विचार

टिप्पणी मेरै फरिया माथि !

टिप्पणी मेरै फरिया माथि !

सुष्मा तिमिल्सिना

बाटो हिंडदा कुकुर भुक्यो भनेर त्यसलाई ढुंगा हानेर बस्यो भने गन्तव्यमा पुगिदैन । यो आम भनाई र बुझाई हो ।  तर कुकुर बौलायो, रेविज लाग्यो भने त्यसको आवश्यक व्यवस्थापन अपरिहार्य छ।

गत साता प्रकाशित ‘अहिलेको रेलले इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाके जस्तै हो’ भन्ने लेखलाई व्यापक रुपमा पाठकहरुले मन पराई दिनु भयो । यसको सम्बन्धमा लेखकलाई हौसला प्रदान गर्ने गरि धेरै प्रतिक्रिया प्राप्त भए। यसरी लेखकलाई हौसला प्रदान गरी आम जिम्मेवार र सिर्जनशील भएर अघि बढ्न प्रेरणा दिनु हुने तपाँई हजारौ पाठकलाई नमन तथा आभार व्यक्त गर्दछु । तर केहि चर्चित व्यक्तिका नाममा भएको अकाउण्टमा मेरो तस्बिरसहितको लिंक राखेर मलाईं प्रहार गरिएको टिका टिप्पणी महिला हिंसा तथा चरित्र हत्या गर्ने खालको छ ।

मैले सरकारको कथनी र करनीमा देखिएको बिशाल खाडललाई फरिया उचालेर स्तन छोप्न खोज्ने भनाई वा बिम्बसँग जोडेकी थिएँ । बदलामा त्यस्ता चर्चित व्यक्ति र केही पुलिङ्गीले म माथी लैंगिक आक्रमण गरे । ट्रोल बनाईए । तथ्यसँग सामना गर्न नसकेपछि लैंगिक तबरले आक्रमण गर्ने बलशाली पुरुष प्रवृति हो । यो प्रवृति यति खतरनाक छ कि धेरै महिलाका बिचार, बिद्रोह र योद्धाको भ्रुण हत्या गर्ने गर्छ । देश सबैको हो। सरकार सबैको हो। जनता प्रति सरकार जिम्मेवार हुनु पर्छ भन्ने आम माग हो। सरकरलाई आवश्यक पर्दा सहयोग गर्ने अनि कमि कमजोरी औल्याएर जिम्मेवार बनाउने आम नागरिक, प्रेस, बुद्धिजिवी तथा सचेत समुदायको कर्तव्य हो ।

स्वतन्त्र अभिव्यक्त गर्न पाउने हरेक नेपालीको मौलिक अधिकार हो । सामाजिक वेथिति, मूल्य, मान्यतालाई बहस, पैरवि र चिरफार गरि मन्थन गर्न सकिन्छ। सार्वजनिक विषयमा आम रुपमा आलोचनात्मक टिप्पणी हुनु  लोकतन्त्रको सुन्दर पाटो हो। जनताले सरकारलाई, समाजलाई निर्धक्क कुरा राख्न  पाएन् भने यो पद्धतिको के अर्थ ? तर यहाँ नारीको सिर्जना र गुण माथि हिंसा किन ? नारीले समानता र महिलाको आवाज उठाउँदा सबैजसो सेक्सिज्मका विरोधी हुन्छन्। महिला भएर सभ्य र सालिन हुनु पर्ने ! आफ्नै सुदरताको वयान गर्दा असहज तर तिनै कुरालाई पुुरुषले भन्दाको बेला महिला लजानु पर्ने र आम समुदाय रमाएर नकरात्मक बनाई दिने ? अंग्रेजी शब्द सेक्सिस्टको अर्थ लैंगिक रूपमा विभेदकारी चिन्तन राख्नु हो । जस्तैः महिलाहरू कमजोर हुन्छन् भन्नु सेक्सिस्ट चिन्तन हो। यतिसम्म कि महिलाहरु पुरुष भन्दा धेरै गुणा कमजोर र यिनिहरुको हुर्काइमै अभिभावक र समाजले सेक्सिस्ट चिन्तन थोपरि दिएको छ । हामीले हाम्रा चिन्तन पद्धतीको जरा खोजेर काट्न सकिरहेका छैनौ ! महिलाले स्वतन्त्र आवाज दिँदा मूल्य चुकाउन पर्दा यदाकदा इतिहास देखिनै महिलाले भिन्न वातावरण पाएको हो कि जस्तो देखिन्छ ।

