समाचार समाज देश राजनीति

देश विकासका लागि महिला उम्मेदवारी

देश विकासका लागि महिला उम्मेदवारी

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा आफूहरुलाई जिताए महिला शशक्तिकरणका साथै देशमा परिवर्तन आउने महिला उम्मेदवारहरुले बताएका छन् । 

संकल्प शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल र महिला गैरसरकारी संस्था महासंघको आयोजनामा बिहीबार राजधानीमा सम्पन्न कार्यक्रममा उनीहरुले उक्त कुरा बताएका हुन् । 

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ६ (क)बाट प्रदेशसभाका लागि उम्मेदवार हरिप्रभा खड्गीले महिला र युवालाई देश विकासमा शशक्त रुपमा अघि बढाउन आफूले उम्मेदवारी दिएको बताइन् । काठमाडौं महानगरपालिकाकी पूर्व उपमेयरसमेत रहेकी खड्गीले आफूले जिते प्रदेशलाई पनि परिवर्तन गरेर देखाउने बताइन् । 

गठबन्धनका तर्फबाट काठमाडौं ९ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी माओवादी पार्टीकी कल्पना धमलाले आफू महिलाका मुद्धामा सधैं लाग्ने जनाइन् । नेपाली राजनीतिलाई उत्साहित क्षेत्र बनाएर युवापुस्ताको रुचि यसप्रति बढाउन आफूले भूमिका खेल्ने उनले प्रतिवद्धता जनाइन् ।  
आफूले जितेपछि नीति निर्माणको काममा लाग्ने र मौलिक हकलाई कानुन बनाएर लागु गर्नेमा योगदान दिने उनले बताइन् । जनतालाई अब अबस्था बदलिन थाल्यो भनेर महसुस गराउनेछु भन्दै उनले थपिन्, ‘नीति निर्माण मात्र नभई विकास निर्माणको काम पनि गर्नेछु ।’ 

त्यसैगरी ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्कीले आफूले स्वस्थ नेपाली सुखी नेपाली नारा लिएर मैदानमा उत्रिएको बताइन् । तोसिमाले स्वस्थ राजनीति र स्वस्थ नागरिकको कल्पना आफूले गरेको सुनाइन् । आफूले जितें महिला शशक्तिकरणका लागि स्नातक तहसम्मको पढाई निशुल्क गर्नुका साथै पाठेघर र स्तन क्यान्सरलगायतको उपचार निशुल्क गराउन पहलकदमी गर्ने बताइन् । 

सोही पार्टीबाट काठमाडौं क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी सविता गौतमले सम्बृद्ध नेपालका लागि नीति नियम बनाउने काममा आफूले संसदमा भूमिका खेल्ने बताइन् । 
ललितपुरबाट प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी दिएकी सविता महर्जनले एकल महिलाका हक अधिकारका लागि आफूले आवाज उठाउने जनाइन् । उनले हिजोआज उमेदवारले प्रतिब्यक्ति २५ सयदेखि ५ हजारसम्म बाँढ्दै हिँडेको र भोज खुवाएर भोट माग्दै हिँडेको सुनाइन् । 

संकल्पकी अध्यक्ष संगीता लामाले आगामी संघ र प्रदेशको निर्वाचनमा महिला उम्मेदवारलाई जिताएर देशमा आमुल परिवर्तनको पहल गर्न सबैलाई आग्रह गरिन् । लामाले संचालन गरेकी कार्यक्रममा महिला गैरसरकारी संस्था महासंघकी अध्यक्ष शशी अधिकारीले चुनाव जितेर निर्णायण तहमा पुग्ने महिलाले संसदमा आफ्नो अर्थपूर्ण सहभागिता प्रस्तुत गर्नुपर्ने जनाइन् ।

महिला उम्मेदवारी

विशेष