समाचार

निषेधाज्ञाले गरिबको बेहाल, मागेर खानेहरु भन्छन्– गाउँमा ढोका पनि खोल्दैन, कसरी वाँच्ने ?

निषेधाज्ञाले गरिबको बेहाल, मागेर खानेहरु भन्छन्– गाउँमा ढोका पनि खोल्दैन, कसरी वाँच्ने ?

वीरेन्द्र रमण
जनकपुर–
भौगोलिक रुपमा सुगम र आठ वटै जिल्लालाई पूर्वपश्चिम राजमार्गले छोएपनि प्रदेश–२ शिक्षा र स्वास्थ्यको सुचकांकमा अन्य प्रदेशको तुलनामा धेरै पछि छ। गरिबीका कारण पनि यो प्रदेश समस्याग्रस्त छ। दैनिक रुपमा ज्याला मजुदुरी गरेर जिविको पार्जन गर्नेको संख्या प्रदेश २ मा धेरै छ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएपछि एक पछि अर्को गर्दै जिल्ला जिल्लामा निशेधाज्ञा जारी हुँदा त्यस्ता गरिब र बिपन्न परिबारको रोजगारी खोसिएको । आयश्रोत नै हराएपछि उनीहरुको मुखमा माड लाग्ने अबस्था छैन । दैनिक उपभोग्य सामग्रीको मुल्य पनि आकासिएका कारण उनीहरु दोहरो मारमा छन् । संघदेखि स्थानीय तहसम्मले उनीहरुको विषयमा सोच्न सकेको छैन ।

तीनै तहका सरकारले विपन्नका लागि अहिले राहतको कार्यक्रम ल्याएका छैनन् । जसका कारण अहिले गरिब र विपन्न समुदायहरुको बेहाल छ । कोरोना संक्रमणको कारणले स्थानिय प्रशासनले निषेधाज्ञा थपिरहे पनि बजार नियन्त्रण गर्ने विषयमा ध्यान नदिदा उपभोक्ता मारमा परिरहेका छन् । त्यसमाथि पनि निम्न आयश्रोत भएकाहरुको अवस्था दयनिय भएको नागरिक समाजका अगुवाहरुको भनाई छ ।

महोत्तरीको पिपरा गाँउपालिकाको सहोरबामा ५० बर्षिय लटा सदाको घर छ । सम्पत्तिको नाममा ६ धुर जग्गा मात्र रहेकोे यस परिबारमा चरम गरिबी छ । लकडाउनका कारण खेतमा मजदुरी समेत नपाएपछि  ९ जनाको परिबारलाई हातमुख जोडन समस्या छ  । कोरोना संक्रमणका कारण कामका लागि निस्कन नपाएको र निस्किहाले पनि प्रहरीले बाटोमा रोकेर हैरानी गर्ने गरेको उनी वताउँछन् । ‘जुन दिन काम पाईदैन, त्यो दिन खान पनि पाईदैन’ उनले भने–‘काम नगरेको दिन त भोकै सुत्नुपर्छ।’

जनकपुर जलेश्वर सडक खण्डको छेउमै रहेको सहोरवाका मुसहर बस्तीको एक सय घरपरिबारको अबस्था लट्टा सदाको जस्तै छ । संक्रमण रोकथामका लागि स्थानिय प्रशासनले लकडाउनको अबधी थप्दै गएपछि बजारमा दैनिक उपभोग्य सामग्रीको भाउ पनि अकाशिएको छ । एकातर्फ कमाई नहुने र अर्को तर्फ मुल्य पनि छोईनसक्नु भएपछि उनीहरुलाई हातमुख जोडन समस्या छ ।

सब भन्दा बढि जनघनत्व र बाक्लो बस्ती रहेको प्रदेश २ मा कोरोना संक्रमणले सामाजिक स्तरमै भयाबह रुप लिईसके पनि दलित तथा पिछडिएका बस्तीमा कुनै साबधानी अपनाईएको छैन । संक्रमणका कारण उपचार नपाएर एक पछि अर्काेले ज्यान गुमाउदै गएपनि भौतिक दुरीको कुरै छाडौ चरम गरिबी  झेलिरहेका उनीहरुको गाउँ÷घरमा मास्क, सेनिटाईजर र साबुनपानीको प्रयोग गरेको पनि पाईदैन। यस्ता सामग्री किन्न नसक्ने परिवार र समुदायका लागि स्थानिय र प्रदेश सरकारले पनि व्यबस्थापन गरेको छैन ।



