समाचार स्वास्थ्य

नेपालमा तीन जनालाई नयाँ कोरोना भाईरस पुष्टि

नेपालमा तीन जनालाई नयाँ कोरोना भाईरस पुष्टि

वेलायतवाट नेपाल फर्केका २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ कोरोना भाईरस (यूके भेरिएन्ट –बी ११७) पुष्टि भएको छ । तीन जनामध्ये २८ वर्षीया महिला र ३२ वर्षीय पुरुषको पिसिआर नेगेटिभ भइसकेको र ६७ वर्षीय पुरुष पोजिटिभ नै भए पनि लक्षण नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तीन जनामा बेलायतमा देखिएको नयाँ स्वरूपको कोरोना पुष्टि भएको जनाएको हो । मन्त्रालयका अनुसार केही दिनअघि बेलायतबाट आएकाहरुलाई निगरानीमा राखेको र फर्किएकाहरु मध्ये ६ वटा नमुना परिक्षण गर्दा ३ जनामा पुष्टि भएको हो । उनीहरको नमुना २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा हङकङ प्रयोगशालामा नमुना पठाइएकोमा माघ ५ गते रिपोर्ट आएको छ।

केही दिनअघि बेलायतबाट फर्किएका उनीहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको थियो । कोरोना पोजिटिभ देखिएका उनीहरूबाट लिइएको स्वाबको नमुना परीक्षण गर्दा एसजिन नेगेटिभ देखिएपछि बी–११७ को आशंका गर्दै पुस २७ गते विश्व स्वास्थ्य संगठनको सहयोगमा थप परीक्षणका लागि हङकङ प्रयोगशालामा नमुना पठाइएको थियो ।

बी–११७ भेरिएन्टले आनुवांशिक गुण परिवर्तन गरेका अन्य कोरोना भाइरसभन्दा ७१ प्रतिशतभन्दा बढी संक्रामक रहेको विज्ञहरूले बताएका छन । यो संक्रमण भएका व्यक्तिहरूमा सामान्य कोरोना भाइरस संक्रमणभन्दा निकै धेरै भाइरल लोड हुने अध्ययनहरूले देखिएका छन ।