समाचार

खोपको मात्रा पुरा नगरेकालाई माघ ७ पछि काठमाण्डौंका सार्वजनिक स्थलमा प्रवेश निषेध

खोपको मात्रा पुरा नगरेकालाई माघ ७ पछि काठमाण्डौंका सार्वजनिक स्थलमा प्रवेश निषेध

जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले मंगलबार २७ बुँदे आदेश जारी गर्दै खोपको पूरा मात्रा नलगाएका व्यक्तिलाई माघ ७ गतेपछि सार्वजनिक स्थलमा प्रवेश निषेध गरेको छ।

राजधानी उपत्यकामा कोरोना संक्रमित तीव्र गतिमा थपिन थालेपछि जिल्ला प्रशासन कार्यालयले २७ बुँदे आदेश जारी गरेको हो। काठमाण्डौंमा सोमबार मात्रै ४ हजार बढी कोरोना संक्रमित भेटिएका थिए।

आदेशमा यसअघि मन्त्रिपरिषद्ले पारित गरेकै अधिकांश बुँदाहरु छन्। माघ मसान्तसम्म सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप सञ्चालनमा निषेध गरेको छ।

गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलाप सञ्चालन गर्दा भर्चुअल माध्यमको उपयोग गर्न पनि भनिएको छ। भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भए जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा २५ जना मात्र सहभागी हुने गरी सञ्चालन गर्न पनि भनिएको छ। 

माघ ७ गतेपछि खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुने गरी कार्यक्रम गर्न पनि प्रशासनले भनेको छ। सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार र मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम माघ १५ गतेसम्म सञ्चालन गर्न पनि रोक लगाएको छ।

आदेशमा होटेल रेष्टुरेण्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नुपर्ने भनिएको छ। त्यस्तै होटेल रेष्टुरेण्टमा सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउन भनिएको छ। 

मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिन पनि प्रशासनले भनेको छ। 

कोरोना