समाचार स्वास्थ्य

धार्मीक तथा पर्यटकीय नगरी जनकपुरमा लामखुट्टेको आतंक

वीरेन्द्र रमण

धार्मीक तथा पर्यटकीय नगरी जनकपुरमा लामखुट्टेको आतंक

जनकपुर– जनकपुर नगरभित्र रहेका अव्यवस्थित ढल र फोहोरमैलाका कारण लामखुट्टेको प्रकोप बढेको छ । बढ्दो गर्मी तथा नगरमा जताततै रहेको फोहरका कारण लामखुट्टेको समस्या देखिएको हो ।

जथाभाबि फालिने प्लास्टीकका कारण नाला जाम भएर जम्ने पानीले गर्दा दुर्गन्ध बढनुका साथै लामखुट्टे बृद्धि हुने भएको स्थानीयवासीहरु वताउँछन् ।

दुई महिना अघि भएको जनकपुर उपमहानगरपालिकाको  प्रथम नगर परिषदले बैसाख १ गते देखि जनकपुरधामलाई प्लास्टीक मुक्त क्षेत्र बनाउने घोषणा गरेको थियो ।  सो घोषणा अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । जसका कारण मठ मन्दिर र सरोवरहरुले भरिपूर्ण जनकपुरमा लामखुट्टेको प्रकोपका कारण स्थानीय बासिन्दा थप पीडित बनेका छन् ।

अर्को तर्फ मुख्य क्षेत्रमा सफाई गरिए पनि टोलहरुमा सफाई नहुनु र विभिन्न टोलहरुमा रहेको नालामा फोहर पानी जमेका कारणले नगर क्षेत्रमा लामखुट्टेको आतक बढेको स्थानीय वताउँछन् । अव्यवस्थित ढल, जथाभाबि जमेको पानी र  फोहोरमैलाको उचित व्यवस्थापन नहुनु नै लामखुट्टे वढ्नुको प्रमुख कारण रहेको उनीहरु वताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिकाले गत आर्थिक वर्षमा लामखुटटे नियन्त्रणमा ४० लाख रुपैया खर्च गरेको थियो । तर नगरमा भने लामखुट्टे नियन्त्रण हुन सकेन । नगर क्षेत्रमा खुला नाला र ढलले गर्दा लामखुट्टेको टोकाइबाट वर्षभरि नै स्थानीय पीडित बन्दै आएका छन्। लामखुट्टे नियन्त्रणका लागि भन्दै प्रत्येक वर्ष उपमहानगरपालिकाले औषधि छर्किने गरे पनि त्यो उपलब्धिमूलक हुन नसकेको स्थानीयको भनाई छ ।

लामखुट्टेको प्रकोपले कालाजार, मलेरिया, ईन्सेफलाईटिस, म्यानेनजाईटिस लगायतका संक्रामक रोग देखापर्ने मात्र नभई प्राणघातक डेंगु समेत फैलिने खतरा छ । जनकपुरमा सरसफाई र मच्छर रोकथामका लागि व्यक्ती बिशेषले औषधी छर्किएर पार नलाग्ने भएकाले फोहोर व्यबस्थापन र प्लास्टीक प्रयोगमा रोक लगाउनको लागि पहल थाल्नु पर्ने सरोकारवालाहरु वताउँछन् ।

जनकपुरधाम उपमहानगरपालिका–७का वडाध्यक्ष जानकी राम साहले करिब ८ देखि १० महिना देखि बोर्डको बैठक नबसेको कारणले लामखुट्टे लगायतका समस्याहरुलाई समाधान गर्न नसकिएको बताए । आफुले पटक–पटक यस विषयमा नगरपालिकासंग आग्रह गरेपनि कुनै सुनवाई नभएको उनले गुनासो गरे।

विशेष