पर्यटन

विश्व सम्पदाको सुचिमा सुचिकृत हुन प्रतिक्षारत जानकी मन्दिर (फोेटो फिचर)

वीरेन्द्र रमण

विश्व सम्पदाको सुचिमा सुचिकृत हुन प्रतिक्षारत जानकी मन्दिर (फोेटो फिचर)

जनकपुरधाम - जनकपुरको अति प्रसिद्ध जानकी मन्दिर विश्व सम्पदा सुचिमा सुचिकृत गराउनको लागि विभिन्न निकायहरुले मांग गर्दै आएपछि अहिले सम्म त्यसले खासै सार्थकता पाउन सकेको छैन । प्राचीन मिथिलाको राजधानी जनकपुरमा भारतको टिकमगढका महारानीव्दारा निर्मित यस मन्दिर वास्तुकलाको पहिचान दिईसकेको छ । वर्षे देखि विभिन्न निकायहरुले यसलाई विश्व सम्पदा सुचिमा सुचिकृत गराउनको लागि पहल थालेपनि अहिले यो मन्दि सुचिकृत हुन प्रतिक्षारत रहेको छ । 

मिथिला स्वयम् नै मन्दिररुपी पवित्र विशाल घर हो, जुन माटोमा माता जानकी उत्पन्न हुनु, यहाँका माटोको कणकणमा जानकीले लडिबुडी गरी बालक्रीडा गर्नु, भगवान् राम यहाँ आई शिवधनुष भङ्ग गर्नु आदिले वैदिक कालदेखि नै मिथिलालाई दर्शनीय स्थल बनाएको प्रसङ्गलाई जीवन्त तुल्याउने जानकी मन्दिर आरम्भदेखि नै सम्मानित, पूजनीय एवम् आस्था र विश्वासका प्रतीकका रुपमा रहेको छ।  

अहिले यो मन्दिर नौलाखा, जानकी भवन र शिशमहल नामले पनि प्रख्यात रहेको छ ।  मुगल वास्तुशैली र हिन्दू वास्तुशैलीको अनुपम सङ्गमबाट बनेको यो मन्दिरले हेर्दा वास्तु कलाकारिताको विलक्षण प्रतिभालाई उजागर गर्दछ। 

भगवान् रामकी अर्धाङ्गिनी सीताको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरमा बनाइएको मन्दिरको सुन्दरता र भव्यता आफैँमा विशिष्ट रहेको छ । मिथिला शब्दलाई स्वयम्मा मोक्ष र पुण्यदायक मानिने चलन भएका कारणले पनि जानकी मन्दिरको नित्य नाम लिँदा पनि सर्वपाप नाश हुन्छ मान्यता रहेको छ । 

उनन्चास हजार ५५५ वर्गफिटमा फैलिएको सो मन्दिर करिब ५० फिट अग्लो छ। पूर्वतर्फ फर्किएको सो मन्दिरको शोभा चारैतिरका ठूला र साना गुम्बजहरुले सजाइएको छ भने चारैतिर विभिन्न रङ्गका रङ्गीचङ्गी फूलबुट्टाले सिङ्गारिएको छ।  

यस मन्दिरमा ६० वटा कोठा रहेका छन्। यीमध्ये शिश गर्भगृह विशेष महत्वपूर्ण छन् भने मन्दिरको भव्य कलात्मक गर्भ भवन अत्यन्त आकर्षक छ।  

चारै कुनामा तीन–तीनवटाका दरले बनाइएका बाह्रवटा कलात्मक बुर्जाका साथै अन्य साना ठूला बुर्जा र गुम्बजमाथि रहेका सुनौला गजुर, फराकिलो परिसर, अर्धवृत्र आकारको प्रवेशद्वार र प्रवेशद्वारको दुवैतिर र माथि बनाइएका विभिन्न चित्रले मन्दिरको भव्यतालाई अझ बढाएको देखिन्छ।  

यस स्थानका परिचय दिने श्रेय यस मन्दिरका पहिलो महन्त शुरकिशोर दासलाई दिइन्छ । प्राचीन विदेह वा मिथिलाको राजधानी जनकपुर अहिलेको जनकपुर रहेको स्थल नै हो भनी पहिचान गराउने श्रेय पनि यिनै महन्तलाई दिइन्छ ।  

वर्तमान जानकी मन्दिर रहेको स्थानमा पहिले एउटा निमको रुख थियो। सत्रौँ शताब्दीको अन्ततिर सोही स्थानमा ती महन्त विश्राम गर्न सुतेका थिए। यिनलाई त्यसैबखत सपनामा देवी सीताले यसै स्थानमा आफ्नो पिताको दरबार रहेको थियो भनेर बताएको जनश्रुति पाइन्छ। त्यसपछि महन्तले त्यस स्थानमा एक झुपडी बनाई पूजाआजा गर्न थाले। यिनकै समयदेखि यसको ख्याति बढ्न थाल्यो र मानिसहरु घनाजङ्गलभित्र रहेको स्थानमा पूर्णिमा तथा पवित्र पर्वहरुको अवसरमा यहाँ आई स्नान र पूजाअजा गरी फर्कन्थे।  

त्यस समयमा बाघ, भालुजस्ता जङ्गली पशुको निकै डर रहने भए पनि मानिसहरु अस्त्रशस्त्र लिई यस स्थानमा मेला भर्न आउँथे।  

अन्वेषक नारायण रिमालका अनुसार महन्त शुरकिशोर दास वस्तुतः आधुनिक जनकपुरको संस्थापक र सीताको उपासना पद्धतिका प्रचारक, महान सन्त एवम् कवि थिए। 

