समाचार अन्तरवार्ता

नेपाल–भारत सम्बन्ध विगार्ने कुतत्वले समय–समयमा खेल्न खोज्छन्ः महाँबाणिज्यदुत नितेशकुमार

नेपाल–भारत सम्बन्ध विगार्ने कुतत्वले समय–समयमा खेल्न खोज्छन्ः महाँबाणिज्यदुत नितेशकुमार

भारत आफ्नो स्वतन्त्रताको ७५वर्षको अवसरमा ‘आजादीको अमृत महोत्सव’ मनाइरहेको छ । भारत सरकारले आजादीको अमृत महोत्सवको अवसरमा तीन वर्षसम्म  विभिन्न कार्यक्रम गरी मनाउने घोषणा गरेको छ । वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले पनि त्यसलाई निरन्तरता दिएको छ ।

भारतीय महावाणिज्य दूतावासमा महावाणिज्यदूत नितेश कुमार छन्। उनीसँग विभिन्न देशमा काम गरेको अनुभव छ। जनवरी १३, २०२० मा भारतीय महावाणिज्य दूतावासमा प्रमुखको रुपमा कार्यभार सम्हालेको केही महिना नबित्दै कोरोना महामारी सुरु भयो ।  संक्रमणको पहिलो लहरमै नेपाल–भारत दुवैतर्फ सुरु भएको लकडाउनले नेपालमा अलपत्र परेका हजारौं भारतीयलाई वीरगञ्ज नाकाबाट सकुसल घर फर्काउने काम कसरी भयो ? के–कस्ता चुनौतीहरू सामना गर्नु प-यो ? कोरोना महामारीकै बीचमा महावाणिज्य दूतावासले आफ्ना नियमिति कामकारवाहीलाई कसरी अगाडि बढाइरहेको छ लगायतका समसामयिक विषयमा अनिल तिवारीले महावाणिज्यदूत नितेशकुमारसँग गरेको कुराकानीको सम्पादित अंशः

तपाई नेपाल आएको केही महीनाभित्रै कोरोना महामारी सुरु भयो । अहिले तेश्रो लहरको संक्रमण फैलिइरहेको छ, दुई वर्ष कस्तो बित्यो ?
म मात्र होइन, कोरोना महामारीको यो समय पुरै विश्वका लागि कहालीलाग्दो समय हो । महावाणिज्य दूतावासका कर्मचारीहरूको दिनरातको प्रयास र  स्थानीय केही सामाजिक संस्थाहरूको सहयोगबाट नेपालका विभिन्न शहरमा फसेका सबै भारतीहरूलाई क्रमिक रुपमा भारतस्थित घरसम्म पु¥याउने काम गरियो । त्यो समयमा लगभग २५ हजार व्यक्तिलाई व्यवस्थित गर्न हामि सफल भयौ।

महावाणिज्यदूतावासको प्रमुख भएर आएपछि नेपाल र भारतबीचको सांस्कृतिक एवम् पारस्परिक मैत्री सम्बन्धलाई अझ प्रगाढ बनाउन महावाणिज्यदूतावासले के के कामहरु गरेको छ ?  
विसम परिस्थितिमा हामीले युद्धस्तरमा कार्य गरेका छौं । दूतावास समयको सारथी झै बनेको छ । अमृत महोत्सवका कार्यक्रमहरूलाई पनि निरन्तरता दिंँदै आएका छौं । म आएदेखि विद्वतवर्गसँग विभिन्न विषयमा अन्तरक्रिया र गोष्ठीलाई समेत निरन्तरता दिएका छौंं । जस्तो हिन्दी दिवसमा प्रवचन, साहित्यिक परिचर्चा, गान्धी तथा अम्वेडकर जयन्तीका अवसरमा गोष्ठीको आयोजना, सरदार बल्लभभाई पटेलको जयन्तीमा विचार गोष्ठी, विद्यालय पढने बिद्यार्थीहरुबीच निबन्ध, प्रश्नोत्तर प्रतियोगितालगायतका कार्यक्रमहरु गरेका छौ । यति मात्र होइन, आयुर्वेद दिवसको अवसरमा मधेस प्रदेशका मुख्यमन्त्रीको प्रमुख आतिथ्यमा प्रदेशका ८ वटा जिल्लाका आयुर्वेद डाक्टरहरुको सहभागितामा जनव्याख्यान कार्यक्रमको आयोजना गरिएको थियो । ‘अमृत महोत्सव’को अवसरमा म्याराथुन दौड प्रतियोगिता, साइकल -याली, रक्तदान शिविर, योग शिविरलगायतका कार्यक्रमसँगै  समय–समयमा विभिन्न शिक्षामूलक भारतीय चलचित्रहरुहरुलाई प्रसारण गर्ने काम हुँदै आएको छ ।

विश्व हिन्दी दिवसका अवसरमा ९, १० र १५ जनवरीमा क्रमशः जनकपुर, वीरगञ्ज र कलैयामा नेपालमा हिन्दी भाषाको प्रवर्धनका लागि गोष्ठीको आयोजना गरिएको थियो । जनकपुरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउत गद्दी हुनुहुन्थ्यो । नेपालमा भारतीय खाना र परिकारको जानकारी एवम प्रवद्र्धनको उदेश्यले महावाणिज्यदूतावास परिसरमै फुड फेस्टीभल कार्यक्रमको आयोजना गरियो।

वीरगञ्जमा महावाणिज्यदूतावास स्थापनापछिको समयमा तराईमा भारतीय सहयोगको स्वर्णिम काल थियो, तर अहिले त्यसमा धेरै कमी आएको छ भन्ने गुनासो कति सत्य  छ ?

