समाचार राजनीति

रास्ट्रपति हुनुपर्ने मान्छे मुख्यमन्त्रीमा थन्किनुपर्दा अष्टलक्ष्मीको मन अमिलो !

रास्ट्रपति हुनुपर्ने मान्छे मुख्यमन्त्रीमा थन्किनुपर्दा अष्टलक्ष्मीको मन अमिलो !

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य २ भदौमा नेपालको पहिलो महिला मुख्यमन्त्री बनिन्। मुख्यमन्त्री डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री दुवै पदबाट राजीनामा दिएपछि पौडेलकै प्रस्तावमा शाक्यलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरियो।

त्यसपछि प्रदेश प्रमुख विष्णु प्रसाईंले संविधानको धारा १६८(१) अनुसार शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त गरे। शाक्य तीन वर्ष अघि नै मुख्यमन्त्री वन्ने लाईनमा थिईन, तर राष्ट्रपति विद्यादेवी भण्डारीसँगको टसलका कारण उनले त्यसवेला त्यो मौका गुमाईन।

पार्टी अध्यक्ष केपी शर्मा ओली सकारात्मक हुँदाहुँदै पनि राष्ट्रपतिसँगको मनमुटावका कारण संसदीय दलको नेतामा उनी विरुद्ध निकै जुनियर हेटौँडा नगरपालिकाका पूर्वमेयर डोरमणि पौडेललाई खडा गरियो । रातारात शीतलनिवास सक्रिय भएपछि शाक्य दलको नेतामा पराजित भईन । त्यसपछि उनको मुख्यमन्त्री वन्ने सपना तुहियो।

नेकपा विभाजनपछि माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेकै माधवकुमार नेपाल समूहले डोरमणी पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री वनाउने प्रयास गर्यो । १० पुसमा अविश्वासको प्रस्ताव दर्ता गराउँदै भावी मुख्यमन्त्रीको रुपमा नेतृ शाक्यलाई अघि सारियो। तर, अविश्वासको प्रस्ताव सेलाएर अन्ततः नेकपा एमालेका अध्यक्ष ओली र नेता नेपालको संयुक्त उम्मेदवारका रुपमा उनी मुख्यमन्त्री वन्न सफल भईन्। योसँगै शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री वनेकी छिन् ।

शाक्यको राजनीतिक यात्रा
पदिय हिसावमा हेर्ने हो भने भण्डारी १२ कात्तिक ०७२ मै देशको अभिभावक (राष्ट्रपति) वनिन्। शाक्य भने लामो संघर्षपछि मात्रै प्रदेशको मुख्यमन्त्री हुन सफल भएकी हुन । तर, राजनीतिक रुपमा हेर्ने हो भने शाक्य भण्डारी भन्दा निकै सिनियर नेता हुन । भण्डारी विद्यार्थी राजनीतिमा प्रवेश गर्दा शाक्य उदयमान नेताको रुपमा सकृय थिईन । तत्कालीन मालेसँग सम्पर्क भएपछि ०३६ सालमै उनी पूर्णकालीन कार्यकर्ता बनेर भूमिगत भइन् । उनको पार्टी जिम्मेवारी भने झापामा थियो ।

शाक्य ०१० सालमा काठमाडौंको नेवार परिवारमा जन्मेकी हुन् । उनी स्वयम्का अनुसार दशैंको अष्टमीको दिन जन्मेकाले उनको नाम अष्टलक्ष्मी राखिएको हो। ०२९ सालमा एसएलसी पास गरेकी हुन । ०३६ मा पूर्णकालीन राजनीतिमा लागेपछि भूमिगत भईन। ०३७ सालमा पार्टीकै नेता अमृतकुमार बोहोरासँग उनको विवाह भयो । पञ्चायतकालमा झण्डै ११ वर्षसम्म भूमिगत जीवन बिताएकी शाक्य ०४५ सालमा इलामका पक्राउ परिन् ।

