समाचार राजनीति

जनताले सुशासन खोजेका छन्, प्रदेश सरकार खाली ऐन थुपारेर वसेको छः नेता महतो 

जनताले सुशासन खोजेका छन्, प्रदेश सरकार खाली ऐन थुपारेर वसेको छः नेता महतो 

वीरेन्द्र रमण/जनकपुर
जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रदेश–२ सरकारका विषयमा ब्यापक असन्तुष्टी रहेको वताएका छन् । उनले सरकारको कार्यशैली परिवर्तन गरेर जनतालाई सुशासन सहितको विकास दिनुपर्नेमा जोड दिए।

प्रदेश–२ सरकारले जनकपुरमा आयोजना गरेको बलिदानी दिवसलाई सम्बोधन गर्दै नेता महतोले सरकारको कार्यशैलीबाट जनता सन्तुष्ट हुन नसकेकाले असन्तुष्टीहरुलाई तत्काल सम्वोधन गर्न निर्देशन पनि दिए ।

मधेसी जनताकै अधिकार स्थापनाका लागि पटक पटक मधेस आन्दोलन भएको स्मरण गरेका उनले अव त्यसलाई संस्थागत गर्नुपर्ने समय आएको वताए । ‘जनताले सुशासन खोजेका छन्, प्रदेश सरकार खाली ऐन थुपारेर वसेको छ’ उनले भने–‘जनतालाई ऐन होईन, सुशासन चाहिएको छ। यसमा ध्यान दिनोस।’

प्रदेश सरकार काम गर्ने तरिकामा चुकेको महतोको आरोप छ। ‘मन्त्रीहरुका धेरै गुनासा छन्, यसमा सुधार गरेर अगाडि बउनुपर्ने आवश्यक्ता छ’ उनले थपे।

संघीय सरकार भ्रष्ट भयो भनेर आफुहरु आन्दोलन गरिरहेका वेला त्यही शैली प्रदेशमा पनि देखिनु दुःखद भएको उनको टिप्पणी छ । मधेश आन्दोलनका क्रममा नेताहरुले गरेको वाचा पुरा गर्ने दायित्व प्रदेश सरकारको रहेको उनले वताए । भने– ‘शहिद परिवारहरुको कसरी जिवनयापन हुन्छ त्यो विषयमा सोच्ने काम सरकारको हो, सरकारले नै गर्नुपर्छ ।’

कार्यक्रमका अर्का वक्ता प्रदेश–२ सरकारका मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनको बलमा नै संघीयता आएको वताउँदै शहिद परिवारहरुको सम्मान गर्ने दायित्व प्रदेश सरकारकै रहेको स्विकार गरे। मधेसी शहिद प्रतिष्ठान गठन गरेर उनिहरुको जिवनयापन सहज वनाउन योजना ल्याउने उनको भनाई छ ।

मुख्यमन्त्री राउतले प्रदेश सरकार विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको बताउदै संघीय सरकारले संघीयतालाई असफल पार्नका लागि विभिन्न प्रपन्च गरीरहेको आरोप लगाए ।