समाचार अपराध सुरक्षा

युवकलाई अपहरण गरी परिवारसँग १० लाख फिरौती माग्ने ३ जना पक्राउ

युवकलाई अपहरण गरी परिवारसँग १० लाख फिरौती माग्ने ३ जना पक्राउ

विराटनगरका एक युवकलाई अपहरण गरी वन्धक वनाएर १० लाख फिरौती माग गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका–१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाएर फिरौती माग्ने सोही महानगरपालिका–१६ दरैयाका २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र वडा नं. –६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

युवकलाई बन्धक बनाएको सूचना पाउनासाथ खटिएको प्रहरीले विराटनगर महानगरपालिका–६ रामपुरबाट पीडितलाई २ घण्टाभित्रै सकुशल उद्दार गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीले रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान सोही महानगरपालिका–१२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान सोही महानगरपालिका–१ पोखरियाबाट पक्राउ गरिएको हो ।

उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती मागेको प्रारम्भीक अनुसन्धानबाट पुष्टि भएको छ। तीनै जना उपर उपर अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।