समाचार अपराध सुरक्षा

संखुवासभा ‘सामूहिक हत्या काण्ड’ जग्गा किन्न राखेको पैसाका लागि भएको अनुमान

संखुवासभा ‘सामूहिक हत्या काण्ड’ जग्गा किन्न राखेको पैसाका लागि भएको अनुमान

दुई बच्चासहित परिवारकै हत्या गरिएको संखुवासभा ‘सामूहिक हत्या काण्ड’ पैसाका लागि भएको अनुमान गरिएको छ। कुनै पनि अपराधका पछाडि विभिन्न कारणहरू हुन्छन् । रिसईबी, आवेश, प्रेमजन्य परिघटना, आर्थिक लेनदेनलगायतका घट्ना हत्याका प्रमुख कारण मानिन्छन् । तर, संखुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङको घट्ना पैसाका लागि भएको होकी भन्ने अनुमान गर्न थालिएको छ।

मादी नगरपालिकाका मेयर विदुर लिङथेप सुब्बा हत्याको कारण पैसा नै भएको आंकलन गर्छन। ‘झापातिर जग्गा किन्नलाई बैनाबट्टा गरिसकेको र तीज सकिनेवित्तिकै जग्गा पास गर्न झर्ने तयारी थियो भन्ने सुनिएको छ, त्यसका लागि घरमा केही पैसाको जोहो गरिएको अपराधीहरूले सुइँको पाएको हुन सक्छ ।’ यद्यपि यो हत्याको कारण के हो भन्ने आजसम्म स्पष्ट नखुलिसकेको मेयर सुब्बाले बताए । 

प्रहरीले भने घटनामा चिनजानकै व्यक्ति संलग्न हुन पनि सक्ने आशङ्का गरेको छ । आफन्तको बयानका आधारमा प्रहरीले अनुसन्धानलाई केही साँघुरो बनाउँदै गएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार खेती किसानी गर्ने तेजबहादुरको परिवार सामान्य आर्थिक अवस्थाको हो । उनका दुई छोरा विदेशमा छन् । उनीहरुले पठाएको केही रकम घरमा थियो । घटनास्थल र घर सुरक्षित राखिएका कारण धरानबाट गएको प्रहरी उपरीक्षक भीम दाहाल र फरेन्सिक टोलीले घरभित्र लुटपाट भएको छ कि छैन भनेरसमेत अनुसन्धान गर्ने जनाइएको छ । 


अहिले प्रहरीले घटना भएको आसपासको समयमा घटनास्थल वरपर सक्रिय मोबाइल नम्बरहरूको पनि विश्लेषण थालेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरूले शव विभिन्न ठाउँमा भेटिनु र चप्पलहरु यत्रतत्र छरिनुले लखेटेर हत्या गरेको हुन सक्ने आशङ्का गरेका छन् ।

रातिको समयमा परिवारका सबै सदस्यलाई लखेटेर हत्या गरेको देखिएकाले यो सामूहिक हत्यामा अपराधीहरूको ठूलै समूह परिचालन भएको हुन सक्ने प्रहरीको विश्लेषण छ ।स्थानीय जनप्रतिनिधिहरूको अनुमानमा यो हत्या पेसेवर अपराधीबाट भएको जस्तो देखिन्छ । अपराधको घटनामा बाहिरी जिल्लाका पेसेवर अपराधीहरूको संलग्नता छ कि भन्ने आशंका समेत गरिएको छ।

यो पनि

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या, कसैको शव खोल्सामा, कसैको खरवारीमा

संखुवासभा परिवारकै हत्या मादी नगरपालिका