समाचार अपराध सुरक्षा

मालपोत कार्यालय लहानमा बम विस्फोट, ७ जना घाइते, २ को अवस्था गम्भिर

मालपोत कार्यालय लहानमा बम विस्फोट, ७ जना घाइते, २ को अवस्था गम्भिर

सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । वम विस्फोटमा ७ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भिर छ ।

घाइते भएकामा केही कर्मचारी र सेवाग्राही रहेको जिल्ला प्रशासन कार्यालय, सिरहाले जनाएको छ । घाइते ४ जनाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा र ३ जनाको सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । वम विस्फोट भएको ठाउँमा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ ।

च्यातिएको अवस्थामा गोइत समूहको पर्चा फेला परेको लहान प्रहरीले जनाएको छ । बम कसले र कतिबेला ल्याएर राखेको कुरा पत्ता लागेको छैन । प्रहरीले अहिले सीसी क्यामेराको फुटेज चेक गरिरहेको जनाएको छ । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको अनुमान गरिएको छ ।


घाईते मध्ये कार्यालका नायब सुब्बा सिरहाको विष्णुपुर गाउँपालिका–३ का ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका–४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ । 


दुवै जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ ।