समाचार राजनीति

ओली पक्षका पनि ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा छन्ः प्रचण्ड

ओली पक्षका पनि ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा छन्ः प्रचण्ड

चितवनमा रहेका नेकपा (प्रचण्ड–माधव पक्ष) का अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओली पक्षका पनि ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा रहेको दावी गरेका छन्।

गुटका कारणले गर्दा वोल्न नमिल्ने भएरै उनीहरु चुप लागेर वसेको वताएका दाहालले भने–‘केपी जीसँग भएका ९० प्रतिशत सांसदहरु विघटनको विरुद्धमा छन। भित्र कोठामा राखेर सोध्ने हो भने केपीजीले बर्वाद पार्नुभयो, डुबाउनुभयो भन्ने छन् ।’ विचरा उनीहरुलाई गुटको कुराले बोल्न गाह्रो भएको दाहालले वताए ।

सर्वोच्च अदालतले जनभावना र संविधानको मर्म अनुसार संसद पुनर्स्थापनाको पक्षमा निर्णय गर्ने दाहालले जिकिर गरे। चितवनको माडीमा राम जन्मिएको भन्दै रामको मन्दिर बनाउने प्रधानमन्त्रीको भनाईप्रति लक्षित गर्दै उनले विकासको काम नगरी हल्ला फैलाउँदै हिडेको आरोप लगाए। प्रचण्डलाई सिद्याउन राम मन्दिरको नारा झिकेको उनको भनाई छ। ‘राम नेपालमै जन्मिएको प्रमाणित गर्न पुरातात्विक र अन्वेषणमा केही गरिएको छैन’ उनले भने–‘राम मन्दिरको कुरा खाली राजनीति गर्नका लागी र प्रचण्ड सिद्याउने अभियान चलाउँछु भन्ठान्नु भाछ। त्यसले उहाँनै खाल्डामा पर्नुहुन्छ।’ 

प्रचण्डले प्रधानमन्त्री ओलीले केहि दिन अघि शिलान्यास गरेको निर्माणाधीन सिटि हलको अवलोकन गर्दै सिटि हल निर्माण हुन नदिन प्रधानमन्त्री नै रहेको वताए । सिटि हल निर्माण र बजेट ल्याउन आफ्नो प्रधामन्त्रीसँग बहस र संघर्ष भएको बताएका दाहालले भने–‘दुई तीन वर्ष नबनाउनका लागि मिहेनत गरेको मान्छे आएर शिलन्यास गर्नुभयो, यो मेरो र चितवनबासी जनता र यहाँको जनप्रतिनिधिको जीत ठानेको छु। विरोधी नै आएर शिल्नयास गर्नु भनेको त ठूलो कुरा होनि त।’ 

प्रचण्डले आफुलाई प्रधानमन्त्रीको लोभ नभएको बताए। उनले संविधानमाथि प्रहार गरेर संसद विघटन गरेको विरुद्धमा पूनर्स्थापना आन्दोलनमा होमिएको धारणा राखे। 

केपी ओली राम मन्दिर माडी पुस्पकमल दाहाल प्रचण्ड संसद विघटन