिच्न भ्याउँछन् र त्यसलाई जति सक्दो मीठो राम्रो क्याप्सन लेखी सामाजिक सञ्जालमा प्रदर्शन गराउँछन् । जुन कुराको लाइक गर्ने, ट्याग र सेयर गर्ने कामको ठेक्का निज भन्दा तल्लो लेभलका जिल्ला÷गाउँ स्तरीय अन्य नेताजी हरूको हुन्छ ।

दिनहुँ झैं सोही आशयका बिन्तीपत्र र कोशेलीपात बोकी आइरहने हुदाँ शीर्ष नेताहरूलाई पनि दिक्क लाग्दो हो । अनि उनीहरूले पनि जो आए पनि ‘हुन्छ–हुन्छ’ भनिदिन्छन् । कसैको पनि मन नदुखाइ स– सम्मान पूरै एक कप कालो चिया खुवाएर आँत हसाएर पठाउँछन् । जिल्ला पुगेपछिको दुइ चार साता त्यसैको जिकिर मै बित्छ । त्यति बेला उनीहरू गदर फिल्मको सनी देवल झै मुख्य पात्र बन्छन् । माथिबाट आशिर्वाद पनि पाइ हालियो स्थानीय स्तरमा पनि सबैले मानि हाल्छन् वा पत्याइ हाल्छन् भनेर । 

तर, उनीहरु त्यसबेला जिल्ल पर्छन्, जतिबेला आफू भन्दा १ घण्टा अगाडि आफ्नै जिल्लाका प्रतिस्पर्धी बिर्खेलाई बढ्का नेताको महल भित्रको  गोप्य कोठाबाट दर्शन भेट लिई मुसुमुसु मुस्कुराउँदै बाहिरिइरहेको देख्छन् र आफू सो दौडमा ढीलो पुगेकोमा मनमनै धिक्कार्छन्र यद्यपी दर्शन भेट गर्ने गोप्य कोठामा पुगी टिकटको वरदान माग्छन् । अब सोका लागि योजना अनुरुपको बचनवाणी अपर्याप्त हुने हुदाँ पूर्व–द्वार प्रवेशीको केही खोट देखाउँदै, त्योभन्दा आफू सच्चा भक्त भएको र आफूसँग अत्यन्तै धेरै जनमत समेत भएको हुदाँ आफू माथि कृपा बक्स गर्न अनुनय विनयका साथ उपहार विसर्जन गर्छन् ।

यी र यस्ता शृंखला हाल काठमाडौंका (बालकोट÷बुढानिलकण्ठ÷ खुमलटार कोटेश्वर÷डल्लु÷टोखा÷बानेश्वर इत्यादी) दरवारहरूमा बग्रेल्ती देखिइरहेका छन् । एउटै जिल्ला, एउटै क्षेत्रबाट धेरै जनाको नाम स्थानीय स्तरबाट सिफारिसमा पठाएको हुँदा सबैलाई चित्त नदुख्ने गरी नेता ज्यूहरूले ‘हुन्छ’ भनेर जिल्ला फर्केर चुनावी प्रचारमा लाग्न निर्देशनात्मक आदेश साथ पठाइदिएको देखिन्छ । जुन कुरा अब चाहीँ अत्ती नै भयो भनेर अब ‘तलाई पनि देखाइदिन्छु पख्लास’ भनेर बागीको रुपमा उपस्थित हुन्छन । बागीको मुल धर्म जित्नु नभै आफ्नो भाग खोस्ने लाई पराजित गराउनु हुनेछ ।  

