समाचार राजनीति प्रदेश १

प्रदेश १ मा ओली समूहद्वारा प्रदेशसभा बैठक बहिस्कार

प्रदेश १ मा ओली समूहद्वारा प्रदेशसभा बैठक बहिस्कार

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको प्रदेशसभाको बैठक सत्तारुढ नेकपा ओली समूहले बहिस्कार गर्ने भएको छ ।

मुख्यमन्त्री शेरधन राईको कार्यालयमा आइतबार बसेको ओली समूहको सांसदहरुको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना नेकपा सांसदलाई मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका थिए । उनीहरु सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने भनी सभामुखलाई जानकारी गराएको ओली समूहमा रहेका मन्त्रीले जानकारी दिए ।

निलम्बनको अवधि ३ महिना हुने भएकाले त्यस अवधिसम्म आफूहरु बैठकमा सहभागी नहुने ओली समूहको जिकिर छ ।

ओली समुहका सांसद नआएकै कारण आइतबार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक सुरु हुन सकेको छैन । प्रदेशसभामा अरु दलका सांसदहरु आए पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको ओली समूहका सांसद आएका छैनन् ।