समाचार कभर स्टोरी

राजनीतिक शास्त्रमा गोल्ड मेडलिष्ट मानुषीको कस्तो छ ब्यवहारिक ज्ञान ?

राजनीतिक शास्त्रमा गोल्ड मेडलिष्ट मानुषीको कस्तो छ ब्यवहारिक ज्ञान ?

काठमाण्डौंको भुरुङखेलमा जन्मिएकी मानुषी यमी भट्टराई यसपटक जन्मथलोमै चुनावी मैदानमा छिन् । तत्कालिन विद्रोही नेकपा (माओवादी) नेताद्वय डा. बाबुराम भट्टराई र हिसिला यमीकी छोरी हुन् उनी।

बुवाआमा तत्कालिन विद्रोही माओवादीका नेता भएकाले मानुषीको बाल्यकाल उतारचढावपूर्ण अवस्थामै वित्यो। आफन्तमध्ये कहिले कस्कोमा त कहिले कस्कोमा बसेर कक्षा ५ सम्मको अध्ययन गरिन। सुरक्षा खतरा बढेपछि ०५५ सालमा उनलाई भारत पुर्याईयो। पहिला नैनीताल र त्यसपछि पश्चिम बंगालको बेदुङ पुगेर उनले अध्ययन गरिन। 

भारतका विभिन्न ठाउँमा अध्ययन गरेर स्नातक सकेपछि उनी २०६४ सालमा नेपाल फर्केकी थिइन् । पढाइमा अब्बल उनले त्रिविबाट राजनीतिशास्त्रमा गोल्ड मेडसहित स्नातकोत्तर गरेकी छिन् । 

पढाईमा गोल्डमेडालिस्ट मानुषी यसपाली भने राजनीतिक मैदानमा लडेरै मेडल जित्ने तयारीमा छिन् । राजनीतिमा मानुषीको  ‘इन्ट्री’ भने २०६५ सालमा भएको हो। २०६५ को स्ववियु निर्वाचनमा केन्द्रीय क्याम्पस कीर्तिपुरमा हालसम्मकै धेरै मतसहित सचिवमा विजयी हुने उनी पहिलो छात्रा हुन् ।

विद्यावारिधिकी विद्यार्थी, अध्यापक र एक सन्तानकी आमा मानुषी लोकतन्त्र र विधिको शासन ठिक ढंगले कार्यान्वयन नहुँदा नेपालमा विकृति, विसंगती वढेको वताउँछिन् । अर्थतन्त्रको तीव्र वृद्धि र न्यायोचित वितरणका साथै विकास र समृद्धिको प्रक्रियालाई फराकिलो बनाएर आम नेपालीलाई प्रत्यक्ष लाभ दिलाउनका लागि आफु यस पटक निर्वाचनमा होमिएको उनले बताउँदै आएकी छन् ।

उपयुक्त भौतिक पूर्वाधार, खानेपानी, सर्वसुलभ सार्वजनिक शिक्षा र स्वास्थ्यको लागि चाहिने कानुन निर्माणलाई उनले आफ्नो प्राथमिक एजेन्डा भनेकी छिन् ।

नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय सदस्य रहेकी मानुषी अहिले चुनावी तालमेलका कारण नेकपा (माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार छिन्। दुवै पार्टीले एउटै चुनाव चिन्ह हँसिया हथौडा प्रयोग गरिरहेका छन् । मानुषी सत्तारुढ गठबन्धनको साझा उम्मेदवार हुन् ।

मानुषीले टिकट पाएको काठमाडौं ७ मा नेकपा (एमाले) का श्यामकुमार घिमिरे र जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्रप्रसाद श्रेष्ठ प्रतिस्पर्धामा छन् । एमालेका विद्रोही रामवीर मानन्धरसहित स्वतन्त्र उम्मेदवारहरू पनि छन् ।

गत स्थानीय चुनावमा यो क्षेत्रमा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले १४ हजार १६७, एमालेले १२ हजार २०२ र एकीकृत समाजवादीले ३ हजार ८३९ मत पाएको छ ।

त्यस्तै, राप्रपाले २ हजार २७, माओवादी केन्दले ५७६ र जसपाले १६२ मत पाएको छ भने स्वतन्त्र उम्मेदवारहरूले पाएको मत संख्या २ हजार २०६ छ । 

उम्मेदवार मानुषी

विशेष