उता सिफारिसमा पर्नुभन्दा अगाडिदेखि नै सुरु हुने खर्चपानको श्रृंखला जति वरवर आयो, त्यति त्यति चढ्दो ग्राफमा हुन्छ । किनकि आफूले कम खर्च ग¥यो भने सँगै सिफारिसमा परेकाहरू तिर  आफ्ना कार्यकर्ता पुग्ने भयका कारण खर्च श्रृंखलाले ‘बटम अप एप्रोच’ को सिद्धान्तलाई अंगीकार गरिरहेको देखिन्छ । नातागोता, साथीभाइ, आफन्त, छरछिमेकीहरू देखि स्वदेश तथा विदेशमा रहेका चिने जानेका सम्म । आफु निकटका व्यापारी होस् वा जागिरे, सबैसँग आर्थिक सहायता माग्न भ्याइसकेका हुन्छन् । हुने–खाने प्रस्तावित उम्मेदवारहरूको बैंक खाता सकिइसकेको छ भने कम हुने–खानेको लैनो भैँसी, गजगजे खेत, बिक्री भइसकेको परिस्थिति छ ।

अचेल प्रशाशनको कडी कडाउ भनौ या मानिसहरुको सौख बदलिएर भनौ या प्राय सबैसँग पैसाको पहुच सहज भएर हो।  हाम्रो गाउघरमा घरपारा (लोकल रक्सी) बन्न प्राय धेरै नै कम भइसकेको छ । अचेल दुरदरारको गाउघरमा समेत सिल्ड प्याक रक्सी , वाइन र बियर नै छ्याप–छ्याप्ती उपलब्ध छ । लोकल रक्सी खान अचेल गाउ घरमा समेत लज्जाबोध हुन थालीसकेको छ । गाउँ घरको भट्टीहरुमा समेत अचेल त्यस्तै मदिराले ब्यापकता पाइसकेको हुँदा आफु सगै हिड्ने आफ्ना चार पाच दर्जन जती अगुवा पछुवा कार्यकर्ताहरुलाई आफुबाट अर्कोतिर नबिच्कियोस र आफ्नो लागि भोट बटुलिदिने काममा अहोरात्र खटोस भन्नका लागी हरेक साँझ यसो खाजा पानीको ब्यबस्था गर्नै पर्ने बाध्यात्मक अवस्थालाई स्वीकार गरी यसो भट्टी छिरायो, त्यत्रो जमातलाई लैजादा, खाने बेलामा थोरै मात्र खाइदेउ है भन्न पनि नमिल्ने। खाँने बेला ती जड्याह कार्यकर्ताले पनि फेरी ‘नेताजी तपाइको जित लगभाग नब्बे प्रतिसत भइसकेको छ । अब हामिले बल गर्नु पर्ने दश प्रतिशतको लागी हो’ भनेर मख्ख पारिदिन्छन । 

खाजा खान भन्दै छिरेका उनिहरुले निस्कने छाँटकाँट नै गर्दैनन । बरु उल्टै होटलवालालाई अब ‘बन्द गर्ने बेला भयो’ भन्दै झुट बोल्न लगाएर बल्ल बल्ल निकाल्ने बेलामा पचासौ हजारको बिल आइपुग्छ । नदिउँ त आफैले ल्याएको हो सबैलाई । दिउँ त कती दिनसम्म धान्न सक्नु । महिनौ दिन अघीदेखी दैनिक यही प्रकृया मन कुड्याउदै खर्च गर्नु पर्ने बाध्यतामा छन अचेल अधिकाङ्स नेताजीहरु । तर, जब उम्मेदवारको फाइनल नाम लिष्टमा अर्कैको नाम देख्छन्, अनि यसबेला चाहिँ उनीहरूले झल्झती सम्झँदैछन्। आफुले बकस दिएको उपहार र खर्चहरुको फेहरिस्त । अनि मुर्मुरिदै नेताहरुलाई धिक्कार्दै छन्  ।

