समाचार राजनीति

भारतीय नेताको टिप्पणी– ओली अब घरको न घाटको

भारतीय नेताको टिप्पणी– ओली अब घरको न घाटको

बुधबार राजधानीको अनुपम फुडल्याण्डमा भेटेर कुराकानी गरेका भारतीय राजदूत विनयमोहन क्वात्रा काँग्रेस सभापति शेरबहादुर देउवासँग थप सल्लाह गर्न आज दिउँसो देउवा निवास बुढानीलकण्ठ पुगेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी सर्वोच्च अदालतको फैसलापछि विकसित राजनीतिक घटनाक्रमलाई केन्द्रविन्दुमा राखेर भएको राजदूत क्वात्राको दौडलाई राजनीतिक क्षेत्रमा निकै अर्थपूर्ण ठानिएको छ ।

हिजो देउवासँगै राजदूतले उपसभापति विमलेन्द्र निधिसँग पनि भेट गरेका थिए । त्यसअघि जसपाका नेता महन्थ ठाकुरसँग लैनचौरस्थित दूतावासमै भेटेका थिए । बुधबार राती भारतीय दूतावासमा छिरेका दर्जनौं नेपाली सवारी साधनले पनि दक्षिणको चटारोलाई प्रमाणित गरेको बताइन्छ ।

उता, नेपालको पछिल्लो राजनीतिक घटनालाई विश्लेषण गर्दै भारतीय राजनीतिज्ञ तथा अर्थविद् सुव्रमण्यम स्वामीले सर्वोच्चको फैसलापछि नेपालमा प्रजातन्त्र पुनवर्हाली हुने र मिलिजुली सरकार बन्ने संक्षिप्त विश्लेषणसहितको ट्वीट गरेका छन् । स्वामीले प्रधानमन्त्री ओलीले सत्ता सम्हालेदेखि नेपालमा चिनियाँ प्रभाव ह्वात्तै बढेको विगतलाई भारतीय संस्थापन पक्षले यतिखेर गतिलो पाठको रुपमा लिनुपर्ने उल्लेख गर्दै आफ्नो पछिल्लो कदमबाट ओली ‘घरको न घाटको’ अवस्थामा पुगेको समेत बताएका छन् ।

‘अझैपनि नेपालको विकसित राजनीतिक घटनाक्रममा चिनियाँ भूमिका रहने सम्भावना उल्लेख्य रहेकोले अहिलेको अवस्थामा सन्तुलन कायम राख्न भारतीयपक्षले जस्तोसुकै राजनीतिक कदम चाल्नुपर्ने’ स्वामीको ट्वीटमा उल्लेख छ । पूर्वमन्त्री स्वामी भारतीय राज्यसभाका सांसद हुन् । राजनीतिमा आउनुअघि उनी दिल्लीस्थित इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा गणितीय अर्थशास्त्रका प्राध्यापक थिए । स्वामी हिन्दू राष्ट्रवादमा पूर्ण विश्वास राख्ने केही भारतीय राजनीतिज्ञहरूमध्येका प्रमुख हुन् ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

विशेष