समाचार राजनीति

माओवादीमा ३२ वर्षदेखी प्रचण्डको एकछत्र राज, कहिले हुन्छ नेतृत्व हस्तान्तरण ?

माओवादीमा ३२ वर्षदेखी प्रचण्डको एकछत्र राज, कहिले हुन्छ नेतृत्व हस्तान्तरण ?

लोकतन्त्रको मुल मन्त्र भनेको विधिको शासन, न्याय, सुशासन, समानता र समावेशीकरण सह–अस्तित्व, स्वच्छ प्रतिस्पर्धा हो । लोकतन्त्रमा शासनाधिकार केवल जनताको हुन्छ। यो कुरा शासनसत्तामा मात्र हैन, राजनीतिक दलमा पनि लागु हुन्छ।

तर, नेपालको राजनीतिक वृत्त र शासन सत्तामा हेर्ने हो भने यो मर्म र भावना अनुसार दलका नेताहरु चलेको देखिदैन । मुखले लोकतन्त्रका कुरा गरेपनि ब्यवहारमा भने कुर्सी छोड्नै नसक्ने ‘राजा प्रवृत्ति’ नेपालका राजनेताहरुमा देखिएको छ । ‘जसको विचार, उसको नेतृत्व’ भन्दै पदमा वसिरहने र नयाँ पुस्तालाई अवसरै नदिने प्रचन नेपाली राजनीतिमा नौलो होईन। 

नेतृत्वको कुरा गर्दा अहिलेको जल्दोवल्दो पार्टी नेकपा माओवादी केन्द्रको नाम सवैभन्दा अगाडि आउँछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवाहरू राजनीतिक नेतृत्वमा आए आफू राजनीतिबाट बिदा लिने बताउँन थालेको धेरै भयो । तर, ३० वर्षभन्दा वढि समयदेखि लगातार उनी नै नेतृत्वमा छन् ।

सेक्टर काण्डपछि ०४६ भदौमा तत्कालीन नेकपा (मशाल) का महामन्त्री मोहन वैद्य (किरण) ले सुम्पेयता दाहालले नेतृत्व छोडेका छैनन् । पार्टीको नाम पटकपटक फेरियो, तर पार्टी हाँक्ने जिम्मेवारी दाहालकै काँधमा छ।

दाहालले नेतृत्व गरेको नेकपा (मशाल), नेकपा (एकता केन्द्र), नेकपा (माओवादी), एकीकृत (माओवादी), माओवादी केन्द्र, नेकपा हुँदै फेरी माओवादी केन्द्र बनेको छ। दाहालले एकल अध्यक्षदेखि सामूहिक नेतृत्वसम्म गरिरहेका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर वनेको नेकपामा उनले केपी शर्मा ओलीसँग सामूहिक नेतृत्वको अभ्यास गरे । नेकपाको एकता महाधिवेशनबाट एकल नेतृत्व गर्ने योजना वनाउँदै गर्दा अदालतले दुई पार्टीलाई ब्युताई दिएपछि उनको त्यो सपना भने पुरा भएन ।

प्रचण्डको राजनीतिक कार्यक्रमले निरन्तर नेतृत्वमा राखेको उनी निकट नेताहरुको तर्क छ, तर यही कारण मात्र उनी नेतृत्वमा रहेको पुष्टि हुँदैन । प्रचण्ड निरन्तर नेतृत्वमा रहिरहनुको पछाडि टुटफुट र एकता प्रमुख कारण देखिन्छ । प्रचण्ड नेतृत्व आएपछि नेकपा (मशाल), सर्वहारा श्रमिक संगठन, नेकपा (चौम) लगायत दलहरूबीच एकता हुँदा ११ जना त महामन्त्री भए । तर, पार्टी प्रमुखमा भने अहिले पनि प्रचण्ड नै निर्विकल्प छन् ।

शान्ति प्रक्रियामा आएपछि माओवादी पार्टी १० पटकभन्दा बढी फुट्यो । एकता पनि भएका छन् । ६ जेठ २०७३ मा १० समूह मिलेर बनेको माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड बने । ३ जेठ २०७५ मा एमालेसँग एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा पनि उनी अध्यक्ष रहे । २३ फागुन २०७७ मा नेकपा खारेज भएर पुनर्स्थापित भएको माओवादी केन्द्रमा प्रचण्ड नै अध्यक्ष रहे । अहिले पनि दाहाल नेतृत्व छोड्न तयार छैनन्।

