समाचार राजनीति

प्रदेश १ को प्रदेशसभा वैठक २ मिनेट वसेर अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभा वैठक २ मिनेट वसेर अनिश्चितकालका लागि स्थगित

प्रदेश १ को प्रदेशसभाको बुधबार सुरु भएको हिउँदे तथा सातौं अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेश सभा वैठक २ मिनेट बसेर स्थगित भएको हो। 

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुख सोमनाथ अधिकारीले बैठक आह्वानका लागि पठाएको पत्र सुनाएलगत्तै प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको हो । दिउँसो २ बजे ११ मिनेटमा सुरु भएको बैठक सभामुख भण्डारीले पत्र सुनाएर स्थगित गरेका हुन् ।

बुधबारको बैठकमा मुख्यमन्त्री शेरधन राईको समूहले नेकपा दाहाल–नेपाल समूहलाई प्रवेश गर्न नदिने तयारी गरेको थियो । नेकपा संसदीय दल नेतासमेत रहेका राईले संसदीय दलको गतिविधिमा तीन महिनाका लागि निलम्बन गरेका १६ सांसदलाई प्रदेशसभामा प्रवेश गराइए बैठक चल्न नदिने जनाउँदै आएको थियो ।

दाहाल–नेपाल समूहले मुख्यमन्त्री राईविरुद्ध पुस १२ गते ३७ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । हस्ताक्षर गरेका १६ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी राईले निलम्बन गरेका थिए ।

दाहाल–नेपाल समूहले भने मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर भीमप्रसाद आचार्यलाई निर्वाचित गरेको छ । आचार्यले मुख्यमन्त्री राईसहित आठ जना प्रदेशसभा सदस्यलाई कुनै पनि संसदीय गतिविधिमा भाग लिन नपाउने गरी तीन महिना निलम्बन पनि गरेका छन् ।

प्रदेश सभा संचालन हुनुभन्दा आगाडी सभामुखको कार्यकक्षमा कार्यव्यवस्थापन परामर्श समिति बैठक बसेको थियो । सो बैठकले नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने निर्णय गरेको थियोे ।

हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा छ ।