समाचार स्वास्थ्य

भारतमा एक साता भित्र खोप अभियान सुरु, नेपालमा यस्तो छ तयारी

भारतमा एक साता भित्र खोप अभियान सुरु, नेपालमा यस्तो छ तयारी

भारत सरकारले एक साता भित्र पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ । दुईवटा खोपले आपत्कालीन अनुमति पाएको दिनदेखि हिसाब गरेर दस दिनभित्र खोप अभियान सुरु गर्ने बताएको छ ।
 
कोभिसिल्ड र कोभ्याक्सिन खोपले आपत्कालीन अनुमति पाएका छन् । कोभिसिल्डको विकास अक्सफोर्ड विश्वविद्यालय र अस्ट्राजेनेकाले गरेको हो भने कोभ्याक्सिन भने भारतकै भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्को साझेदारीमा विकास गरिएको हो । कोभिसिल्डको उत्पादक सेरम इन्स्टिच्युुट अफ इन्डिया (एसआईआई) हो भने कोभ्याक्सिन हैदराबादको भारत बायोटेकले नै उत्पादन गरिरहेको छ ।

यसअघि दुई चरणमा गरेर ‘ड्राई रन’ गरिएको थियो । खोप अभियानका तयारीको यथार्थ अवस्था थाहा पाउन उक्त ड्राई रन चलाइएको थियो । उक्त ड्राई रन सफल भएपछि भारत सरकारले खोप अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।

भारत सरकारले आगामी जुलाईसम्म ३० करोडलाई खोप लगाउने घोषणा पहिले नै गरिसकेको छ । जसअन्तर्गत पहिलो चरणमा भने कोरोना भाइरसविरुद्धको खोप देशभरि नै निःशुल्क उपलब्ध हुने जनाइएको छ । पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मी तथा कोभिड महामारी विरुद्ध अग्रमोर्चामा खटिएकाहरुलाई कोरोना खोप लगाइने भएको छ । बाँकी २७ करोडका सम्बन्धमा भने पछि निर्णय लिने बताइएको छ ।

भारतमा खोप अभियान सुरु भएको १५ दिनभित्र दक्षिण एसियाली मुलुकमा निर्यात गरिनेछ । छिमेकी मुलुकमा कोरोना खोप उपहारस्वरुप र बाँकी बिक्री गरिने बताएका छन् । खोपको मूल्य भारत सरकारले किन्दा परेको जति नै पर्ने जनाईएको छ।

भारत सरकारलाई पहिलो चरणमा प्रतिडोज २ सय भारतीय रुपैयाँमा १० करोड डोज कोरोना खोप उपलब्ध गराउने बताएका थिए । भारतले तत्काल कोरोना खोप निर्यात नगर्ने समाचार प्रकाशित भएपछि छिमेकी मुलुकहरु नेपाल, बंगलादेशलगायततका देशमा चिन्ता व्यक्त गरिएको थियो । नेपाल सरकारले भने भारत सरकार र खोप निर्यात कम्पनीसँग खोप आयातका बारेमा कुराकानी भइरहेको जनाएको छ । नेपालमा कहिलेसम्म खोप आयात हुन्छ भन्ने टुंगो छैन।