‘मलाई छिटोभन्दा छिटो राजनीतिबाट बिदा लिएर संस्मरण लेख्न मन छ । तर, युवाहरू तयार नहुँदासम्म मैले छुट पाउने देखेको छैन,’ प्रचण्ड भन्छन्–‘छिटै तपाईंहरूले नेतृत्व लिनुपर्छ । हामी छिट्टै युवालाई नेतृत्वमा स्थापित गराउँछौँ । त्यो भनेको भोलि नै चाहिँ होइन ।’  

उनको यो भनाईले पनि के देखाउँछ भने प्रचण्ड अहिले पनि पार्टीको नेतृत्व छोड्ने सोचमा छैनन् । उनको भनाईले ‘दिए जस्तो गर्ने तर समाउन लाग्दा तान्ने’ प्रवृत्ति देखिएको माओवादीकै नेता/कार्यकर्ताहरु वताउँछन् ।

प्रचण्डले भनेजस्तो उनको पार्टीमा नेता उत्पादन नभएकै चाही होईन । डा. वावुराम भट्टराई, मोहन वैद्य ‘किरण’, नेत्र विक्रम चन्द ‘विप्लव’ जस्ता नेता उनकै पार्टीमा थिए । तर, जसको नीति उही नेता बन्ने भने सोचका कारण उनीहरुलाई प्रचण्डले अघि आउन दिएनन् । जसका कारण उनीहरुले पार्टी नै छोड्नु पर्ने अवस्था आयो ।

तर, पछिल्लो समय भने माओवादी केन्द्रमा ३/४ जना नेतालाई प्रचण्डको उत्तराधिकारीको रुपमा हेर्न थालिएको छ। अर्थमन्त्रीसमेत रहेका पार्टीको संगठन विभाग प्रमुख जनार्दन शर्मा, अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुन, प्रचण्डपछिको वरीयतामा रहेका स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठ, प्रवक्ता कृष्णबहादुर महरालगायतका नेता माओवादीमा नेतृत्वको दावेदार हुन । तर, प्रचण्डले श्रेष्ठलाई खासै विस्वास गर्दैनन्। सोही कारण उनीवाट प्रवक्ता जिम्मेवारी समेत खोसेर महरालाई दिईएको नेताहरुको वुझाई छ। कतिपय अवस्थामा त दुई नेताको स्वार्थ वाझिदा दाहाल र श्रेष्ठका विचमा वोलचालै वन्दको अवस्था समेत आउने गरेको छ। त्यसैले उनलाई उत्तराधिकारीको रुगाडि वढाउने कुरा असम्भव छ।

कार्य विभाजनका हिसावमा माओवादी केन्द्रमा दुई नेता, वर्षमान, जनार्दन र पम्फा भुसाललाई नेतृत्वमा स्थापित गराउने प्रयास थालिएको विश्लेषकहरु वताउँछन् । तत्कालीन नेकपामा जनार्दन निकै सक्रिय थिए। नेकपा गठनपछि वर्षमानले अर्का अध्यक्ष केपी शर्मा ओलीसँग निकटता बढाएको आरोप थियो। ओली सरकारमा उनी उर्जामन्त्री थिए। त्यतिबेलै उनी प्रचण्डलाई छोडेर ओलीतिर गएको चर्चा थियो। तर, ओलीले गएको पुस ५ मा पहिलो पटक प्रतिनिधि सभा विघटन गरेपछि वर्षमान पनि मन्त्री पदबाट राजीनामा दिएर सडक संघर्षमा उत्रिए।

माओवादी केन्द्र ब्युँतिएपछि पार्टीमा फेरि वर्षमानको पल्ला भारी हुन थालेको नेताहरु बताउँछन्। केहीले भने वर्षमानले नेकपामा खेलेको भूमिकाका कारण अहिले उनलाई थन्काउन कम महत्वको जिम्मेवारी दिइएको पनि बताउँछन्।

प्रचण्डपछिको नेता नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा नै हुन । तर, उनीहरु विकल्प बन्न नसके जनार्दन, वर्षमान र महिलामा पम्फा भुसाल नै तयार हुने एक नेताको भनाई छ।

को हुन वर्षमान पुन

५० वर्षिय वर्षमान दुई पटक सांसद र तीन पटक मन्त्री भएका छन् । ०२८ जेठ १८ मा रोल्पा नगरपालिका–७, माडिचौरमा जन्मिएका थिए उनी। उनी माओवादी प्रवक्ता तथा तत्कालीन शिक्षक कृष्णबहादुर महराका विद्यार्थी पनि हुन्। वर्षमान १४ वर्षकै उमेरमा वामपन्थी विद्यार्थी राजनीतिमा जोडिए।

