समाचार विदेश

भारतमा घटेन मृत्यु दरः एकै दिन चार हजारको मृत्यु 

भारतमा घटेन मृत्यु दरः एकै दिन चार हजारको मृत्यु 

कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो मानवीय सङ्कट झेलिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ७७ जनाको मृत्यु भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा तीन लाख ११ हजार नयाँ संक्रमित भेटिएका छन् भने तीन लाख ६२ हजार संक्रमणमुक्त भएका छन् । 

शनिबार दैनिक मृत्यु दरमा सामान्य कमी आएर तीन हजार ८९० जनाको ज्यान गएको थियो । 

भारतमा हालसम्म कोभिड–१९ बाट मृत्यु भएकाको संख्या दुई लाख ७० हजार पुगेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ४६ लाख ८४ हजार पुगेको छ जसमध्ये दुई करोड सात लाख ९५ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । 

भारतमा गत जनवरीमा कोभिड–१९ विरुद्धको खोप लगाउन शुरु गरेको थियो । हालसम्म १८ करोड २२ लाख व्यक्तिलाई खोप दिइएको मन्त्रालयले जनाएको छ । गत मे १ देखि भारत सरकारले १८ वर्षभन्दा माथिको उमेरका सबै व्यक्तिलाई खोप दिने योजना अघि सारे पनि पर्याप्त खोप उपलब्ध नहुँदा सहज रुपमा खोप अभियान अघि बढ्न सकेको छैन ।

भारतमा संक्रमित व्यक्तिको संख्या दैनिक तीन लाखभन्दा बढी नै देखिए पनि भारत सरकारले देशव्यापी लकडाउन गर्न अस्वीकार गरेको छ । तर संक्रमित अत्यधिक देखिएका दिल्ली, मुम्बई समेतका शहरमा राज्य सरकारले लकडाउन, प्रतिबन्ध, कफ्र्यु लगाएका छन् । 

हाल, कोभिडको ठूलै सङ्कट सामना गरिरहेको भारतमा हाल अक्सिजनको आपूर्ति समेतका अत्यावश्यक औषधि र अन्य स्वास्थ्य सेवाको चरम अभाव भएको छ । 

यसैबीच, विश्व स्वास्थ्य संगठनले विश्वभर कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ लाख ८३ हजार पुगेको जनाएको छ । हालसम्म सर्वाधिक प्रभावित संयुक्तराज्य अमेरिकामा पाँच लाख ९९ हजार तथा दोस्रो स्थानमा रहेको ब्राजिलमा चार लाख ३४ हजारको मृत्यु भएको छ । 
(रासस–सिन्ह्वा)