समाचार पर्यटन

२२ तले धरहरा: यस्ता छन् नयाँ र पुरानो धरहराका फरक

२२ तले धरहरा: यस्ता छन् नयाँ र पुरानो धरहराका फरक

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरा सुन्दरी देवीको सम्झना स्वरुप विसं १८८२ मा धरहरा निर्माण गराएका थिए । उक्त धरहरा त्यसको १ सय ८ वर्षपछि विसं १९९० को भूकम्पले भत्कियो। त्यसपछि तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले धरहराको पुनर्निर्माण गराए । भूकम्पले ढलेको दुई वर्षमै मौलिक स्वरूपमा धरहराको पुनर्निर्माण भयो।

सोहि धरहरा पुनः ०७२ को भुकम्पले ढलेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको पहल गरे । भूकम्पपछिका चार वर्ष विवादमै रहेको धरहरा निर्माणको लागि प्रधानमन्त्री ओलीले ‘मै बनाउँछु, मेरो धरहरा’ भन्ने नारा सहितको अभियान चलाए। तर, अभियान सफल हुन नसकेपछि पुनर्निर्माण प्राविधिकरणलाई जिम्मा दिएर धरहराको पुनर्निर्माण गरिएको हो ।

हाल बनेको धरहरा पहिलाको भन्दा १० मिटर पर छ। १२ वैशाखमा भत्किएको धरहराको ठुटोलाई सिसाले छोपेर म्युजिएमको रूपमा प्रयोग गर्ने सरकारको तयारी छ ।

सरकारले पहिला र अहिलेको धरहरामा धेरै फरक पारेर निर्माण र पुनर्निर्माणको काम गरिरहेको छ। सम्पदा विज्ञ राजु मानन्धरका अनुसार पुरानो धरहरा साढे ४ रोपनी क्षेत्रफलमा फैलीएको थियो । ६३ दशमलव ८ मिटर उचाई र ६ दशमलव ८ मिटर गोलाई (ब्यास) को धरहारा चुना सुर्खि र इटाले वनेको थियो । तत्कालिन प्रविधिमा आधारित भएकाले धरहरा सुरक्षाको दृष्टिकोणले कमजोर थियो । त्यसैले १९९० र ०७२ का ठुला भुकम्प थेग्न नसकेर ढलेको उनको भनाई छ । 

पुरानो धरहरा ९ तले भएपनि घुम्दै घुम्दै एकै पटक सातौं तलामा पुग्नु पथ्र्यो। अहिले त्यसमा आमुल परिवर्तन भएको विज्ञ मानन्धर वताउँछन् । उनका अनुसार उचाई, मोटाई, प्रविधि र त्यस आसपासमा भएका संरचनागत हिसावले धेरै फरक छ।

२५ फिट गजुरसहित ८३ मिटर उचाई तथा १४ दशमलव २ मिटर मोटाई (ब्यास) भएको २२ तले धरहरा ४२ रोपनी क्षेत्रफलमा निर्माण भएको छ । अत्याधुनिक प्रविधिवाट वनेकाले अहिलेको धरहरा भुकम्प प्रतिरोधी छ । अहिले धरहराको हरेक तलामा पस्ने र निस्कने ब्यवस्था छ। भित्र दुई वटा लिफट र एउटा भ¥याङको ब्यवस्था गरिएको छ।

एक पटकमा १० जनासम्मले प्रयोग गर्न सक्ने लिफट २० तलासम्म प्रयोग गर्न सकिन्छ। २१ तलामा लिफटको मेसिन छ। २२ तलामा शिवलिङ्ग राखिएको छ । गत वैशाख ८ गते शिवलिङ्ग स्थापना गरिएको हो ।

शिवलिङ्ग र गजुर पुरानै हो । तर, पुनर्निमाण गर्नै नमिल्ने भएर गजुरको तलको तीन लेयर नयाँ थपिएको छ भने वाँकी चै पुरानै राखिएको छ। काम नलाग्ने अवस्थामा रहेको भागलाई संग्रहालयमा राख्ने तयारी छ।

धरहराको वाहिरी आवरण पुरानै देखिन्छ। झ्यालहरु पहिलाकै जस्तो एउटा तलामा एउटा– एउटा नै राखिएको छ भने रङ्ग पनि सेतो नै प्रयोग गरिएको छ । मानन्धर भन्छन्–‘लुक चै भिमसेन स्तम्भ जस्तै छ।’ 

अहिले दुईटा वेसमेन्ट थपिएको छ। त्यो भाडामा दिने स्पेस हो। त्यसमा नेपालमा उत्पादित मौलिक वस्तुहरु विक्रि वितरण गरिने छ। तीन तला अन्डरग्राउण्ड पार्किङ्ग छ। जहाँ ३४७ वटा गाडि र ७ सयभन्दा वढि मोटरसाईकल अट्ने ठाउँ छ। धरहरा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक तथा न्युरोड र खिचापोरी क्षेत्रको ट्राफिक समस्यालाई समाधान गर्न यो पार्किङ्गले मद्दत गर्ने विश्वास गरिएको छ ।

धरहरालाई रमणीय वनाईने छ। जसमा अगाडि एउटा पेविलियन छ। त्यसको विचमा एउटा म्युजिकल वाटर फाउन्टेन छ। मिन्ट संग्रहालय र भुकम्प संग्रहालयको पनि विल्डिङ्ग वन्दै गरेको मानन्धरले वताए । त्यो आधुनिक संग्रहालय हुने छ। 

‘विगुल फुक्ने परम्परालाई हामीले निरन्तरता दिएका छौं’ उनी भन्छन्–‘पहिला विगुल फुक्नका लागि धरहरा वनाईएको भन्ने छ, होकी होईन थाहा छैन । तर हामीले त्यसलाई निरन्तरता दिएका छौं ।’ पहिला सेनालाई एकिकृत गर्न विगुल फुकिन्थ्यो भन्ने सुन्नमा आएपनि अहिले चै परम्परा धान्न मात्रै विगुल फुक्ने गरिएको उनले जानकारी दिए ।

यो पनि

निर्माण सम्पन्न नभई त्रिपालले लाज छोपेर धरहरा उद्घाटन, अझै काम वाँकी