समाचार अपराध सुरक्षा

धरानकी एक किशोरी १६ दिनदेखि वेपत्ता

धरानकी एक किशोरी १६ दिनदेखि वेपत्ता

सुनसरीको धरानकी एक किशोरी १६ दिनदेखि वेपत्ता छिन् । धरान उपमहानगरपालिका–८ की २० वर्षीया कविता श्रेष्ठ फागुन ४ गते देखि बेपत्ता भएकी हुन् ।

साथीको घर जान्छु भनेर घरबाट निस्किएकी उनी अहिलेसम्म नफर्किएको कविताकी ठुलीआमा मैयाले बताइन्। उनले कवीताको खोजी गरिदिन आग्रह गरेकी छिन् ।

स्थानीय सहिद स्मृति माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत कविता बेपत्ता भएपछि विद्यालय परिवार पनि आश्चर्यमा परेको छ । सरस्वती पुजाको दिन विद्यालय आएर घर फर्किएकी उनी भोलीपल्टदेखि विद्यालय नआएको प्रध्यानध्यापक रामबहादुर विष्टले बताए । 

धेरै समयसम्म घर नफर्किएपछि इलाका प्रहरी कार्यालय धरानमासमेत उनको वारेमा निवेदन दिएको छ। उनको अवस्था हालसम्म पत्ता लागेको छैन। परिवारका सदस्यले भने कसैले अपहरण गरी बेपत्ता बनाएको हुनसक्ने आशंका गरेका छन्। विद्यालयमै अध्ययनरत साथीसँग धरान १५ को महादेव चोक र बगरकोटमा देखिएकी उनी अहिलेसम्म कहाँ गइन भनेर एकिन हुन सकेको छैन ।

परिवारले  उनका साथीलाई समेत अनुसन्धानको दायरामा ल्याएर कविताको खोजी गरिदिन प्रहरी समक्ष अनुरोध गरेको छ । इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले  कविताको खोजीका लागि प्रहरी परिचालन गरेको बताए ।