समाचार राजनीति

ओलीसंग प्रेम बढेपछि जसपा फुटको संघारमा

वीरेन्द्र रमण

ओलीसंग प्रेम बढेपछि जसपा फुटको संघारमा


जनकपुर- जनता समाजवादी पार्टीका महन्थ ठाकुर राजेन्द्र महतो पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसंग नजिकिदै गएपछि पार्टी नै फूटको संघारमा पुगेको छ । जसपाले अगाडी सार्दै आई रहेको मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली लचक हुन थालेपछि उनीसंगको हिमचिम महतो र ठाकुरको बढेको हो । जबकी यीनै नेताहरु ओली प्रति आक्रोशित मन्तव्य दिने गर्थे । 

ठाकुर र महतोको प्रम ओलीसंग घनिष्ठता बढ्दै जान थालेपछि जसपा नेता उपेन्द्र यादव आजित भई सकेका छन् । महतो र ठाकुर आफ्नो गुटलाई लिएर अलग्गै वार्ता तथा अलग्गै भेला गर्न थालेपछि यादव समेत अहिले आफनो गुटलाई सबल बनाउन क्रियाशिल भई सकेका छन् । अहिले यादवले विभिन्न स्थानहरुमा पार्टीको प्रशिक्षण कार्यक्रम गरिरहेका छन् । 

जसमा ठाकुर र महतो निकटका नेता तथा कार्यकर्ताहरुलाई बोलाउनै छोडिएको छ भने ठाकुर र महतोका पक्षले समेत आफ्नो भेलामा यादव पक्षलाई वहिष्कार गर्न थालेका छन । 

मंगलबार पूर्वराजपासँग आबद्ध प्रदेश–२ सरकार भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरेको चियापान समारोह कार्यक्रममा पूर्वसमाजवादी पार्टीका नेता तथा मन्त्रीहरूको उपस्थिति थिएन । मन्त्रालयको प्रांगणमा आयोजित सो कार्यक्रममा राजपा आबद्ध जसपाका अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेताहरू राजेन्द्र महतो, अनिल झा र शरतसिंह भण्डारी उपस्थिति थिए । तर समाजवादी आबद्ध अध्यक्ष उपेन्द्र यादव हाल उनको समर्थक रुपमा रहेका महेन्द्र राय यादव र राजकिशोर यादवको उपस्थिति भने थिएन । यति मात्रै उपेन्द्र यादव पक्षका कुनै नेता कार्यकर्ताहरु त्यसमा सहभागिता समेत जनाएनन । समाजवादीका नेताहरूले धनुषाको हारसरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा राजपाका नेताहरूलाई निम्तो गरिएको थिएन । पार्टी एकीकरण भएदेखि जसपाद्वारा आयोजित विभिन्न पार्टी प्रवेश, युवा, विद्यार्थी तथा महिना लगायतको भातृ संगठनहरूको कार्यक्रममा राजपाले गरेको आयोजनामा समाजवादीको अनुपस्थिति र समाजवादीले आयोजना गरेको कार्यक्रममा राजपाको अनुपस्थिति रहँदै आएको छ ।

जसपाका प्रदेश २ को रुपमा रहेका तराई मधेश प्रदेश समितिका सचिव एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले पार्टीभित्र वैचारिक द्वन्द रहेको स्वीकार गर्दै यसै कारणले पार्टी फुटने सम्भावना नरहेको बताए ।  प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनको विभिन्न पक्षसंग मिलेर जानु पर्छ भन्ने उपेन्द्र यादव पक्षको अडान रहेको अवस्थामा ठाकुर  र महतो ओलीसंग निकटता बढाएका छन । जसले पार्टी भित्र उत्पन्न भएको व्दन्दले पार्टीलाई फुटको संघारमा ल्याइ दिएको छ ।धनुषामा आयोजना गरिएको एक कार्यक्रममा विहिवार जनताका वरिष्ठ नेता राजेन्द्र महतोले जसपाले राखेको माग सम्बोधन गरे वर्तमान सरकारलाई समर्थन गर्न आफूहरू तयार रहेको बताए। सोही दिन प्रधामन्त्री र जसपाका संयोजक महन्थ ठाकुर बिचमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा सत्ता समीकरणबारे छलफल गर्न बनाइएको एमाले–जसपा का कार्यदलका सदस्यहरू पनि सहभागी थिए । 

भेटवार्तामा सहभागी एक नेताका अनुसार जसपाले सरकारसँग राखेका कसरी समाधान गर्ने भन्ने विषयमा छलपफल भएको थियो । तर, सत्ता समीकरणबारे कुनै कुराकानी नभएको भेटवार्तामा सहभागी नेताहरूले बताएका छन् । 

ओलीले जसपासँग कुरा गर्न संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईको कार्यदल बनाएका थिए। जसपाको कार्यदलमा सर्वेन्द्रनाथ शुक्ला र लक्षमणलाल कर्ण छन्।

जसपामा वर्तमान सरकारलाई सहयोग गर्ने कि नयाँ सत्ता समीकरण बनाउने भन्नेमा दुई धार छ । नेताहरू बाबुराम भट्टराई र उपेन्द्र यादव ओलीको विरुद्धमा छन् भने अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो ओली सरकारको पक्षमा छन् । 

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ। त्यस्तो अवस्थामा जसपालाई आफूतिर तान्ने प्रधानमन्त्रीको प्रयास छ। तर, पार्टीभित्रको विवादका कारण जसपाले कसलाई सहयोग गर्ने भन्नेबार निर्णय लिन सकेको छैन ।

पार्टी स्रोतका अनुसार माओवादी केन्द्रले प्रधानमन्त्री ओलीसंग समर्थन फिर्ता लिए लगत्तै जसपाका एक पक्ष ओलीलाई समर्थन गर्ने छन। त्यही दिन औपचारिक रुपमा पार्टी विभाजन हुने बताइएको छ ।

जनता समाजवादी पार्टी महन्थ ठाकुर राजेन्द्र महतो प्रधानमन्त्री ओली