नेपालका हरेक क्षेत्रमा प्रारम्भदेखि नै भारतले सहयोग गर्दे आएको छ । दूरसञ्चारको विस्तार, विद्युत विस्तार, सडक र सिंचाईको विस्तारमा सहयोग गर्दै आएको तथ्य सार्वजनिक नै छ । वृहत् लगानीको भारतीय परियोजना जस्तै हुलाकी सडकको कार्य राम्रो गतिमा अगाडि बढीरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको नारा छ ‘सबका साथ, सबका विकास’ ,यही भावअनुरूप भारतीय महावाणिज्यदूतावासको कार्य क्षेत्रमा पर्ने ८ जिल्लामा यस वर्ष सडक, कलभर्ट र विद्यालय भवन निर्माणको कार्य करीव आधा दर्जन, स–साना लगानीका विभिन्न योजना सम्पन्न भएपछि सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ । करिब ४४ करोड ४४ लाखको लागतमा सर्लाही जिल्लाको भारतीय बोर्डरसँगै रहेको लक्ष्मीपुरदेखि बलरा  हुदै गढैयासम्मको सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ । त्यस्तै मलंगवामा ४ करोड २७ लाख ८० हजारको लगानीमा कल्भर्ट तथा नाला निर्माण सम्पन्न भई सम्बन्धित निकायलाई हस्तान्तरण गरिएको छ । चितवनको गुंजमान सिंह अस्पतालमा करिब ४ करोड ७९ लाख ४० हजारको लागतमा ५० बेडको अस्पताल भवन निर्माण भएको छ । त्यस्तै चितवन खैरनीमा रहेको आधारभूत विद्यालयको भवन १ करोड ८६ लाख ६० हजारको लागतमा सम्पन्न भएको छ । मकवानपुरको लिटीखोलामा रहेको वागमती निम्न विद्यालयमा ८९ लाख ७० हजारको लागतमा विद्यालय भवन निर्माण गरी विद्यालयलाई हस्तान्तरण भएको छ । भारतीय सहयोगमा निर्माणाधीन सर्लाहीको लालबन्दीमा रहेको जनता माध्यमिक विद्यालयमा १ करोड ५९ लाख ४० हजारको लागतमा दुई तले भवन र पिपरियामा रहेको बालगोविन्द जनता उच्च माध्यमिक विद्यालयमा ६९ लाख ४० हजारको लागतको भवन हस्तान्तरण गरिएको छ । यतिमात्र होइन, जनकपुरदेखि चितवनसम्म करीब दुई दर्जनभन्दा बढी भारतीय सहयोगका सानासाना योजनाहरु सञ्चालनमा छन् । जसमा विद्यालय भवन, पुल, ग्रमीण विद्युतीकरण, सामुदायिक भवन, नदी नियन्त्रणका लागि तटबन्धकालगायतका योजना निर्माणाधीन छन् ।

कोरोना महामारीपछि विश्वमा आर्थिक मन्दी छ । नेपालको आयात–निर्यातसँग सम्बन्धित नेपाली उद्योगी/व्यापारीका समस्याहरुलाई महावाणिज्यदूतावासले कसरी हेरेको छ ?
निश्चय नै महावाणिज्यदूतावासको स्थापनाको मुख्य उद्देश्य नै नेपालको उद्योग÷व्यापारलाई सरल र सहज बनाउने हो । समय–समयमा उठ्ने गरेको आयात–निर्यातका विभिन्न समस्याको समयमै समाधान गर्ने गरिएको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारी एवम उद्योगी व्यापारीहरुबाट उठेका समस्याहरुको निराकरणको लागी भारतीय कस्टम, रेल्वेका पदाधीकारीहरुसँग प्रत्यक्ष अन्तरक्रिया गराएर समयमै समाधान गर्ने गरिएको छ । यसका साथै नेपाली र भारतीय व्यापारीहरुबीच हुने वाणिज्य व्यापार विवाद(ट्रेड डिस्पीयुट)का समस्याहरुलाई भारतीय सरोकारवाला मन्त्रालयमा पत्राचार गरी समयमै समाधान गर्ने काम समेत माहावाणिज्यदूतावासले गर्दै आएको छ ।

