समाचार

आगलागीबाट करोडौँको वन पैदावार नष्ट

आगलागीबाट करोडौँको वन पैदावार नष्ट

टीकापुर

कैलालीको जानकी गाउँपालिका–६ जगतपुरस्थित कैलाशेश्वर सामुदायिक वनमा आइतबार दिउँसोदेखि भीषण आगलागी भएको छ । समूहका अध्यक्ष खडक शाहले लायकपुर मुक्त कमैया शिविर नजिकै सामुदायिक वन क्षेत्रमा आगलागी भएको जानकारी दिनुभयो । आगलागीबाट करोडौँको वन पैदावार नष्ट भएको छ । आगलागी नियन्त्रणका लागि टीकापुर र लम्की चुहा नगरपालिकाका दुई दमकल, दुई स्थानीय तह र रानी जमरा कुलरिया सिँचाइ आयोजनाका ३ स्काभेटर, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दा र उपभोक्ता नियन्त्रणमा खटेका छन् । ‘‘आगो लायकपुर बस्ती नजिकै रहेको जंगलबाट शुरुआत भयो ।

लायकपुर बस्तीका सयौँ घर जोखिममा छन्’’, उहाँले भन्नुभयो, ‘‘दिउँसो भएकाले तुरुन्तै खबर पायौँ । हामीले स्थानीय तह र प्रहरीको सहयोग लियौँ, दिउँसोदेखि आइतबार राति १ बजेसम्म आगो नियन्त्रणमा खट्दा बस्तीलाई जोखिमबाट बचाइएको छ ।’’ सबैको प्रयासबाट आगलागी बस्तीमा आउनबाट जोगाइएको भए पनि वनमा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आएको छैन । सुकेका रुखमा लागेको आगो नियन्त्रणमा अझै नियन्त्रणमा आएको छैन । आगलागीबाट वनमा १० हेक्टरमा रहेका वन पैदावार जलेर नष्ट भएको उहाँको भनाइ छ । सो सामुदायिक वन ४६० हेक्टर जमीनमा फैलिएको छ । ‘‘आगलागीका कारण करोडौँ क्षति भएको छ । पुराना सालका रुख, नयाँ पलाउँदै गएका पालुवा समेत नष्ट भएका छन्’’, उहाँले भन्नुभयो, ‘‘अत्यधिक गर्मी बढेको र हावाहुरी चल्ने भएकाले आगो फैलने जोखिम छ । आगलागी बस्तीमा आएमा नियन्त्रण गर्न सकिदैन ।’’ पछिल्लो समय देशैभरि रहेका सामुदायिक वनमा आगलागी तथा डढेलोका कारण करोडौँको वन पैदावार नष्ट भएको छ ।

जिल्लाका अधिकांश सामुदायिक वनले आगलागीबाट बच्न अग्नीरेखा निर्माण समेत गरेका छन् । ‘‘ नागरिकको लापरवाही, उपभोक्ताको हेलचेक्र्याइले वनमा आगलागी जस्ता घटना भइरहन्छन्’’। स्थानीय उपभोक्ता गीता धामीले भन्नुभयो, ‘‘बस्ती नजिक रहेका वन अझ आगलागीको जोखिममा पर्ने गरेका छन् । आगलागीका घटना हुन नदिन उपभोक्ता बढी जिम्मेवार बन्न आवश्यक छ ।’’ जिल्लामा ५७६ सामुदायिक वन छन् । यी वनमा अधिकांश वन बस्तीसँग जोडिएका छन् । बस्तीसँग जोडिएका वन आगलागीको जोखिममा पर्ने गर्दछन् । ‘‘वर्षेनी कैलालीका दर्जनौँ वनमा आगलागी हुँदा करौडौँको क्षति हुन्छ ।

आगलागी जस्ता घटना नियन्त्रणका विषयमा उपभोक्ता तथा वन पदाधिकारीबीच छलफल भए पनि यस्ता घटना भइरहने गर्छन्’’, संरक्षणकर्मी जयप्रसाद ढुंगानाले भन्नुभयो, ‘‘आगलागी भइहाले तत्काल आगो नियन्त्रणका लागि आवश्यक दमकल र जनशक्तिको अभाव छ ।’’ आगलागीबाट वन पैदावार मात्र होइन वन्यजन्तु समेत जोखिममा पर्ने गरेका छन् ।

टीकापुर कैलालीको जानकी गाउँपालिका जगतपुर