खेल

नेपाल सुपर लिगमा आजबाट दोस्रो चरणका खेल हुँदै 

नेपाल सुपर लिगमा आजबाट दोस्रो चरणका खेल हुँदै 


पहिलो संस्करणको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणको खेल समाप्त भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनले आफ्नो पहिलो खेल खेलेसँगै प्रतियोगिताको पहिलो चरणको खेल सकिएको हो । गत शनिबारबाट सुरु भएको प्रतियोगिता तेस्रो दिन चितवनले आफ्नो पहिलो खेलमा ललितपुर सिटीसँग १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको   छ । अन्य टोलीले पहिलो चरणको खेल समाप्त गर्दा ललितपुरले भने दोस्रो चरणको खेल सुरुवात गरिसकेको छ । उद्घाटन खेलमा काठमाडौं रेजर्ससँग १–० गोल अन्तरले पराजित ललितपुर दोस्रो खेलमा अङ्क बाड्न बाध्य भयो । पहिलो चरणको खेल सकिदा विराटनगर सिटी शीर्ष स्थानमा रहेको छ । पेपरमा बलियो मानिएको धनगढी एफसीलाई ३–० गोल अन्तरले पराजित गर्दै विराटनगरले उपाधि दाबेदार रहेको प्रमाण पेश गरेको छ । 
दोस्रो स्थानमा बुटबल लुम्बिनी एफसी रहेको छ । पोखरा थण्डर्सलाई २–० गोल अन्तरले पराजित गरेको बुटबल समान अङ्क भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा रहेको हो । यस्तै काठमाडौं रेजर्स तेस्रो स्थानमा रहेको छ । विराटनगर, बुटबल र काठमाडौं समान ३ अङ्क भएपनि गोल अन्तरका आधारमा क्रमशः तीन टोली पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका हुन् । एक खेल खेलको चितवन चौथो स्थानमा रहँदा दुई खेल खेलको ललितपुर पाचौं स्थानमा रहेको छ । अङ्क जोड्न नसकेका पोखरा र धनगढी क्रमशः छैठौं र सातौं स्थानमा रहेका छन् । लिगमा आजबाट दोस्रो चरणको खेल सुरु हुँदैछ । आजको खेलमा  धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल साँझ साढे ५ बजेबाट सुरु हुनेछ ।
 

नेपाल सुपर फ्रेन्चाईज फुटबल पहिलो संस्करण