समाचार

साधारण मान्छेको असाधारण छलाङः मोदीको पदचापमा लिङ्देन

साधारण मान्छेको असाधारण छलाङः मोदीको पदचापमा लिङ्देन

‘आर्थिक रूपले उच्च कुलमा जन्मदैमा कोही व्यक्ति महान् बन्दैन, कर्मले मानिसलाई महान् वनाउँछ।’ यसको उदाहरण हुन– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ।

आर्थिक रुपमा विपन्न परिवारमा जन्मेका र जीविकोपार्जनका लागि रेलका डिब्बाहरूमा चिया बेच्दै हिड्ने ठिटो कुनै दिन देशकै प्रधानमन्त्री वन्छ होला भनेर सायदै कसैले अनुमान लगाएका थिए होलान। तर भयो त्यस्तै । गुजरातको एउटा गाउँमा जन्मेर दुई/चार पैसाका लागि सडकमा भौंतारिदै हिड्ने केटो। जो कुनै बेला घरबार छोडेर साधु बन्न चाहन्थ्यो। त्यही केटो चार पटक गुजरात राज्यको मुख्यमन्त्री हुँदै गणतन्त्र भारतको शक्तिशाली प्रधानमन्त्रीसमेत बन्न सफल भयो, त्यो पनि दुई/दुई पटक ।

व्यक्ति साधारण भएर केही फरक पर्दैन । तर, उभित्रको प्रतिभाचाहिँ असाधारण हुनुपर्छ भन्ने उदाहरण हुन मोदी। भारत मात्र होईन, नेपालमै पनि सामान्य परिवारमा जन्मेर प्रतिष्ठित वन्न सफल ब्यक्तिको कमी छैन। तिनै मध्येका एक हुन– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन।

०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा जन्मिएका हुन लिङदेन।  जसलाई देशकै शक्तिशाली नेता मध्येको एक नेता हुन्छ भनेर कसैले सोचेका थिएनन होला। तर, भारतिय प्रधानमन्त्री मोदीले झै अठोट लिएर हिडेका लिङ्देनले आफुलाई स्थापित गरेरै छोडे। आफनो असाधारण कामका कारण वेला वखत चर्चामा आईरहने लिङ्देन लामो समय राप्रपाको नेतृत्वमा रहेका कमल थापालाई हराएर पुनः एक पटक चर्चामा छन् ।

जन्मस्थान पाँचथर भए पनि उनका बुवा मानप्रसाद प्रहरीमा सिपाहीको जागिरे भएकाले झापा बस्थे। त्यसैले ०२३ सालमा मानप्रसादले परिवारलाई झापाको तत्कालीन शिवगन्ज, सतासीधाम गाविस (हाल शिवसताक्षी नगरपालिका) मा बसाइँ सारे। अहिलेको पूर्व–पश्चिम राजमार्गभन्दा उत्तरको खाली जंगल क्षेत्रमा उनीहरूको बसोबास थियो।

आमा धनकुमारीका साथमा तराई झरेका लिङ्देनले त्यति बेला एक वर्षका थिए। उनले त्यहीँ बसेर कक्षा ३ सम्म पढे। ०२८ सालमा झापा आन्दोलन भयो। तत्कालीन सरकारले जंगल क्षेत्रका बासिन्दा कोहीलाई गोलधाप, कोहीलाई पृथ्वीनगर सा¥यो। लिङ्देनको परिवार गोलधाप स¥यो। कक्षा ४ पछि लिङ्देनले गोलधापकै जनजागृति विद्यालयमा आफनो पढाई सुरु गरे।

मानप्रसाद प्रहरी जवान नै थिए, हवल्दार पनि नभई पञ्चायतकालमै उनले जागिर छाडे। जागिरवाट फुर्सदिला भएका उनी गोलधाप गाविसको प्रधानपञ्च भए। सामान्य परिवारका लिङ्देनको बाल्यकाल पञ्चायती वातावरणमा हुर्किन थाल्यो। गोलधापबाट माध्यमिक शिक्षा पूरा गरेपछि लिङ्देन मेची बहुमुखी क्याम्पसमा पढ्न थाले।

बाबुको पथ पछ्याउँदै लिङ्देन विद्यालय तहदेखि नै राजनीतिमा लागेका हुन्। उनले राजनीति गर्ने मात्र होइन राजनीति शास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन पनि गरेका छन्। मेची क्याम्पसमा पढ्दापढ्दै ०३९ सालमा उनी तत्कालीन पञ्चायत समर्थक स्वतन्त्र विद्यार्थी मण्डलमा आबद्ध भए। पञ्चायत समर्थकलाई त्यति बेला ‘मण्डले’ भनिन्थ्यो। तर, उनले त्यसको कुनै पर्वाह नगरी, पञ्चायतलाई सहयोग गरिरहे।