शाक्य अखिल नेपाल महिला संघको अध्यक्ष समेत भइन् । उनी निरन्तर रुपमा पार्टीमा सक्रिय महिला नेतृ मध्येमा पर्छिन् । शाक्य ०५६ साल र ०७१ सालमा भएको संविधानसभा चुनावमा सांसदमा निर्वाचित भएकी थिइन् । यसअघि दुईपटक मन्त्री (उद्योगमन्त्री र महिला बालबालिका तथा समाजकल्याण मन्त्री) भइसकेकी शाक्य गत ०७४ सालमा भएको प्रदेश सभामा काठमाडौ निर्वाचन क्षेत्र ८ (ख) बाट निर्वाचित भएकी थिइन् । उनी अहिले नेकपा एमालेको उपाध्यक्ष छिन् ।

मदन भण्डारीको निधनपछि विद्याको उदय
विद्या भण्डारी भने विद्यार्थी राजनीतिवाट अगाडि आएकी हुन । ०३५ सालमा भोजपुरमा तत्कालीन माले युवा लिगबाट राजनीति थालेकी भण्डारी ०३७ मा तत्कालीन माले पार्टी सदस्य भइन् । ०३९ मा महेन्द्र मोरङ क्याम्पसमा स्ववियु कोषाध्यक्ष भएकी उनी त्यही वर्ष नेता मदन भण्डारीसँग विवाह गरेपछि सक्रिय राजनीतिबाट टाढिईन । 

शाक्य र भण्डारीको सम्वन्ध
भण्डारीसँग शाक्यको पहिलो भेट ०४१ सालमा विराटनगरमा भएको थियो । त्यतिबेला महिला नेतृका रूपमा विद्या भण्डारीलगायतको अगुवाइमा भएको विद्यार्थी भेलामा सहभागी हुन शाक्य विराटनगर पुगेकी थिइन् । शाक्य अनेमसंघको मेची अञ्चल इन्चार्ज थिइन् । सोही क्रममा उनीहरुको चिनजान र पार्टी संगठनका विषयमा छलफल भएको थियो ।

बहुदल आएपछि भूमिगत सबै नेताहरू खुला भए, तर, महिलाहरु भने घरगृहस्थीमा सिमित भए । विद्या भण्डारी पनि तिनै मध्यमा परिन । तत्कालीन मालेमा शाक्यलगायत केही नेतृ मात्र सक्रिय थिए । उनी त्यतिबेला अखिल नेपाल महिला (अनेम) संघको अध्यक्ष भइसकेकी थिइन् । पार्टी नेताहरूले पनि आफ्ना पत्नीहरूलाई घरधन्दामै सीमित गर्न थालेको विषयमा शाक्यले असन्तुष्टि जनाइन् । 

शाक्यको पहलकै कारण मदन भण्डारीले विद्यालाई अनेमसंघमा पठाएको जनाईन्छ। ०४६ मा भएको अनेमसंघको कीर्तिपुर सम्मेलनमा भण्डारी मोरङबाट प्रतिनिधि थिईन । पार्टी राजनीतिको मूलप्रवाहमा भने विद्या भण्डारी अझै पनि सकृय थिईनन्।

तर, ३ जेठ २०५० मा दासढुंगा दुर्घटनामा पति मदन भण्डारीको निधनपछि भने भण्डारी पुनः सकृय राजनीतिमा फकिईन। लगत्तै भएको उपनिर्वाचनमा एमालेका तर्फवाट उम्मेदवार बनेकी विद्याले कांग्रेसका तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरिन। भण्डारीलाई काठमाडौं १ वाट जिताउन खटेका नेता÷कार्यकर्ता मध्ये शाक्य पनि एक थिइन् । रैथाने भएका कारण विद्यालाई जिताउन शाक्यको महत्वपुर्ण भुमिका थियो । 

