समाचार समाज

जीटुजीमार्फत रासायनिक मल आउने भएपछि किसान उत्साहित

जीटुजीमार्फत रासायनिक मल आउने भएपछि किसान उत्साहित

नेपालको कूल मागको ३० प्रतिशत रासायनिक मल पाँच वर्षसम्म निरन्तर उपलब्ध गराउन भारत सरकार तयार भएपछि नेपाली किसानहरु उत्साहित भएका छन् । नेपाल सरकारको एक वर्ष ७ महिना लामो प्रयासपछि भारतबाट जीटुजीमार्फत रासायनिक मल ल्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

भर्चुअल माध्यमबाट भएको यो सम्झौता अनुसार पाँच वर्षभित्र नेपालले भारतबाट ९ लाख मेट्रिक टनभन्दा बढी रासायनिक मल खरिद गर्ने छ । तर अहिलेसम्म मलको मूल्य भने तोकिएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रकाश कुमार सञ्जेलका अनुसार प्रत्येक वर्ष भारतबाट कम्तिमा एक लाख ५० हजार मेट्रिकटनदेखि बढीमा २ लाख १० हजार मेट्रिकटन युरिया र डीएपी मल खरिद सुनिश्चित भएको छ ।

नेपालले ग्लोबल टेण्डरबाट खरिद गर्ने गुणस्तरकै मल ल्याउने गरी भएको सम्झौतामा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्मा र भारतको तर्फबाट भारत सरकार रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदीले हस्ताक्षर गरेका छन् ।

उक्त अवसरमा नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राको उपस्थिति थियो। भारतीय सचिव  चतुर्वेदीले भारत र नेपालबीचको निकट एवम् बहुपक्षीय सम्बन्धको चर्चा गरे। उनले दुई पक्षबीच भएको सम्झौताले नेपालको अर्थतन्त्र तथा खाद्य सुरक्षामा सघाउ पु-याई कृषिको क्षेत्रमा भएको द्विपक्षीय सहकार्यलाई थप अघि बढाउने अपेक्षा गरे।
 

रासायनिक मल जीटुजी