समाचार कभर स्टोरी

प्रत्येक वर्ष बाढी र पहिरोको मारमा सिन्धुपाल्चोक

प्रत्येक वर्ष बाढी र पहिरोको मारमा सिन्धुपाल्चोक

मंगलबार साँझ मेलम्ची नदीमा आएको भीषण बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रबाट कैयौँ मानिसहरू विस्थापित भएको र सातजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले मेलम्ची नदीमा मङ्गलवार साँझबाट आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा जनधनको क्षति पुर्याएको बताए ।

खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित भएको उनले बताए ।


पछिल्लो समयमा हेलम्बु र मेलम्चीमा पानीको सतह बढेको भन्दै मानिसहरूलाई सुरक्षित क्षेत्रमा जान आह्वान गरिएको स्थानीय प्रशासनले जनाएको छ ।


सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी पोखरेलले अहिलेसम्मको विश्लेषणले हेलम्बुमा बढी क्षति पुगेको आङ्कलन गरिएको बताए ।


उनले भने, ‘रातिनै मानिसहरू बाढीबाट बाँच्न विभिन्न सुरक्षित स्थलतर्फ जाने क्रम रहेको र ती मध्ये कतिपय मानिसहरू बिहानीसम्म सम्पर्कमा आइसकेको अवस्था छ । अहिलेसम्म सात जनाले ज्यान गुमाएका छन् र चारवटा पुल अनि केही झेलुङ्गे पुलमा झति पुगेको छ ।’

सिन्धुपाल्चोक प्रहरीका प्रवक्ता डीएसपी प्रकाश सापकोटाका अनुसार हेलम्बु र मेलम्चीमा क्षतिको विवरण सङ्कलन भइरहेको छ ।


उनले भने, ‘हामी स्थानीय पालिकाहरूसँग समन्वय गरेर आँकडाहरू सङ्कलन गर्दैछौँ ।’


उनले बाढीले घरहरूलाई क्षति पुर्याएको भएपनि त्यसको विस्तृत विवरण आइनसकेको बताए । अझै पनि पानीको सतह उच्च नै रहेको र लेदो सहितको बाढीको अवस्था रहेको प्रहरीको भनाइ छ । स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले बाढीले भीषण क्षति प्रत्येक वर्ष बाढी र पहिरोको मारमा सिन्धुपाल्चोक र आफूले बुधवार त्यसक्षेत्रको निरीक्षण गर्ने बताएका छन् । उनले बाढी पीडितहरूलाई सहयोग गर्न अनुरोध गर्दै क्षति भएका बस्तीहरूमा तुरुन्तै पाल र खाद्यान्न पुर्याउने बताए ।


जिल्लामा बाढी र पहिरोको शृङ्खला नयाँ घटना होइन ।

२०७१ साउन १७ को मध्यरातमा पहाड खसेर सुनकोसी नदी थुनिएको जुरे पहिरोको घटनादेखि आठ वर्षको अवधीमा शृङ्खलाबद्ध रूपमा पहिरोको मारमा स्थानीय पर्ने गरेका छन् । हरेक वर्ष मानवीय क्षति र असंख्य आर्थिक क्षतिको मारमा सिन्धुपाल्चोक पर्दै आएको छ । जुरे पहिरोले तीन सय १७ जनाको एकै चिहान बनाएको थियो । जुरेबाट विस्थापित भएका केही परिवार अझै घरबारविहीन छन् । राज्यको बेवास्तामा परेका उनीहरूको सर्वस्व पहिरोमा परेकाले अझै घरबारविहीन बन्नु परेको हो ।

७१ सालपछि भोटेकोसी किनार र आसपासका बस्तीमा वर्षेनी साना–ठूला पहिरोले जनधनको क्षति पुर्याउने गरेको छ । नेपाल–चीन सीमाको तातोपानीदेखि खाडीचौरसम्मको क्षेत्र बाढी र पहिरोको जोखिममा देखिन्छ । पछिल्लो केही वर्षका घटनालाई हेर्दा भोटेकोसी र सुनकोसी करिडोर बाढी पहिरोको उच्च जोखिममा रहे पनि उक्त क्षेत्रलाई सुरक्षित बनाउने या जोखिमयुक्त क्षेत्रका बस्ती स्थानान्तरण गर्ने सरकारको कुनै योजना देखिदैन ।

बाढी र पहिरोको जोखिम रहेको क्षेत्र पहिचान गरी ती क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण नगरेसम्म यस्ता समस्या निरन्तर दोहोरिरहने भोटेकोसी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल बताउँछन् ।


२०७१ सालयता बाढी र पहिरोका कारण जनधनको क्षति व्यहोर्दै आएको सिन्धुपाल्चोकलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।


२०७२ सालको गोरखा भूकम्पको बेलामा पनि सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमै भएको थियो । तर विपद् प्रतिकार्यको काम प्रभावकारी नहुँदा सिन्धुपाल्चोकवासीले बर्सेनि ठूलो क्षति भोग्दै आएका छन् ।


२०७७ साउन १९ गते सिन्धुपाल्चोकको मेलम्चि बजारमा पहिरोले पुरिएर १० जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङ बाढी र पहिरोको जोखिमबाट जनधनको क्षति कम गराउन नसक्नु राज्य र नागरिक दुवै दोषी रहेको तर्क गर्छन् । २०७२ को भूकम्पपछि जिल्लाका एक सय ४० भन्दा बढी ठाउँ बसोबासको दृष्टिकोणले असुरक्षित ठहर गर्दै बस्ती स्थानान्तरणका लागि सिफारिस गरे पनि कार्यान्वयनमा आउन नसकेको उनले स्मरण गरे । तामाङ भन्छन्, ‘नागरिकले आफ्नो थलो छाड्न मानेनन् । यसैको परिणाम आज हामी पहिरोको क्षति बेहोर्न बाध्य छौं ।’

सिन्धुपाल्चोक मेलम्ची बाढी पहिरोको