यतिमात्र होईन, विद्यालाई उपचुनाव जिताउन एमालेका तर्फबाट धेरै प्रोपोगाण्डा गरिए। विद्युवाले लगाउने सेतो सारीमा पनि रातो रङ्ग छर्केको भनेर कांग्रेसलाई दोस लगाउने हर्तकसम्म भए । काठमाडौं महानगरका पूर्व मेयर केशव स्थापितका अनुसार राजधानीका प्रवुद्व मतदाताको अघि उनलाई मदन भण्डारीकी विधुवा भनेर मात्र जिताउन सक्ने अवस्था थिएन । त्यसैले स्थापितकै उपाय अनुसार शुरुमा व्यवशायीक फोटोग्राफर लगेर ‘फोटो सुट’ गरियो। सेतो सारीमा घुम्टो ओडेको तस्वीरलाई ‘जनता की छोरी’ का रुपमा ब्राण्डिङ गरे । ‘वीस/वीस’ साइजको पोष्टर डिजाइन गरी आफ्नै प्रेसमा छापे र क्षेत्र नम्वर १ का मुख्य चोक चोकमा टा“स्ने प्रवन्ध मिलाए । 

त्यसपछि केही मानिस परिचालन गरी ति पोष्टरमा गोवर, कालो मसी र रातो रंग छ्याप्न लगाईयो। अनि ‘एउटा विधुवाको पोष्टरमा गोवर लगाउने, कालो र रातो रंग छ्याप्ने ?’ भन्दै प्रचार गरियो। त्यही प्रचारका आधारमा ‘कांग्रेसीले विद्याको सारीमा रातो रंग छरे’ भन्दै मिडियाले समाचार बनाए । एउटा सभामा विद्याले भनेकी थिइन ‘मलाई विधुवा भनेर हेप्नेहरुलाई म भन्न चाहन्छु, मेरो यो सेतो सारी कात्रो हो । अव म मैदानमा आए ।’ नभन्दै उनले चुनाव जितिन। यो कुरा स्थापित स्वयम्ले नेपाल आजसँगको कुराकानीमा वताएका हुन ।

०५१ सालमा भएको मध्यावधि निर्वाचनमा पनि उनले सजिलै जितिन् । 

यसरी सुरु भयो तिक्ततापुर्ण सम्वन्ध र अस्वस्थ प्रतिस्पर्धा
नेकपा एमालेको आठौं महाधिवेशनअघि पार्टीमा पदिय हिसावले भण्डारी भन्दा शाक्य सिनियर नेता थिईन । संयोगले यी दुवै जल्दावल्दा नेता ०६५ को आठौँ र ०७१ को नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भए । यसअघि शाक्य ०४९ माघमा सम्पन्न पाचौँ महाधिवेशनवाट केन्द्रीय सदस्य भएकी थिईन भने भण्डारी भने ०५४ को छैटौँ महाधिवेशनयता पार्टी नेतृत्वमा पुगेकी हुन।

भण्डारी र शाक्यबीच मनमुटावको मुहान भने ०५५ पुसमा विराटनगरमा भएको अनेमसंघको चौथो अधिवेशनलाई लिने गरिन्छ। सोहि महाधिवेशनपछि उनीहरु एकअर्कालाई प्रतिस्पर्धी ठान्न थालेका हुन । यहिवाट सुरु भएको प्रतिस्पर्धा पार्टी राजनीतिमा दुई दशकदेखि निरन्तर चल्दै आएको छ। सतहमा सामान्य देखिए पनि भित्रभित्रै उनीहरूबीच अस्वस्थ र कटुतापूर्ण सम्बन्ध बन्न पुग्यो । जसका कारण शाक्यले मुख्यमन्त्री वन्न तीन वर्ष कुर्नु पर्यो । 

शाक्य ०४६ सालको आन्दोलनअघि नै अनेमसंघको अध्यक्ष थिईन । तत्कालीन माले र मार्क्सवादीबीच पार्टी एकतापछि महिला नेतृ सहाना प्रधान अध्यक्ष र शाक्य सचिवमा झरिन। ०५४ फागुनमा एमाले विभाजन भयो। प्रधान मालेतर्फ लागेपछि शाक्य फेरी अध्यक्ष बन्न चाहन्थिन् । तर, शाक्यका अगाडि भण्डारी मुख्य प्रतिस्पर्धी बनेर उदाइन् । भण्डारीलाई अध्यक्ष वनाउन गलत राजनीतिक संस्कार सुरु गरिएको भन्दै शाक्य नेतृत्व प्रतिस्पर्धाबाट बीचैमा बाहिरिएपछि भण्डारी निर्विरोध अध्यक्ष भइन् ।