जनकपुरधाम–७ को जमिरियादेवी धर्मशालामा कुष्ठरोगी तथा मागेर जिविका चलाउनेहरुका लागि भवन बनाइएको छ । जहाँ २० वटा कोठा छन् । जमिरियादेवी भनिने एक महिलाले जनकपुरधाममा रहेका कुष्ठरोगीहरु तथा भीख माग्ने मानिसहरुको वासका लागि यो भवन निर्माण गराएकी थिईन। धर्मशालामा अहिले बालबालिकासहित २० जना कुष्ठरोगी तथा भीख मागेर जिविका चलाउनेहरुको वसोवास छ।

निषेधाज्ञाका कारण यतिवेला उनीहरुका लागि वासभन्दा पनि गाँसको समस्या छ । पछिल्लो वर्ष कोरोना संक्रमणको त्रासकै कारण लगाइएको निषेधाज्ञाको समयमा विभिन्न दाता तथा स्थानीय सरकार, प्रदेश सरकारले राहत बाँडेकोले समस्या भोग्नु नपरेपनि यस पटक भने कसैले पनि सहयोग नगरेको सुरेश सदाले दुखेसो गरे ।

निषेधाज्ञा नहुँदा उनी प्लाष्टिक जम्मा गर्ने र विक्रि गर्ने गर्थे । दिनभरी जम्मा गरेको प्लाष्टिक बिक्री गर्दा आएको पैसाले उनले आफु र आफनो परिवारको हातमुख जोड्दै आएका थिए । उनका असक्त श्रीमती, भान्जी र बहिनी छिन् । श्रीमतीले भीख मागेर उनलाई सहयोग गर्थिन। ‘दूबै जनाले दिनभरीको परिश्रमबाट कमाएर ल्याएको पैसाले घर चल्थ्यो’ उनले भने–‘तर निषेधाज्ञाका कारण हातमुख जोड्ने माध्यम नै बन्द भयो।’

त्यहीँ वास गर्ने बेचन मण्डलको पनि अवस्था उस्तै छ। केही दिन अघि मात्रै उनले आफ्नी सय वर्षिया आमा र १८ वर्षिय छोरो रामईश्वर मण्डललाई गुमाए। लिभर खराब भएर छोराको मृत्यु भएको उनी सुनाउँछन् । अव उनको परिवारमा ४ सदस्य वाँकी छन् ।

आमा र छोराको काजक्रिया तथा विहान वेलुका खाने खर्चका कारण अहिले उनको सातो उडेको छ । निषेधाज्ञाले काम धन्दा वन्द भएपछि ‘विहान खाए वेलुका के खाउँ–वेलुका खाए विहान के खाउँ’ भन्ने अवस्थामा पुगेको उनले सुनाए ।


जमिरियादेवी धर्मशालामा वस्ने र भीख मागेर गुजारा चलाउँदै आएका जगतोरिया देवी र चाइना देवीको पनि अवस्था उस्तै छ। जगतोरिया उमेरले ७५ वर्ष काटिन। आवाज पनि स्पष्ट छैन । माँगेर जिविका चलाउँदै आएकी उनको यतिवेला वेहाल छ। 

४० वर्षिया चाइना देवीको घरमा एक छोरा र एक छोरी छन् । उनीहरुको पेट पाल्नका लागि चाइना पनि भिख माग्छिन्। निशेधाज्ञाका कारण उनको पनि आम्दानी मेरेको छ। ‘गाउँमा जाने अवस्था छैन’ उनी भन्छिन्–‘कोरोनाको डरले घरको ढोकासम्म खोल्दैनन्। अव त खान नपाएरै मरिन्छकी झै लाग्न थालेको छ।’

जनकपुरधाम उपमहानगरपालिका– ७ का वडाध्यक्ष जानकीराम साहले उनीहरुको वारेमा आफु जानकार रहेको वताए । निषेधाज्ञा लम्बिदै गए उनीहरु साँच्चै समस्यामा पर्ने उनले वताए । यस्तै अवस्था रहे वडा बाटै भएपनि उनीहरुका लागि राहत उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए । 

कोरोना संक्रमण विपन्नका लागि राहत उपभोक्ता मार गरिबको बेहाल