समाचार यौन-शिक्षा

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवनको शिलान्यास

भारत सरकारको अनुदानमा निर्माण हुन लागेको कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय पुस्तकालय भवनको मंगलबार शिलान्यास गरिएको छ ।

शिक्षामन्त्री देवेन्द्र पौडेल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भवनको संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

३१ करोड ६९ लाख रुपैयाँ लागतमा तीन तले आधुनिक सुविधायुक्त भवन निर्माणका लागि नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी पत्रमा हस्ताक्षरसमेत भएको छ । 

भवन भूकम्प प्रतिरोधी भवनमा विभिन्न प्राज्ञिक शाखाहरु हुनेछन् । भुकम्प प्रतिरोधि पुनर्निर्माणको क्षेत्रमा काम गर्ने भारतको प्रमुख संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) ले पुस्तकालयको निर्माणका लागि प्राविधिक सहयोग गर्नेछ जनाईएको छ। 

हालको त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवन भारत सरकारको सहयोगमा सन् १९६७ मा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयस्थित गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको थियो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई २५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता जनाएको थियो। सोमध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च हुनेछ । हाल नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ। जसमध्ये १४ वटाको निर्माण सम्पन्न भई हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य जारी रहेको भारतीय राजदुतावासले जनाएको छ।