समाचार

चीनियाँ राजदुत होउ यान्छीलाई देश निकाला गर्न माग

चीनियाँ राजदुत होउ यान्छीलाई देश निकाला गर्न माग

नेपाल डेमोक्रेट युनियनले नेपाल स्थित चीनियाँ राजदुत होउ यान्छी र चीनियाँ गुप्तचर एजेन्सी एमएसएसका अधिकृत निङ लिनलाई देश निकाला गर्न माग गरेको छ।

युनियनले मंगलवार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रजातान्त्रिक देश नेपाल विरुद्ध षड्यन्त्रकारी र हस्तक्षेपकारी भूमिकामा उत्रिएका राजदुत यान्छी र निङ लिनलाई ‘पर्सना नन ग्रेटा’ घोषित गरी देश निकाला गर्न माग गरिएको छ। यो एउटा कूटनीतिक शब्दावली हो। जसअनुसार कुनै पनि देशको राष्ट्र वा सरकार प्रमुखले आफ्नो देशको कुनै राजदूतलाई ‘पर्सना नन ग्रेटा’ घोषणा गरेपछि उ सम्बन्धित देशको दूतावासमा अयोग्य ठहर हुन्छ ।

युनियनले नेपाललाई प्रजातान्त्रिक विश्व समुदायबाट अलग्याउँदै आफ्नो प्रभाव क्षेत्र एवम् संरक्षित राज्य बनाउन चीनले षडयन्त्र पुर्वक काम गरिरहेको आरोप लगाएको छ। ‘नेपालमा प्रजातन्त्रवादीहरुलाई हरतरहले किनारा लगाउँदै लोकतन्त्र समाप्त गरी चीनियाँ कम्युनिष्ट पार्टीका नेपाली दासहरुको सत्ता स्थापित गर्न कम्युनिष्ट चीनले जे जस्ता हर्कत गर्दैछ, नेपाली जनतालाई त्यो कदापि सहय हुनेछैन’ विज्ञप्तिमा भनिएको छ–‘कम्युुनिष्ट चीनले नेपालमा प्रजातन्त्रका प्रत्येक अवयव कमजोर गराउन योजनावद्ध षडयन्त्र मात्र सञ्चालन गरेको छैन, प्रजातान्त्रिक मित्रराष्ट्रहरुको विरोध नेपालको भूमिबाट गराउने अभियान पनि चलाइरहेको छ। साथै प्रजातान्त्रिक विश्वबाट प्राप्त हुने आर्थिक र अन्य सहयोग विरुद्ध विषìवमन गराउने, भाँड्ने र सहयोगबाट वञ्चित गराउने षड्यन्त्र पनि सञ्चालन गरिरहेको छ।’  नेपालमा एमसीसी विरुद्ध भइरहेको दुष्प्रचार चीनकै षडयन्त्रको एउटा पाटो भएको युनियनको ठहर छ।

‘नेपालको सार्वभौमिकता माथि धावा बोल्दै कम्युनिष्ट चीनले हुम्ला, गोरखा, रसुवा लगायतका दर्जनौ जिल्लामा सीमा अतिक्रमण गरी हजारौं विघा जमीन कब्जा गरेको मात्र छैन, नेपालको विमानस्थलमा चीनियाँ झण्डा फहराउने दुस्साहस समेत गरेको छ। रसुवा र तातोपानी नाकामा अघोषित नाकाबन्दी गरेर हजारौं कन्टेनर रोक्दै आएको छ।’ अगाडि भनिएको छ–‘नेपाली व्यापारीलाई हर तरहले प्रताडित र हतोत्साहित बनाउँदै आएको छ। यसका साथै सामाजिक द्वन्द्व बढाउने, पार्टीगत द्वन्द्व बढाउने र  हिंसा, आगजनी, तोडफोड, रक्तपात र गृहयुद्धको भुमरीमा नेपाललाई धकेल्ने योजनाका साथ काम गरिरहेको छ। यसका निम्ति चीनियाँ गुप्तचर एजेन्सी एमएसएसको अधिकृत निङ लिनलाई कार्यालय नै खडागरी सक्रिय गराएको छ भने चिनियाँ राजदूतलाई गैरकूटनीतिक तवरले पार्टी, देश र व्यवस्थाका आन्तरिक मामिलामा प्रत्यक्ष हस्तक्षेप गर्न सक्रिय बनाएको छ।’

चिनियाँ मुद्रा आरएमबीको खोलो बगाएर मोड्ने र जनस्तरमा प्रजातन्त्र एवम् प्रजातान्त्रिक विश्व विरुद्ध दुष्प्रचार गर्ने अभियान चलाएको युनियनले जनाएको छ। ‘नेपाल डेमोक्रेट युनियन यी र यस्ता कुत्सित हरकत तत्काल बन्द गर्न कम्युनिष्ट चीनलाई चेतावनी दिन चाहन्छ। उसका यस्ता हरकत प्रजातन्त्रप्रेमी नेपाली जनतालाई कदापि सहय हुने छैनन्। प्रजातन्त्रवादी विश्व समुदायले यस्ता हर्कत कदापि सहने छैनन्। नेपाल डेमोक्रेट  युनियन प्रजातान्त्रिक नेपाल विरुद्ध षड्यन्त्रकारी एवं हस्तक्षेपकारी भूमिकामा नाँगो उत्रिएका निङ लिन र चिनियाँ राजदूत हाओ यान्छीलाई ‘पर्सना नन ग्रेटा’ घोषित गरी नेपालबाट निकासन गर्न नेपाल सरकारसँग माग गर्दछ’– विज्ञप्तिमा भनिएको छ।

चीनियाँ उक्साहट, चिनियाँ योजना र आरएमबीको आडमा देशमा सञ्चालित प्रजातन्त्र विरोधी अभियानलाई निस्तेज, दण्डित र समाप्त पार्न पनि नेपाल सरकारसँग युनियनले आग्रह गरेको छ।
 

होउ यान्छी गो ब्याक चाईना चीनियाँ नाकाबन्दी चीनियाँ कब्जा चीनियाँ भाइरस