समाचार यौन-शिक्षा देश प्रदेश २

शिक्षक अभाव झेल्दै जनकपुरका सामुदायिक विद्यालय

वीरेन्द्र रमण

शिक्षक अभाव झेल्दै जनकपुरका सामुदायिक विद्यालय


जनकपुर– जनकपुरधाम कुनै समय शिक्षाको लागि प्रख्यात थियो। तर अहिले आएर दिनप्रतिदिन शिक्षाको अवस्था खस्किदै गएको छ । शैक्षिक ब्यवस्थापनको जिम्मा स्थानिय पालिकालाई दिइएपनि शिक्षाको गुणस्तर भने झनै खस्किएको छ ।

शिक्षा सुधारको क्षेत्रमा प्रदेश सरकारले खासै चासो देखाएको छैन। स्थानीय तहले पनि विद्यालयको शैक्षिक गुणस्तर सुधारकार लागि ठोस योजना बनाएका छैनन्। प्रदेशको अस्थाई राजधानी जनकपुरधाम उपमहानगरपालिका–२२ बसविट्टीमा रहेको श्री माध्यमिक विद्यालयको अवस्था नाजुक छ। ०७५ भन्दा पहिले कक्षा ८ सम्म पढाई हुँदै आएको सो विद्यालयको स्तरोन्नती गरी कक्षा १० सम्म पुर्याईएको छ । तर, शिक्षक संख्या नथपिएपछि शिक्षकहरुलाई भ्याइ–नभ्याई छ। पठनपाठन नियमित संचालन हुन सकेको छैन । 

करिब ५ सय विद्यार्थी रहेको उक्त विद्यालयमा १० जना शिक्षक छन् । अधिकांश दलित विद्यार्थी रहेको उक्त विद्यालयमा १० शिक्षक मध्ये एक शिक्षकले पठनपाठनका साथै विद्यालयको लेखा समेत हेर्छन। शिक्षकको कमी हुँदा कुनै शिक्षक अनुपस्थित भए विद्यार्थीहरुको पढाई नै प्रभावित हुने अवस्था छ।

स्थानीय तह निर्वाचन पश्चात चुनाव जितेर आएका वडाध्यक्ष शिवरत्न पाण्डेले माध्यमिक तहको विद्यालय ल्याउने भनेर विद्यालयको स्तरोन्तीपनि गरे तर शिक्षकको व्यवस्थापन गर्न सकेनन् । जनकपुरधाम उपमहानगरपालिकाले शिक्षकको व्यवस्थापन गर्न नसकेको अवस्थामा आफूले चन्दा संकलन गरेर भएपनि शिक्षक व्यवस्थापन गर्ने वाचा गरेका उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका वडाध्यक्ष पाण्डेले आफ्नो वाचा पूरा गर्न नसक्दा अहिले विद्यालयको अवस्था चिन्ताजनक अवस्थामा छ।

विद्यालयका निमित्त प्रधानाध्यापक उमाकृष्ण लालकर्ण काज सरुवा भएर यस विद्यालयमा आएपछि उनले पनि माध्यमिक शिक्षकहरु विद्यालयमा ल्याउने वाचा गरेका थिए । तर डेढ वर्ष भइसक्दा पनि उनको पनि वाचा पूरा गर्न सकेन । विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरुले पार्ट टाइमर शिक्षकको भरमा अंग्रेजी, विज्ञान र गणित विषयको पठन पाठनलाई अगाडि वढाईरहेका छन् ।

तीन वटा विषय वाहेक अन्य विषयको पढाई नै नभएको विद्यार्थीहर वताउँछन् । नेपाली विषयकी शिक्षिका किरण मण्डल २ वर्ष अगाडि सरुवा भएर अन्यत्र गएपछि नेपाली विषयको पढाई नभएको कक्षा १० मा अध्ययनरत छात्रा चाँदनी यादवले बताइन् ।

प्रधानाध्यापक लालले चाँडै नै निजि श्रोतमा भएपनि शिक्षक भर्ना गरेर विद्यार्थीहरुको कोर्स पूरा गराउने बताए ।

शैक्षिक सत्र २०७५ देखि मावि सञ्चालनको अनुमति पाएको यो विद्यालयमा शिक्षक अभाव देखाउदै २०७६ देखि मात्रै माद्यमीक तहको पढाई सुरु भयो । तर, अहिलेसम्म एक जना मात्रै माद्यमिक शिक्षक कार्यरत छन् ।

विद्यालयको समस्याका विषयमा पटक–पटक मेयरसँग कुरा राखे पनि चासो नदिएको विद्यालय प्रशासनले जनाएको छ । विद्यार्थीको जीवनसंग सम्वन्धित विषय भएकाले विद्यालयमा शिक्षक भर्ना गर्ने विषयमा ध्यान दिईनु पर्ने स्थानीय अभिभावकले समेत माग गरेका छन् ।
 

विशेष