समाचार पर्यटन

कोशीमा नुहाएर मिठोचोखो खाँदै नदि किनारमा मनाईदैछ कोशी मेला

कोशीमा नुहाएर मिठोचोखो खाँदै नदि किनारमा मनाईदैछ कोशी मेला

राजविराज– सप्तकोशीमा स्थान तथा नदि किनारमै खानपिन गरी रमाईलो गरेर हरेक वर्ष वनाउने कोशी मेला (पुषि पुर्णीमा) यस वर्षपनि विहिवार सप्तरीका विभिन्न स्थानमा मनाईएको छ ।

मेला भर्न विशेष गरी भारदहस्थित कोशी ब्यारेज, सप्तकोशी नगरपालिकाको ओद्राहा स्थित मेगरिन चुरिया, वैरवाको मलकौर र कञ्चननरुप नगरपालिकाको जगतपुरस्थित झनकट्टा, हनुमाननगर, कुनौली बोर्डर, इटहरी विष्णुपुर लगायतका स्थानमा सर्वसाधारणको भिड लागेको छ ।

कोशी ब्यारेजमा बिहानैदेखि कोशी स्नान तथा मेला भर्न आउनेहरुको घुइँचो छ। ओद्राहा तथा कोशी व्यारेजमा सप्तरी, सिरहा, सुनसरी, भारतको पुर्णिया, लौकही, मधुवनीलगायतका जिल्लाहरुबाट कोशी स्नान गर्न सर्वसाधारणहरु आएका छन्।

सवारी साधन सहज रुपमा पुग्न सक्ने ब्यारेज वाहेक चार पांग्रे गाडिको असहजता भएका स्थानहरुमा बयलगाडा, मोटरसाइकल, रिक्सा, साइकल, अटोरिक्सासहितका अन्य सवारीसाधनबाट मेला भर्न तथा कोशी स्नानका लागि आउनेहरुको दिनभरी घुइँचो लागेको छ।

कृषि मेलाको रुपमा समेत चिनिने यस मेलामा कृषि औजारका साथै घरेलु प्रयोजनमा प्रयोग हुने हस्त निर्मित सामग्रीहरुको खरिद बिक्री अत्याधिक हुने गरेको छ । पुस महिनाको शुक्ल पुर्णिमाका दिन कोशी स्नान गरे पापबाट मुक्ति पाउने तथा गंगास्नान गरे सरह हुने जनविश्वास रहेको छ । यस दिन बिहानै कोशी नदीमा नुहाएर मिठोचाखो खाने चलन छ । मेलामा भुजा, च्यूरा, पुरी, तरकारी, जेरी सहितका मिठाईहरु खाने प्रचलन छ ।

कोशी नदीलाई कौशीकी माताको रुपमा पूजा गर्ने चलन अनुसार यस दिन कोशीमा नुहाएर मात्र खानेकुरा खाए हरेक इच्छा पूरा हुने धार्मिक विश्वास रहेको  भारदहका राजु शर्माले जानकारी दिए । उनका अनुसार यो मेला परापुर्व कालमा १ महिनासम्म लाग्ने गरेको थियो । मंसिर महिनामा खेतमा रहेको धान भित्र्याई सकेपछि एक महिनासम्म लाग्ने मेला समय र परिस्थितिसँगै घटेर एक दिनमा सिमित भएको वुढापाकाहरु वताउँछन्।