माओवादीले सशस्त्र संघर्षमा जाने निर्णय गरेपछि उनी पनि भूमिगत भए। ’जनयुद्ध’कै क्रममा २०५३ सालमा रोल्पा जिल्ला सेक्रेटरी भएका उनी २०५५ सालमा केन्द्रीय सदस्य भएपछि सैन्य र राजनीतिक नेतृत्वमा अगाडि आए ।

त्यसलगत्तै सैन्य फाँटतर्फ पूर्वी क्षेत्रको कमाण्डर भए। उनी २०५७ सालमा माओवादीको वैकल्पिक पोलिटब्यूरो सदस्य भए। त्यसको दुई वर्षपछि २०५९ सालमा पोलिटब्यूरो सदस्य र सैन्य क्षेत्रमा डेपुटी कमाण्डर भए।

०६४ सालमा पहिलो संविधानसभामा निर्वाचित भएपछि २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा शान्ति तथा पुनर्निर्माण मन्त्री भए। अर्को वर्ष बाबुराम भट्टराई नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारीमा रहे । 

दोस्रो संविधानसभा निर्वाचनमा पूर्वको मोरङमा उम्मेदवार बने। तर, त्यहाँ पराजित भएपछि झण्डै चार वर्ष सत्ताबाहिरै रहे। तर, २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा भने उनी आफ्नो गृहजिल्ला रोल्पा नै फर्किए र विजयी भए। एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा भएपछि उनको भूमिका केही खुम्चिएको थियो। तर, माओवादी केन्द्र फेरि अस्तित्वमा आएसँगै उनले फेरी प्रभाव देखाउन थालेका छन् ।

उनी लामो समयदेखि पार्टीको निर्णायक तहमा छन्। माओवादी केन्द्रले चुनावी तालमेल गर्दा होस् वा पार्टी एकताको निर्णय गर्दा, प्रचण्डलाई नजिकबाट सघाउनेमध्ये उनी पनि थिए। उनको राजनीतिक चातुर्य र व्यवस्थापन आश्चर्यलाग्दो भएको तत्कालीन नेकपा तथा अहिले एमालेका एक नेता बताउँछन्।

हुन त उनीमाथि पारिवारिक मोह देखाएको आरोप पनि छ। वर्षमान र श्रीमती ओनसरी घर्ती आलोपालो शक्तिमा रहने गरेका छन्। ओनसरी पूर्वसभामुख हुन्। माओवादीकै कतिपय नेताहरु उनको राजनीतिक र व्यक्तिगत जीवन पनि पारदर्शी नभएको टिप्पणी गर्छन्। तर, वर्षमाननिकट नेताहरु भने उनको प्रगति हेर्न नचाहनेहरुले आरोप लगाएको टिप्पणी गर्छन्।

जनार्दन शर्माः १४ वर्षमै भुमिगत पार्टीको सदस्यता
२०२० मा रुकुमको सेरीगाउँमा जन्मिएका शर्मा तीनपटक मन्त्री र अन्य थुप्रै जिम्मेवारीमा रहिसकेका छन् । जनमुक्ति सेना नेपालका चारजना डेपुटी कमाण्डरमध्ये एक जनार्दन शर्मा प्रभाकर पनि हुन। २०४८ सालमा जनमोर्चा नेपालको तर्फबाट सांसद उठेका जनार्दन संविधानसभामा रुकुमको सोही २ नं क्षेत्रबाट संविधान सभामा विजयी भएका हुन । 

शर्माका बाबु स्कन्द शर्मा रुकुममा कम्युनिष्ट पार्टीलाई संस्थागत गर्नेमध्येका एक हुन। राजनीतिक परिवारमा हुर्केका शर्मा २०३४ सालदेखि नै राजनीतिमा लागेका हुन । १४ वर्षको हुँदा २०३४ मा तत्कालीन कम्युनिस्ट पार्टी चौमको सदस्यता लिएका उनी २०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रुकुम जिल्ला सदस्य भएका थिए ।

जनयुद्धको समयमा कहिले सेना कहिले सङ्गठन गर्दै धेरै समय सेती महाकालीतिर बिताएका छन् । प्लाटुन, बटालियन कमिसार हुदै डिभिजन कमाण्डर ७ वटा डिभिजन भएपछि प्रभाकर डेपुटी कमाण्डर भए। 

उनकी श्रीमती लक्ष्मी पौडेल पनि माओवादीकी राज्यसमितिकी सदस्य हुन । शिक्षा शास्त्रमा स्नातक तहसम्म अध्ययन गरेका शर्मा धेरै वर्षसम्म माओवादीको सेती महाकालीको इन्चार्ज भएर सुदूर पश्चिममा काम गरेका थिए । 

नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्ड