उनी जुन संगठनमा काम गर्थे, त्यो संगठनको राष्ट्रिय अध्यक्ष थिए–कमल थापा। लिङ्देनले थापालाई आफ्नो राजनीतिका ‘आदर्श’ मान्थे र उनकै नेतृत्वमा विद्यार्थी राजनीति सुरू गरेका थिए ।

२०४६ सालमा पञ्चायतविरूद्ध जनआन्दोलन चर्किरहेका वेला मेची क्याम्पस पढिरहेका लिङ्देनलाई पञ्चायतलाई सघाएको आरोप लाग्यो। यति मात्रै होईन मेची क्याम्पसमा विद्यार्थी आन्दोलन हुँदा झापाका राम थापाको हत्या भयो। त्यो अभियोगमा उनी पक्राउ परे र केही समय जेल परे।

हत्या अभियोगबाट मुक्ति पाएपछि लिङ्देन २०४८ मा राप्रपाको प्रजातान्त्रिक विद्यार्थी संगठनमा लागे र केन्द्रीय अधिवेशनबाट अध्यक्ष चुनिए। त्यसपछि उनी तीन कार्यकालसम्म विद्यार्थी संगठनको अध्यक्ष रहे।

विद्यार्थी राजनीति गर्दा गर्दै उनी गाउँघरको राजनीतिमा पनि चासो राख्न थाले । त्यही क्रममा उनी दुई पटक २०४९ र २०५४ को चुनावबाट गोलधाप गाविस– ३ को वडाध्यक्ष पनि भए। 

०५६ को संसदीय चुनावमा झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलासँग उनले चुनाव लडे। जब २०६० सालमा राजा ज्ञानेन्द्रको सक्रिय शासन प्रारम्भ भयो, त्यस बेला उनी जिल्ला विकास समिति झापाको सभापति बनाइए। २०६१ मा दोस्रोपटक उनलाई जिविसको सभापति बनाइएको थियो।

२०६२/६३ को दोस्रो जनआन्दोलनपछि ज्ञानेन्द्रको शासन मात्र ढल्यो। लिंदेन पनि राजनीतिमा सेलाए । २०६४ मा राप्रपा नेपालको केन्द्रीय सदस्य भए तर राजनीतिमा सकृयता देखाएनन् । ज्ञानेन्द्रको शासनमा साथ दिएको, पञ्चायती व्यवस्थाको कट्टर समर्थक भएका कारण त्यस बेला उनी माओवादीका ‘आँखी’ भए। माओवादीले उनको घरमा आगो लगाए। उनी विस्थापित भएर बिर्तामोड बजारमा बस्न थाले।

घरमा बम विस्फोट र आगजजी गर्दा पनि चित्त नवुझेर माओवादीले कालोमोसो दलेर कुटपिट समेत गरे। मरणासन्न हुनेगरी कुटेर ‘अब मर्यो’ भन्दै झाडीमा फाले । तर, उनी जिवितै घर फर्किए। उनले धेरै समय आफ्नै गाडी हाँक्दै यात्रु पनि बोकेका छन्। पैतृक सम्पत्तिमा पहुँच नभएका बेला उनले केही वर्ष धनकुटा–भद्रपुर गर्ने आफ्नै माइक्रो बस चलाएको पारिवारिक स्रोत बताउँछ। तर सिद्धान्तमा अविचलित लिङ्देन राजतन्त्र र हिन्दुराष्ट्रको मुद्दामा अडिग रहिरहे।

०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनले दोस्रो पटक सिटौलासँग हार ब्यहोरे। तर, ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तिनै सिटौलालाई भारी मतान्तरले पराजित गर्दै उनी झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भए। लिङ्देनले उक्त निर्वाचनमा ४४,६१४ मत प्राप्त गरेको र उनका निकटतम प्रतिद्वन्द्वी सिटौलाले ३१,१७१ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्याङ्कले देखाउँछ।

अहिले तिनै लिङ्देन कमल थापालाई हराउँदै राप्रपाको अध्यक्ष भएका छन् । राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका थिए भने थापाले १ हजार ६ सय १७ मत ल्याएका थिए। 
 

राजेन्द्र लिङ्देन