समाचार समाज देश

खुल्ला शौच गर्ने देश नेपालको सार्वजनिक शौचालय विश्वमै पाँचौ नम्वरमा

खुल्ला शौच गर्ने देश नेपालको सार्वजनिक शौचालय विश्वमै पाँचौ नम्वरमा

सरकारले निकै लामो समयसम्म मुलकमा खुल्ला दिशामुक्त अभियान चलायो। गाउँगाउँमा चर्पी वनाउन एनजिओ र आईएनजिओको दौडधुप चल्यो। तर, सरकारले चाहे अनुसार शौचालय निर्माण गर्न त सकेन नै वनाईएका चर्पी पनि प्रयोगमा छैनन् ।

सरकारी अभियानका क्रममा वाध्यताले वनाईएका चर्पी पनि कतै मान्छे छिर्नै नसक्ने अवस्थाका छन भने कतै प्यान मात्रै राखिएका छन् । अलिकति राम्रो वनेका चर्पी पनि दाउरा र घाँस राख्ने काममा प्रयोग भईरहेका छन् । 

अनेकौ दौडधुप र खर्च गरेर शौचालय वनाईएपछि सुकुम्वासी, भुमिहिन भएका अधिकांश क्षेत्रमा अहिले पनि खुल्ला शौच गर्न रोकिएको छैन। तसर्थ ठुला शहर र विदेशमा वन्ने शौचालय देखेर अहिले पनि ‘आहा... !’ भन्नु पर्ने अवस्था छ। यस्तो अवस्थामा नेपालकै सार्वजनिक शौचालय संसारकै उत्कृष्टमध्ये परेको छ भन्दा तपाईंलाई अचम्म लाग्ला। 

तर काठमाण्डौको स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा रहेको सार्वजनिक शौचालय विश्वमै पाँचौ नम्वरमा परेको छ। सफा, सहज र स्मार्ट यो सार्वजनिक शौचालयको नाम ‘एरोसान’ हो।
नेदरल्यान्ड्सले आयोजना गरेको ‘सरफाती सेनिटेसन च्यालेन्ज’ मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट यो शौचालय टप–५ मा पर्न सफल भएको हो।

सन् २०२२ सेप्टेम्बरमा उत्कृष्ट पाँचमा परेका शौचालयमध्येबाट एउटा विजेता घोषित हुनेछ। पहिलो हुनेले एक लाख युरो पुरस्कार पाउनेछ। एकतले भवनमा बनेको एरोसानको पूर्वाधार, व्यवस्थापन र वातावरणमैत्री गरेर मुख्य तीन कुरामा ध्यान दिइएको छ। स्वयम्भूमा दुई वर्षअघि यो शौचालय बनेको हो ।

शौचालय बनाउन क्यानडाको करिब ६० लाख रूपैयाँ सहयोग छ भने नगरपालिकाले जग्गा उपलब्ध गराएको छ। यहाँ मान्छे छिर्नेबित्तिकै बत्ती बल्छ, बाहिर निस्किँदा आफैं निभ्छ। सेन्सर लाइटहरू प्रयोग भएका छन्।

दायाँतिर पुरुषका लागि दुइटा र बायाँतिर महिलाका लागि दुइटा शौचालय छन्। सँगै पर्यटक, अशक्त र पाका मान्छेलाई सजिलो हुने शौचालय पनि छ।

महिला शौचालय छेउको भित्तामा स्यानिटरी प्याड राखिएको भेन्डिङ मेसिन छ। छ रूपैयाँका सिक्का खसाएपछि एउटा प्याड पाइन्छ। प्रयोग भएका प्याड फाल्ने डस्टबिन र ती प्याडलाई बिजुलीबाट जलाउने मेसिन पनि राखिएको छ। 

शौचालयको बीचमै पसल छ। यहाँ खानेकुरासमेत किन्न र खान पाइन्छ। हात धोएको र सरसफाइको पानी पाइपबाट तल पठाइन्छ। शौचालयको दिसा–पिसाब ’बायो डाइजेस्टर’ मा आउँछ। यसबाट बायोग्यास उत्पादन हुन्छ। त्यही ग्यासबाट महिनाको दुई सिलिन्डर ग्यास उत्पादन भइरहेको छ।

त्यसबाट यहाँको खाजा पसलमा चिया, पकौडा, तरकारी लगायत परिकार पाक्छन्। चाउचाउ, बिस्कुट, पानी, जुस लगायत अन्य खानेकुरा किन्न पाइन्छ। बाहिरभन्दा सस्तोमा महिनावारी प्याड र दस रूपैयाँका दुइटा मास्क यहाँ बेचिन्छ। शौचालयको नियम हो, मास्क लगाउनैपर्ने। 

यो शौचालय महिलाद्वारा सञ्चालित छ। सरसफाइ अनुभव भएका महिलाले यहाँको रेखदेख र सफाइ काम सम्हाल्छन्। बिहान ६ बजेदेखि बेलुकी ८–९ बजेसम्म खुल्ने भएकाले दुई सिफ्टमा काम हुन्छ। स्वयम्भूकै ‘स्वाभिमानी सरसफाइ समूह’ ले उनीहरूलाई परिचालन गरेको हो। 

यहाँ काम गर्ने तीन कर्मचारीलाई दिइएको सुरूआती तलब सरकारले तोकेको न्यूनतम १५ हजार रूपैयाँ हो। त्यसमा बीमा, भत्ता लगायत अन्य सुविधा थप भएको अमात्यले जानकारी दिए। कर्मचारीको छुट्टै पोशाक पनि छ।

यहाँ शौचालय गएको पैसा तिर्नु पर्दैन। त्यसको बदलामा तपाईंलाई बायोग्यासबाट पाक्ने १५ रूपैयाँ पर्ने कालो चिया खान आग्रह गरिन्छ। यो शौचालयको उद्देश्य यहाँ आएर मानिसहरूले केही समय बिताऊन् भन्ने पनि हो।
 

सार्वजनिक शौचालय