समाचार

ओलीलाई नेपालको घुमाउरो जवाफ – विपक्षी गठवन्धन छोडिन्न

ओलीलाई नेपालको घुमाउरो जवाफ – विपक्षी गठवन्धन छोडिन्न

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले घुमाउरो पारामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विपक्षी गठवन्धन’ नछोडने जवाफ दिएका छन् ।

गठबन्धनले वुधवार आयोजना गरेको अन्तरक्रियामा वोल्दै नेता नेपालले संविधान र गणतन्त्र खतरामा परेकाले संघर्षमा होमिएको वताउँदै आफु सहि वाटोमा भएको जिकिर गरे। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले ओली जेष्ठ २ गतेमा फर्कन तयार भए पनि कुनै पनि अवस्थामा आफूले भने मूल्य–मान्यताको राजनीति नछाड्ने दावी गरे ।

सिङ्गो व्यवस्था नै खतरातिर गइरहेको बताएका उनले देश जोगाउने अभिभारा सबैको भएकाले त्यहीअनुसार योगदान गर्न आह्वान गरे।

प्रधानमन्त्री ओलीप्रति संकेत गर्दै उनले पार्टी नेतृत्वमा सकारात्मक सोच नभएको र नकारात्मक दृष्टि मात्रै रहेको बताए। राजनीतिक परिर्वतन ल्याए पनि त्यहीअनुसारको संस्कारमा परिर्वतन हुन नसकेको उनको टिप्पणी छ।

‘देश, लोकतन्त्र, संविधान, गणतन्त्र परिवर्तन सङ्कटको अवस्थामा छ । हाम्रो व्यवस्था नै खतरातर्फ गइरहेको छ । कतिपय अभिव्यक्ति र गतिविधि हेर्दा त्यसले राम्रो सन्देश, राम्रो सङ्केत दिइराखेको छैन’ उनले भने–‘यसर्थ हाम्रो काँधमा निकै ठूलो जिम्मेवारी छ ।’

‘जेसुकै भए पनि म मूल्यको राजनीति नत्याग्ने भन्न चाहन्छु । विचार, सिद्धान्त, मूल्य र मान्यता । मान्यताका निम्ति जुन देशसँग जोडिएको होस्, नागरिकसँग जोडिएको होस् । समाजको परिवर्तनसँग जोडिएको होस् । यी मान्यता छोडिँदैन’ उनले थपे।

माधवकुमार नेपाल केपी शर्मा ओली विपक्षी गठवन्धन