समाचार विचार

कण्डमप्रति सेनिटरी प्याडको बैरभाव किन ?

नारायण पौडेल

कण्डमप्रति सेनिटरी प्याडको बैरभाव किन ?

प्रिय आरती चटौत र लोङसरी कुँवरलगायतका दिदीबहिनीहरु एउटा बहशमा उत्रिनु भएको छ । बहश आकर्षक छ–‘कन्डम सित्तैमा अनि महिनावारी प्याडलाई बिलासिताको बस्तु मान्ने!’ आउनुहोस खुलेर बहस गरौं पनि भन्नु भएको छ ।

सुन्दा आकर्षक भएपनि कण्डम र प्याडलाई प्रतिस्पर्धी वा बिपरित लिङ्गी बिषय बनाइनु आफैंमा गलत छ । पुरुषले लगाउने भएकाले कण्डम सित्तैमा दिइयो भन्ने सन्देश दिने भाष्य तयार गरिएको छ, जो महिलाकै लागि प्रतिकुल छ । कण्डम पुरुषले (मूलरूपमा) लगाउने भएपनि यसले सुरक्षा महिलालाई पनि (अझ ज्यादा) दिने गर्छ । कण्डमलाई लैंगिक बिषय बनाउनु भएन, बरु महिला–पुरुष बीचको सहकार्यको उच्चतम नमुना मान्नुपर्छ । महिलाले कण्डम लगाउन आग्रह गर्दा पुरुषले नमानेको, फलतः दुर्घटना भएका उदाहरण समाजमा प्रशस्त छन । स्वास्थ्यकर्मी मित्र यशोदा ढकालकै शब्दमा कण्डममात्र होईन महिला पुरुष दुबैले प्रयोग गर्ने परिवार नियोजनका अस्थाई सामग्री स्वास्थ्य कार्यलयमा सित्तैमा पाइने गरेको छ ।

कण्डमप्रति बैरभाब नजगाइ पनि प्याडको कुरा गर्न सकिन्न र ? अझ, कण्डमजस्तै प्याडलाई कर–फ्री गर्दे भने दुबै चीज चाहिने रहेछन भन्ने सन्देश जाने थियो । जंगी अर्थमन्त्री जनार्दन शर्माले ल त्यसो भए कण्डममा पनि कर लगाउने वा थप्ने निर्णय गरे नौलो हुने छैन । फेरी सबै कण्डम कररहित पनि होइनन । बजारमा पाईने सबै कण्डम करफ्री होईनन । आर्थिक अबस्था कमजोर भएका वा बजारमा पहुँच नभएकालाई लक्षित गरी अनुदानमा उत्पादन गरिएका कण्डममात्र कर–रहित हुन । 

कण्डम की प्याड कुन प्रथामिक? यो प्रश्न आफैंमा गलत होला । तर, दुई मध्ये एक रोज्नै परे कण्डम रोज्नुपर्छ । अरुणा उप्रेती÷अम्रिता लम्साल जस्ता पैरबीकर्ताको पनि बिमति नरहला– कण्डम घरमा बनाउन मिल्दैन, प्याड बनाउन मिल्छ । टालो र कपासको प्रयोगबाट प्याड बनाएर लगाउने चलन छ ।
 
खाश बहश हुनु पर्ने त, प्याडलाई आयात गर्न नपर्ने गरि स्वदेशमै त्यो पनि गाऊँगाऊँमा उत्पादन गराउने बारे हो । सरकारले अनुदान दिए प्याड उत्पादन गर्न कुनै गारो छैन । बिद्यालय, पालिका, सहकारी, आमासमुह, क्लबलाई प्याड उत्पादनमा उपयोग गर्न सकिने छ । शहरमा प्याडबारे हुने प्यार–प्यारले दूरदराजलाई छोएको छैन । सित्तैमा दिएपनि प्याडको प्रयोग होला नहोला। बरु समुदायलाई नै प्याड उत्पादनमा जोडे समाज नै प्याड–दूत बन्ने छ । रोजगारी हुनेछ, आयआर्जन पनि बढ़ने छ । 

प्याड करफ्री गर्दैमा यो बहुत सस्तो हुने होइन । केही रुपियाँ कम होला । आयातित प्याड किनेर प्रयोग गर्न सक्नेलाई कर लाग्नु र नलाग्नुले ठूलो अर्थ राख्ने छैन । अन्तराष्ट्रीय बजारले देखाउन थालेको छ– बोईंङ बेचेर भन्दा डाइपर, प्याडजस्ता बस्तुबाट नाफा बढी हुन थालेको छ । असीमित बजारलाई सीमित उत्पादकले कब्जा गरेका छन । बजारले बच्चाको खान्कीलाई जोड दिंदैन, स्टाइलिश डाइपरलाई प्रवर्धन गरेको छ । बजारलाई नाफासँग मतलब छ, बच्चासँग होइन । 

अर्थसचिब मधु मरासिनीले प्याडमा कर मिनाहा गरेको आशयको प्रतिक्रिया दिइसक्नुभएको छ। करमिनाहा भएपनि म जन्मेहुर्केको गाम–ठामलाई यस्ले खाश अर्थ राख्ने छैन । यस्ले फाइदा मूलफूतरूपमा व्यापारी र शहरी क्षेत्रलाई देला। 

असली प्रभावका लागि प्याडको स्थानीय उत्पादनमा जोड दिउँ । ५ कक्षाको कोर्शमा प्याड बनाउने तरिका, यसको फाइदाबारे पढाउँ । प्याड बनाउने र लगाउनेबारे पालिकालाई अभियान चलाउन लगाउँ । उत्पादकलाई अनुदान दिउँ । आयातलाई बढावा दिने नारा लगाएर आफैंलाई बोझ नबढाम ! 

म प्याड बिरोधी होईन, श्रीमती, साथी, दिदीबहिनीका लागि प्याड किनेको छु !  गाऊँघरमै बनाउन मिल्ने पुतलीटालालाई अन्तराष्ट्रीय बजारले महँगो बनाएकोमा गम खाएको छु ।

नारायण पौडेल कन्डम सित्तैमा प्याडमा कर