यी महन्तपछि यहाँ यिनका शिष्य प्रयाग दास महन्त भए। यस ठाउँको ख्याति सुनेर मकवानपुरका राजा मणिकसेनले विसं १७८४ मा एक हजार ४०० बिघा सीतारामको भोगरागका लागि जमिन दान गरेका थिए।  

यस्तै विसं १७९० साल फागुन ७ गतेका दिन हेमकर्णसेनले जग्गाको सिमाना गुठी थामिदिएको र नेपालको एकीकरणपछि पृथ्वीनारायण शाहबाट सो जग्गा कुशविर्ताकै रुपमा उपलब्ध गराएको विसं १८६७ सालको गिर्वाणयुद्ध वीरविक्रम शाहको लालमोहरमा उल्लिखित छ।  

यसै लालमोहरबाट गिर्वाणयुद्ध विक्रम शाहले विर्ता पक्का ठहराई चार किल्लाको सिमाना तोकी जानकीको नित्य पूजा र सदाव्रत चलाएको र शिष्य परम्पराअनुसार भोग गर्ने आदेश दिएको बताइन्छ। यसै आदेशबाट राजगुठीअर्न्तगत पूर्णरुपमा स्वतन्त्र भई गुरुशिष्य परम्परागत चलिआएको र सञ्चालन व्यवस्थापनको जिम्मा महन्तमा रहेको देखिन्छ। 

सो मन्दिरको निर्माणको सन्दर्भमा स्थानीय किम्बदन्ती अनुसार भारतका टिकमगढका एक राजा यस क्षेत्रतर्फ शिकार खेल्न आएका बखत यहाँको ख्याति सुनी आफ्नी रानीलाई लिई एकदिन तीर्थ गर्न भनी यहाँ आए। ती राजा निःसन्तान थिए। यिनकी रानीले पुत्र प्राप्त गरेमा रु नौ लाख लगाई एक भव्य मन्दिर बनाउने बाचा गरिन्।

कालान्तरमा रानीलाई पुत्र प्राप्त भए र उनले रु नौ लाख लगाई यो मन्दिर निर्माण गराएका कारण यसको अर्को नाम नौलाखा रहन गएको हो।  

सहप्राध्यापक शिवेन्द्रलाल कर्ण सो मन्दिरको निर्माण टिकमगढका राजा नरेशप्रताप सिंह र उनकी पत्नी वृषभानु कुँवरीले गराएका हुन्। मन्दिर पूरा हुन १२ वर्ष लागेको बताइन्छ।  

मन्दिरको शिलालेखअनुसार सो मन्दिरको शिलान्यास विसं १९५२ माघ २८ गते र मूर्तिप्रतिष्ठा विसं १९६७ माघ २८ गते भएको हो।  

मूर्ति प्रतिष्ठाको अवसरमा महारानी वृषभानुको मृत्यु भइसकेकाले दोस्रो महारानी गणेश कँुवरीको सहभागिता रहेको पाइन्छ। 

हिन्दू वाङ्मयमा अनुपम, विलक्षण, आश्चर्यजनक वास्तु, भवनलाई सबभन्दा उत्तम दर्जाको एकाइमा भन्नुपर्दा नौ भनिने हुँदा यस मन्दिरले वास्तुकलाको सर्वोत्कृष्ट कला प्रस्तुत गरेकाले पनि नौ लाखा भनिएको हुन सक्ने तर्क सहप्राध्यापक कर्ण अघि सार्छन्।  

उनका अनुसार यस मन्दिरको निर्माणमा त्यस बेलाका बेलायती महारानीका चाँदीका सिक्काहरु रु तीन चार लाख खर्च भएको छ। 

अन्वेषक रिमाल यो मन्दिर बनाउन रु नौ लाख सङ्कल्प गरिए पनि करिब रु १५ लाख खर्च भएको प्रष्ट गरे। 

यस मन्दिरमा प्रत्येक धार्मिक पर्वहरु विशेष गरेर विवाहपञ्चमी, रामनवमी, झुलन पर्व, जानकीनवमी, कोजाग्रत पूर्णिमा र अन्नकुट आदि धुमधामका साथ मनाइन्छ। यी पर्वहरुमा देशविदेशका असङ्ख्य श्रद्धालुहरुको सहभागिता हुने गरेको छ।  

मन्दिरको शिलालेखअनुसार सो मन्दिरका महन्तहरुमा शुरकिशोर दास, प्रयाग दास, जनकविदेही दास, हरिनारायण दास, बलराम दास, सुमरन दास, विश्वम्भर दास, रामगुलेला दास, नरसिंह दास, हरिभजन दास, रामकृष्ण दास, नवलकिशोर दास, रामशरण दासले मन्दिरको गुरुशिष्य परम्परालाई निरन्तरता दिएको पाइन्छ।  

वर्तमान महन्त रामतपेश्वर दास यस मन्दिरको करौडौँ मूल्यको रत्नहरु संरक्षणका नाममा सरकारले लगेको वर्षौं भएको र ताकेता गर्दा आशाजनक उत्तर अहिलेसम्म प्राप्त नभएकामा चिन्ता व्यक्त गर्छन। 

गुठी संस्थानले ती रत्नहरु संरक्षित रहेको दाबी गरिरहेको छ तर विसं २०५१ सालमा मन्दिरको शतवार्षिकी समारोहका अवसरमा ती रत्नहरुको प्रदर्शन गर्ने सन्दर्भमा पत्राचार गर्दा पनि सम्बन्धित निकायबाट कुनै पहल नभएको गुनासो पनि महन्त दास पोख्छन्।

जनकपुरधाम जानकी मन्दिर विश्व सम्पदा सुचि