समाचार राजनीति

सिके राउत र उपेन्द्र यादवबिच यस्तो छ पुरानो दुस्मनी

सिके राउत र उपेन्द्र यादवबिच यस्तो छ पुरानो दुस्मनी

०७५ भदौ ७ गते वर्दियामा विग्रिएको जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके राउत) को सम्वन्ध अहिले सतहमा आएको छ। त्यसको पटाक्षप भने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले गरेकी छिन्।

माघ ५ गते रौतहटको गौरमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा मन्त्री यादवले व्यक्तिहत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिईन। उनले जनमत पार्टीका अध्यक्ष सीके राउतको नामै लिएर गौर हत्याकाण्ड जसरी नै घेरा हाली ज्यान लिने आसयमा धम्की दिइन्।  ०६३ चैत ३ गते तत्कालीन मधेसी जनअधिकार फोरमको अग्रसरतामा भएको ‘चर्चित गौर काण्ड’ मा २८ जना माओवादी समर्थक व्यक्तिहरुले ज्यान गुमाएका थिए ।

उनको यो अभिब्यक्तिको सर्वत्र आलोचना भईरहेको छ। तर, मन्त्री यादवले यो अभिब्यक्ती विना कारण आएको भने होईन। यसका पछाडि एउटा तत्कालिन कारण र अर्को पुरानो कारण पनि जोडिएको छ। तत्कालिन कारण चै माघ ५ गते जसपाकी नेतृ एवं भौतिक पूर्वाधार मन्त्री यादव कार्यक्रमका लागि जाँदा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले रोक्ने प्रयास गरे। उनलाई कालो झण्डा देखाउँदै कार्यक्रममा जानबाट रोक्न खोजे।

मन्त्री यादव अर्को बाटो हुँदै कार्यक्रममा सहभागी भइन् । तर, त्यसको रिसमा उनले गौर काण्ड दोहो-उने धम्की दिईन। यसले अहिले उनको चर्चा त भएको छ नै सरकारमा रहेर गैरकानुनी र गैर जिम्मेवार अभिब्यक्ति दिएको भन्दै मन्त्रीबाट हटाउनु पर्ने माग समेत उठिरहेको छ।

दोस्रो कारण, जसपाका अध्यक्ष उपेन्द्र यादव नै हुन । सिके राउत सुरु देखि नै उपेन्द्र यादवको विपक्षमा छन् । उपेन्द्रका हरेक माग र एजेण्डामा उनी विपक्षमा देखिएका छन् । यसैकारण सिके राउतका कार्यकर्ताले उपेन्द्र यादव र उनको पार्टीका नेताहरुलाई कालो झण्डा देखाउने र उनीहरुलाई अवरोध गर्दै आएका छन् ।

यसैक्रममा स्वास्थ्य मन्त्री हुँदा ०७५ भदौ ७ गते वर्दिया पुगेका उपेन्द्रलाई पनि सिके राउतका कार्यकर्ताले कालो झण्डा देखाए । कालो झण्डा देखाउने क्रममा प्रहरीले राम मनोहर यादवलाई पक्राउ ग-यो। थुनामा रहेका बेला राममनोहर बिरामी परे। उपचारका लागि काठमाडौँ लाँदै गर्दा बाटोमै उनको निधन भयो। सिके राउतले यादवले नै राममनोहरलाई मार्न लगाएको आरोप पनि लगाए।

सो घटनापछि उनीहरुको सम्वन्ध विग्रिएको छ। उनीहरुको मनमोटाव सुरु हुनुको प्रमुख कारण भने मधेशमा आफनो वर्चस्व जमाउनु नै हो। उपेन्द्र यादवको पार्टी मधेश आन्दोलनबाट स्थापित भएको पार्टी हो। त्यसलाई साईजमा नराखेसम्म मधेशमा अर्को पार्टीको ‘दाल गल्दैन’ भन्ने वुझेका राउतले उपेन्द्र यादव नेतृत्वको पार्टीलाई निशाना बनाउँदै आएका छन् ।

अर्कोतर्फ यादव भने सिके राउत मधेशमा स्थापित हुँदै गए आफनो ‘पत्ता कट्ने’ त्रासमा छन् । जसका कारण उनीहरु एकअर्काप्रति आक्रमक रुपमा प्रस्तुत हुन्छन। अहिले पनि राउतको जनमत पार्टी आन्दोलनमै छ। किसानको माग उठाएर उनले आन्दोलन गरिरहेका छन् । तर, उनको उदेश्य किसान नभएर मधेशमा ‘स्पेस खोज्नु’ भएको राजनीतिक विश्लेषकहरु वताउँछन् ।

मधेशमा स्पेस खोज्ने र छिर्नै नदिने दुई पक्षको लडाई अहिले मन्त्री यादव मार्फत सतहमा आएको उनीहरुको भनाई छ। यो विषयलाई गम्भिरता पुर्वक लिएर समयमै समाधान नगरे यसले अझै भयानक अवस्था निम्त्याउन सक्ने जानकारहरु बताउँछन् । 
 

सिके राउत उपेन्द्र यादव रेणु यादव