रक्सौल एयरपोर्टलाई सञ्चालनमा ल्याउनुपर्ने, मोतीहारीदेखि आईसीपीसम्म ६ लेनको बाटो, रक्सौलबाट दिल्लीसम्म राजधानी स्तरको ट्रेनलगायतका विषयहरु अहिले खुबै उठिरहेका छन् नि ? यसमा तपाईंबाट के पहल भइरहेको छ ?
हेर्नोस, हाम्रो दायरा सीमित छ, महावाणिज्यदूतावास एक कूटनीतिक निकाय हो । नेपालको हरेक साना ठूला समस्याप्रति हाम्रो सकारात्मक धारणा रहेको छ । सानातिना कुराजस्तो रक्सौल रेल्वेको ट्रयाक ढलान, रेल्वेदेखि सीमासम्मको भारतीय सडकको मर्मतलगायतका कुराहरुलाई समय–समयमा हामीले पहल गरेर निर्माण गराउँदै आएका छौ । एयरपोर्ट, ट्रेन सञ्चालन लगायतका ठूला कुराहरुबारेमा सम्बन्धित निकाय माँझ राख्दै आएका पनि छौं।

नेपालमा रहेका भारतीय नागरिकहरुका लागि भारतीय महावाणिज्यदूतावासले केके काम गर्दै आएको छ ?
खास गरेर नेपालमा रहेका भारतीयहरुलाई आईपर्ने सबै खालको समस्यालाई कन्सुलर शाखाले हेर्ने गरेको छ । अन्तरक्रियाहरु गरी भारतीय नागरिकका समस्यालाई समाधान गर्ने कार्यसमेत गरिएको छ । नेपाली कारागारमा बन्दी रहेका भारतीयहरुको अवस्था बुझी उनीहरुको समस्यालाई पनि समाधान गर्ने कार्यलाई मैले अगाडि बढाएको छु । जसको लागी वीरगन्ज कारागारको भिजिट गरेका छौ । यसका साथै हाम्रो कार्यक्षेमा रहेका रौतहट, महोतरी चितवन र मकवानपुरको कारागारमा पनि पुगेर त्यहा बन्दी रहेका भारतीयहरुको अवस्था र समस्या बुझने हाम्रो योजना रहेको छ । यसका साथै समय–समयमा शुभेच्छुक संस्थाहरु जस्तै नेपाल–भारत सहयोग मञ्च, मिडिया फर बोर्डर हार्मोनीले वीरगञ्ज र रौतहटको गौरमा दुवै देशका नेता, बुद्धिजिवी, व्यापारी तथा पत्रकारहरुको उपस्थितिमा गरेको कार्यक्रमबाट धेरै सकारात्मक कुराहरु आएका छन् । यसका साथै भारतमा फसेका नेपाली बालबालिकाहरुलाई उद्दार गगर्ने काम पनि महावाणिज्य दूतावासले गर्दै आएको छ । जस्तो केही महिना पहिला वीरगञ्जकी एक वालिकालाई दिल्लीबाट उद्दार गरेर उनको आमाबुबाको जिम्मा लगाइएको छ ।

नेपाल र भारतबीचको सम्बन्ध विश्वमै अतुलनीय छ । तर, पनि समय–समयमा नेपाल र भारतको सम्वन्धमाथि प्रश्न उठ्छ, किन होला ?
नेपाल र भारतबीचको सम्बन्ध आफैंमा अद्भूत छ ।  तर, केही कुतत्वले समय–समयमा खेल्न खोज्ने गरेको छ । त्यसबाट हामी सजग रहनु पर्दछ । भारत–नेपाल बिचको सम्बन्ध अतुलनीय छ, जसका पर्याप्त कारणहरु छन् । भारत र नेपालबीच जुन भौगोलिक, सांस्कृतिक र आर्थिक सम्बन्ध छ, त्यसलाई अरु कसैले चाहेर पनि प्रतिस्थापन गर्न सक्दैनन् । भारतसँग नागरिकस्तरमै ‘रोटी–बेटी’को सम्बन्ध छ । भारततिर २० लाख बढी नेपाली श्रमिक अनौपचारिक श्रमबजारमा व्याप्त छन् । नेपाल–भारत बीच खुला सीमा छ । नेपाललाई सबैभन्दा धेरै रेमिट्यान्स दिने देशमा भारत दोस्रो हो। भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार पनि हो । 

थप केही भन्न चाहनु हन्छ ?
नेपाल र भारतबीचको सम्बन्ध आफैमा प्रगाढ र अतुलनीय छ । नेपालमा आएको कुनै पनि प्राकृतिक विपद्मा भारतले सबैभन्दा अगाडि रहेर सहयोग गर्दै आएको छ । भूकम्पको समय होस् वा कोरोना महामारीको बेला होस, भारतीय सहयोग अगाडि नै रहेको छ । सबैभन्दा पहिला कोरोनाको खोप भारतले नै नेपाललाई सहयोग गरेको हो । बाढीका समयमा पनि हामीले सहयोग गर्दै आएका छौ । यसका साथै मानव संसाधन विकासमा पनि भारतको सहयोग छ । एम्बुलेन्स, विद्यालय बसका साथै भारत सरकारद्वारा दिइने छात्रवृतिलाई महावाणिज्यदूतावासले अझ प्रभावकारी  बनाएको छ । कोरोना संक्रमणका कारण सोचे जस्तो काम गर्न नसकेपनि आगामी दिनमा यस्ता कामलाई अझ तिव्रता दिईने छ। 

महावाणिज्यदूत