हर्षोल्लास पुर्व नयां वर्ष मनाइदै

हर्षोल्लास पुर्व नयां वर्ष मनाइदै


काठमाडौं 
आज विक्रम संवत् दुई हजार अठहत्तर (२०७८) साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा माधव भट्टराई बताए ।  “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थितिअनुसार विक्रम संवत् चल्दछ, शक संवतका विशेषतादेखि इश्वी संवतका व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उनले भने ।
सूर्य मेष राशिमा प्रवेश गर्दा शुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरु हुने भएकाले वैज्ञानिक रहेको विद्वानको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवतमा भएको छ । कलि युग शुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरु भएको हो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
यस्तो छ विक्रम संवतको ईतिहास
विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । विक्रम संवत् भारतका विभिन्न राज्यहरूमा पनि प्रचलनमा रहेको छ । यो प्राचीन हिन्दू परम्परा र वैदिक समयाङ्कनमा आधारित शौर्य पात्रो हो । यो इस्वी सम्वत् (अङ्ग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ । नयाँ वर्षको सुरूवात सामान्यतया ग्रेगोरी पात्रोको अप्रिल महिनाको १३ वा १४ तारिकमा पर्दछ । विक्रम सम्बत सूर्यसँग सम्बन्धित भएकाले विक्रम सम्बतमा ग्रह नक्षत्रका नाम पनि महिनाहरूसँग सम्बन्धित छन् । विक्रम सम्बत नेपालको आदि संवत् समेत हो ।
विक्रमादित्य राजाको बारेमा नेपालमा प्रचलित वंशावलीमा उल्लेख भेटिन्छ । तत्कालीन श्री ५ को सरकार पुरातत्व विभागबाट प्रकाशित श्री नयनाथ पौड्यालबाट सम्पादित भाषा वंशावलीमा धर्मागत राजाको शासनकालमा राजा धर्मागतको नामले राजप्रासादको दक्षिणतर्फ चतुर्मुख नारायण स्थापित गरी जोडी धारा (हालको नारायणहिटी) बनाई तीर्थ समेत चलाएको र त्यसैबेलादेखि विक्रम सम्बत प्रचलनमा आएको भन्ने उल्लेख छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्ला को नालामा उत्तरापुर राज्यको नाउँमा विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा मेला लाग्ने गरेको किंवदन्ती पनि छ । विक्रमादित्य राजाले राज्य गरेको ऐतिहासिक ठाउँमा साँखुको बज्रयोगिनी मन्दिर परिसरको केही माथि विक्रमादित्य राजाको टाउकाको पूजा युगौंदेखि बज्राचार्य वंशका पुजारीले गरिआएका छन् । यस क्षेत्रमा विक्रमादित्य राजाको कुनै अस्तित्व नभएको भए यसरी विक्रमादित्यको मूर्तिको पूजाआजा गरेर बस्नुपर्ने कुनै कारण हुँदैनथ्यो । यिनै चक्रवर्ती राजाले नेपाललाई विस्तार गर्दै कासीसम्म पुगेका र कासीमा विश्वनाथको मन्दिर स्थापना गरेका थिए भन्ने कुरा स्कन्द पुराणको हिमवत्खण्ड पुस्तकमा उल्लेख छ ।
नेपालमा यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरले प्रयोग गरे पनि रामशाहको पाला र त्यो भन्दा अगाडि प्रयोग भएका धेरै उदाहारहरू छन् ।
नेपालमा शक सम्बत तथा नेपाल सम्वत प्रयोग पनि हुने गर्दथ्यो अनि शक सम्बत १८२३ मा त्यस शक सम्बतलाई आधिकारीक प्रयोगबाट हटाईयो र विक्रम सम्बतको १९५८ औँ सालमा यो नेपालको आधिकारिक पात्रो बन्न पुग्यो भन्ने कसै कसैको भनाइ छ तर लिछ्छवी, मल्ल काल, सेन वंश का कतिपय शिलालेखहरूमा तथा पृथ्वीनारायण शाह का प्रारम्भिक शिलालेखहरूमा विक्रम सम्बत रहेकोले यो कथन झुटो ठहरिन्छ । प्रमाणको लागि तल का अनुच्छेद हरू पढे थाहा हुन्छ ।
नेपाल अंग्रेज युद्द् ताका का अधिकांश कागज पत्रमा विक्रम सम्बत प्रयोग भएको यथार्थ लाई त्यतिकै छोप्न सकिन्न ्र पृथ्वीनारायण शाह देखि भीमसेन थापा हुदै कोतपर्व सम्म का अधिकांश कागजात हरू हेरे विक्रम सम्बतको व्यापक प्रयोग देख्न सकिन्छ्र ।

पशुपतिनाथका दर्शनार्थीलाई विशेष व्यवस्था
 नयाँ वर्षका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि आउने भक्तजनलाई विशेष व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताउनुभयो । पश्चिम मूल ढोकाबाट दर्शन गर्न चाहने भक्तजनका लागि प्रवेश गराउने तयारी छ । नयाँ वर्षका अवसरमा विशेष पूजा गर्न चाहने भक्तजनका लागि पनि व्यवस्था मिलाइएको उहाँले सुनाउनुभयो । पछिल्लो समय वैशाख १ गते पनि पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजनको भीड लाग्ने गरेको थियो । दर्शनार्थीको चापलाई हेरेर पशुपति क्षेत्रको सुरक्षा व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक बिदा दिइएको छ । काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सङ्गममा रहेको वाग्द्वार (वाग्मती नदीको उद्गमस्थल), टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत देशभर लाग्ने मेला पनि कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गरी मनाइँदै छ ।  
चान्द्रमानअनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै शुरु हुने नयाँ संवत्सर भने चैत ३१ गतेदेखि नै शुरु भइसकेको छ । चैत ३१ गतेदेखि राक्षस नामको संवत्सर शुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । वैदिक सनातन हिन्दू धर्मअनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको राक्षस ४९ औँ संवत्सर हो । प्रत्येक संवत्सरको बेग्लाबेग्लै फल हुने ‘षष्टि संवत्सर’ नामक पुस्तकका लेखक वेदराज पन्त बताए ।
 

नयाँ वर्ष दुई हजार अठहत्तर ईतिहास

संम्बधित खबर