समाचार राजनीति

माओवादी संठनमा चरम गुटवन्दी, मातृका र नारायणकाजीको हानाथाप

माओवादी संठनमा चरम गुटवन्दी, मातृका र नारायणकाजीको हानाथाप

नेकपा माओवादी केन्द्रको प्रदेश २ अन्तर्गतका संगठनमा चरम गुटवन्दी सुरु भएको छ। प्रभु साहले पार्टी छोडेपछि प्रदेश २ मा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रेष्ठ र मातृका यादवको हानाथाप छ।

नारायणकाजी श्रेष्ठले पूर्वजनमोर्चालाई संरक्षण गर्छन् भने मातृका यादवले आफ्ना गुटका खासगरी विगतमा माओवादीबाट अलग हुँदा उनलाई साथ दिएका नेता तथा कार्यकर्तालाई संरक्षण गरिरहेका छन् । दुई नेताको गुटवन्दीका कारण खास गरी प्रचण्ड लाईनमा रहेका नेता÷कार्यकर्ता भने पाखा लाग्दै गएका छन्।

प्रदेश २ मा दुई नेताको गुटमा नभएका नेता तथा कार्यकर्ताको अस्तित्व नै संकटमा परेको गुनासो नेता÷कार्यकर्ताहरुले गर्न थालेका छन् । खास गरी प्रचण्डको नजिक रहेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा एक पटक सिचाई मन्त्री समेत वनेका उमेश यादवलगायतका नेताहरु अहिले गुटवन्दीको शिकार भएका छन् ।

नारायणकाजी र मातृका दुवैको गुटमा नलाग्ने तर प्रचण्डलाई आदर्श मानेर अघि वढ्ने यस्ता नेतालाई अहिले प्रदेश २ जिम्मेवारी विहिन वनाएर राखिएको छ । तर, नारायणकाजी र मातृकाले एक अर्कालाई दोस दिने गरेका छन् । मातृका यादवले प्रदेश २ मा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूले पूर्वजनमोर्चाको गुट बनाउने गरेको आरोप लगाएका छन् भने श्रेष्ठ आफना खास मान्छे वोकेर यादवले पार्टी संगठन तहस नहस पारेको वताउने गरेका छन् ।

यो विषय नेकपा माओवादी केन्द्रको केहि दिन अघि सम्पन्न प्रदेश २ का पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको बैठकमा समेत उठेको थियो । यसलाई लक्षित गर्दै अध्यक्ष प्रचण्डले कडा निर्देशन पनि दिएका थिए। तर, उनको निर्देशनको उलंघन गर्दै संठनमा चरम गुटवन्दी चलिरहेको वताईन्छ।

वैठकमा यादवले जहाँ पनि पूर्व जनमोर्चाका नेताहरूलाई सिफारिस गर्ने काम भइरहेको, माओवादी पार्टी र जनमोर्चाबीच एकीकरण भएको यत्रो दिन भइसक्दा पनि अझै जनमोर्चा जीवित रहेको र भागबण्डा पाइरहेको चर्चा गरेका थिए ।

यसरी गुटबन्दी बनाउन बन्द नगरे आफूले पनि समानान्तर कमिटी बनाएर अगाडि बढ्ने चेतावनीसमेत उनले दिएको स्रोत बताउँछ । 

जवाफमा नारायणकाजी श्रेष्ठले आफूबाट गुटबन्दी नभएको बताएका थिए । प्रदेश २ मा मातृका यादवले नै गुटबन्दी गरिरहेको छर्लङ्ग भएको भन्दै उनले यसमा लुकाउने छिपाउने कुरा केही नरहेको बताएका थिए ।

स्रोतका अनुसार मातृका यादवले गुटबन्दी गरेको भन्दै गिरिराजमणि पोखरेल, विश्वनाथ साहलगायतका नेताहरूले पनि आरोप लगाएका थिए । त्यस्तै मातृका यादवको पक्षबाट भरत साह, जगत यादवलगायतका नेताहरूले नारायणकाजी श्रेष्ठले गुटबन्दी गरेको आरोप लगाएका थिए ।


प्रचण्डले ‘गुटबन्दी गर्नेलाई पार्टीले अब सिधै कारबाही गर्छ, चाहे जोसुकै होस्, पार्टीको विधि र पद्धतिअनुसार पठाइएको सर्कुलर अनुरूप संगठन निर्माण गर्नुस्, नत्र कारबाही भोग्नुस् । गुटबन्दीले पार्टीलाई कमजोर बनाउँदैछ ’ भन्दै दुवै नेतालाई सचेत गराएका थिए।
प्रदेश कमिटीले गरेको निर्णय र निर्देशन अनुसार प्रदेशमा माओवादी संगठन अगाडि बढ्ने भन्दै उनले कुनै पनि नेता प्रदेशमा जाँदा प्रदेश कमिटीलाई जानकारी गराएर मात्र जान निर्देशनसमेत दिए ।

प्रचण्डले यस्तो निर्देशन दिदा मातृका यादव भने बैठकमा उपस्थित थिएनन् । केन्द्रीय सदस्य रामेश्वर राय यादवले प्रदेश २ मा गुट सञ्चालन भइरहेको कुरा पार्टी अध्यक्ष प्रचण्डले पनि महसुस गरेको बताए । त्यहीअनुसार आज अध्यक्ष प्रचण्डले निर्देशनात्मक धारणा राखेको उनको भनाइ छ ।

नेकपा माओवादी केन्द्र