भण्डारी अध्यक्ष भएपछि उनीहरूबीच कहिल्यै राम्रो सम्बन्ध बनेन । चौथो अधिवेशनदेखि बिग्रेको दुई नेतृको सम्बन्ध अहिलेसम्म उस्तै छ । भण्डारी ०६२ र ०६९ मा पनि अध्यक्ष दोहोरिइन् । राष्ट्रपति निर्वाचित हुनुअघिसम्म भण्डारी अनेमसंघको अध्यक्ष थिइन् । 

संघमा शाक्यलाई बोलाउन छाडियो । बोलाए पनि आफूमाथि अपमानजनक व्यवहार भएको उनी वताउँछिन् । भण्डारीले अनेमसंघलाई एकलौटी रूपमा सञ्चालन गरेको शाक्यको आरोप छ ।

०७४ को प्रदेशसभा निर्वाचनसम्म आइपुग्दा उनीहरूको खराब सम्बन्धका कारण शाक्य मुख्यमन्त्रीको दौडवाटै आउट हुनु परेको थियो । मुखैमा आएको मुख्यमन्त्रीबाट वञ्चित गरिएपछि नेतृ शाक्य राष्ट्रपति भण्डारीसित क्रुद्ध भईन । 

त्यसको रिस उनले २९ फागुन ०७४ को राष्ट्रपति निर्वाचनमा फेर्न खोजिन् । राष्ट्रपति भण्डारीलाई दोहोरिन नदिन उनले ‘एउटै व्यक्तिलाई दोहोर्याउन नहुने’ तर्क गर्दै वरिष्ठ नेता झलनाथ खनाललाई उम्मेदवार प्रस्ताव गरेकी थिइन् । २२ फागुन २०७४ को पार्टी  स्थायी कमिटी बैठकमा शाक्यले राखेको यो प्रश्ताव निर्णयमा पुग्न सकेन । आफूविरुद्ध पार्टीमा बनेको नकारात्मक माहौल रातारात उल्ट्याएर भण्डारी राष्ट्रपतिमा दोहोरिइन् । 

राष्ट्रपति भइसकेपछि पनि शाक्यले उनलाई आलोचनाको तारो बनाइरहेकी छन् । मदन भण्डारीको श्रीमती र ओलीसँगको राम्रो सम्वन्धका कारण मात्रै विद्या रास्ट्रपति भएको उनको बुझाई छ।

भण्डारीले भने शाक्यसँग राजनीतिक संघर्षको लामो अनुभव भए पनि अरु नेतृको प्रगति देख्न नसक्ने कुण्ठा रहेको आन्तरिक छलफलमा वताउने गरेकी छिन् । उनमा पुराना मनमुटाव र असन्तुष्टिहरूले काम गरेको भण्डारीनिकटको बुझाइ छ ।

चार दशकसम्म एउटै पार्टीको झण्डामुनी राजनीति गरेका भण्डारी र शाक्यको सम्वन्ध सुरुवाती चरणमा हार्दिकतापूर्ण नै थियो । तर, पछिल्लो समय अनेक उतारचढाव पार गर्दै कटुतापूर्ण स्थितिमा आइपुगेको छ। चार दशकको राजनीतिक यात्रामा उनीहरुको सम्वन्धमा हार्दिकता र सौहाद्र्रता कम र मनमुटाव वढि देखिएको नेताहरु वताउँछन्। 

नेकपा एमाले अष्टलक्ष्मी शाक्य विद्यादेवी भण्डारी अस्वस्थ प्रतिस्पर्धा तिक्ततापुर्ण सम्वन्ध