समाचार राजनीति

एमाले कार्यदलले आज पनि सहमति जुटाउन सकेन, स्थायी कमिटी वैठक स्थगित

एमाले कार्यदलले आज पनि सहमति जुटाउन सकेन, स्थायी कमिटी वैठक स्थगित

नेकपा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलले आज पनि सहमति जुटाउन सकेन। दिनभर छलफलमा व्यस्तरहेका कार्यदलका सदस्यका सदस्यहरुले शनिवार विहानसम्ममा शुभ समाचार सुन्न पाईने वताए पनि अन्तिम अवस्थामा आज पनि सहमति जुटाउन सकेनन् ।

सिंहदरबारस्थित अर्थमन्त्रालयमा चलिरहेको बैठक वसेको थियो । सहभागी नेताहरुका अनुसार धेरै विषय मिलेका छन् तर केही अझै बाँकी छन् । कार्यदलका सदस्यले एक सातायता सहमतिको नजिक पुगेको दाबी गर्दै आएका छन् । तर निष्कर्ष निस्कन सकेको छैन ।

हरेक दिनजस्तो मस्यौदामा हस्ताक्षर हुन मात्र वाँकी भन्दै आएका कार्यदलका नेताहरुले हिजो नै सहमतिको मस्यौदा तयार भएको जानकारी दिएका थिए ।

मस्यौदामाथि छलफल गर्न नेपाल पक्षका कार्यदल सदस्य बिहान वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका थिए । मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै नेपालले फिर्ता पठाइदिए।

अदालतलाई प्रभावित बनाउने वा हस्ताक्षर फिर्ता गर्ने दुबै सर्त आफूले नमान्ने वताउँदै आएका नेता नेपालले आज पनि सोहि विषयमा आपत्ति जनाए । 

सहमति जुटे लगत्तै स्थायी कमिटी बैठक बोलाएर दुवै पक्षले हस्ताक्षर गर्ने तयारी भएको थियो । तर, सहमति नै नजुटेपछि स्थायी कमिटीको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
 

कार्यदल स्थायी कमिटी