हाल नेपालका धेरै जिल्लामा देखिइरहेका बागी उम्मेदवार उत्पतिका कारणहरू मध्ये ९० प्रतिशत कारण माथि उल्लेखित कारण हो । कोही पनि आफ्नै घर भत्काएर विद्रोह गर्दैनन्–मनमा ठेस नपुगी । यदि बागीमा पनि सफल हुन सकेनन् भने एकाध अपवादलाई छोडेर ठूलो संख्यामा धोती न टोपी हुने सम्भावना प्रवल छ। जुन पीडितले चाँहि बागीमा उठेर त्यसलाई पनि म देखाइदिन्छु भनी कम्मर कसेका हुन्छन् भने केही अन्य पार्टी तिर लहसिन्छन ।  बागी उम्मेदवारहरूको पनि मनमा ठूलो चोट पुगेको छ । धेरै ऋणमा डुबेका छन् । धेरैले आफ्नो श्री–सम्पत्ति सकेका छन् । विहान चिया पसलको चिया, खाजा, चुरोट होस् या साँझको दुरुमपानी। कुनैको बिल भर्पाई गर्न कार्यकर्ता अगाडि सर्दैनन् । ती सबैको फरफारक गर्ने जिम्मा विचरा तिनै नेताको हुन्छ । तिरौँ भने कति दिन तिर्ने अनि एक दिन मात्र खर्च पूर्ताल गर्न भ्याइएन भने कार्यकर्ता अर्कै तिर सल्किहाल्ने डरले नेताजीहरू अत्यन्तै प्रताडित भएका छन् । 


बागी उम्मेदवारहरूको छ्याप–छयाप्ती प्रादुर्भाव अनि सो बाट मूल पार्टीमा पर्न सक्ने क्षतिलाई आँकलन गरी हालै लोकतान्त्रिक र गठबन्धनको शीर्ष वैठकले बागी व्यवस्थापन गर्ने रणनीति नै बनाएका छन् । यसमा पहिला उनीहरूलाई लोभ लालच दिई फकाउने अनि नमानेमा धम्क्याउने । तर, त्यस्तो आश्वासन त उनीहरूले स्थानीय तहको निर्वाचनमा पनि पाइसकेको र लास्टमा ‘हिस्स बुढी हरिया दाँत’ भइसकेकाले अब त्यस्ता बकमफूसे उधारो लालच÷प्रतिबद्धता अनि कारवाहीको धम्कीबाट के डराउँथे ? यदि डराउने नै भए किन उम्मेदवारी दिन्थे र स्वतन्त्रबाट ? यो केवल प्रताडना र कुण्ठाको पराकाष्ठा हो । 

पार्टी केन्द्रबाट तत्समय अघिल्लो स्थानीय तहको निर्वाचनमा वडा प्रमुख्, पालिका प्रमुख वा मेयरमा टिकट नपाएकोमा गुनासा रहेकोमा ‘आउँदो चुनाबमा जसरी पनि तपाइकै हो’ भनेर थुम्थुम्याएका नेताहरु यो पटक झन गठबन्धनको कारण भनौ या सोलाई काउण्टर दिनका लागी भनौ, धेरै जिल्लामा चिनिएका नेताहरु पिडित बन्दै छन ।  सुरुमा नै ‘बागी उत्पन्न हुने प्रजनन् समय’ लाई ध्यान दिन नसक्नु, ठूला पार्टीहरूलाई ठूलो चुनौती हुन सक्छ । यसको फाइदा अन्य साना दलले उठाउन सक्ने प्रवल सम्भावना छ । हाम्रो निर्वाचनमा बागी उम्मेदवार बढाउनुमा जति नेताहरू जिम्मेवार छन्, त्योभन्दा बढी हामी जनताहरू अनि आसेपासे कार्यकर्ता छौं। माहोल बनाउन गरेको खर्च उठाउने च्याँखे दाउ हो भने अधिकांश स्थानमा चाहीँ मेरो भाग खोस्न आउने ‘अब तलाई पनि देखाइदिन्छु’ भनि प्रतिसोध साध्ने मेलो हो ‘बागी उम्मेदवारी’ । 

निर्मल घिमिरे