केहि कथित बहादुर पुरुषले महिलालाई यति धेरै घृणा तथा हिंसा गर्दछन् कि महिलालाई रौनकताको बस्तु ठानेका छन्। यिनका लागि आदर्श तथा सम्मान  गौण छ । आफ्नो सेवामा लाग्ने, दासी र खिल्लिका बिषय बनाएका छन् । शिक्षा र चेतना हुँदा पनि मानिसको मानसिकता यति साँघुरो नहुनु पर्ने । तर, यसो भन्दैमा कुनै पुरुषले महिलालाई बस्तुको रुपमा व्यवहार गरेमा कुनै पनि तरिकाले आपत्ति जनाई प्रतिक्रिया दिनु जरुरी छ । ‘सेक्टिस्ट’ जोक बनाएर  सुनेर हाँस्ने यो समुदाय त्यसको भरपूर मज्जा लिन्छ र उनीहरुलाई अलिकति पनि अप्ठ्यारो लागेको देखिन्न । उनिहरु रमाई–रमाई महिलाको निजी गोपनियताको प्रश्नहरू सोध्छन। जसको उत्तर रोचक हुने आशा राख्छन्। महिलालाई  मनोरञ्जन तथा मजाक बनाउछन्  ।

नारीविरुद्ध लिङ्गकै आधारमा गरिने भेदभाव, सामाजिक, राजनैतिक, आर्थिक तथा वैचारिक शोषण विरुद्ध आन्दोलनका रूपमा स्थापित चिन्तन नारीवाद हो। नारीको पुरुष सरह अवस्थाको अपेक्षा राख्ने वैचारिक लडाइँका रुपमा नारीवादी चिन्तनलाई लिइन्छ । पितृसत्ता र पुरुषको शोषणले हरेक कालखण्ड/समयहरुमा नारीहरु परनिर्भर, असुरक्षित र दरिद्र बनाएको यथार्थ छ। महिलाको सशक्तीकरणमा जोड दिने चिन्तन नै नारीवाद हो । नारीवादी सिद्धान्तको आरम्भ २० औं शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको हो । नारी समस्याप्रति पहिलेदेखि नै आवाज उठ्दै आएको भए पनि भर्जिना उल्फ, सिमोन द वुभाएर जस्ता सशक्त प्रतिभाहरुको उदयपछि यसले अझै बढी व्यापकता पाउँदै आएको हो। उत्तरआधुनिक साहित्य सिद्धान्तको महत्वपूर्ण उपलब्धिका रुपमा नारीवादी सिद्धान्त रहेको छ । साहित्य लेखनमा पुरुषले जस्तै समानता पाउन पर्ने नितिलाई अघि सारियो। जहाँ नारीले खुलेर अभिव्यक्त गर्नेछन् । समाजको बन्धनभन्दा बाहिर निस्केर नारीले सङघर्ष गर्न सक्नु पर्छ भन्ने निचोड लिएको छ ।

यहि आधारमा नारीलाई परिवार, समाजमा मात्र नभएर प्रलोभनमा पारेर दमन गर्ने गरिएको यथार्थ चित्रण चीरहरण उपन्यासमा प्रस्तुत गरिएको छ । यसरी नारीलाई प्रलोभनमा पारी दमन गर्ने क्रममा धन, दौलत, रूप, सुख आदिको प्रलोभन देखाएर नारीमाथि दमन गरिएको उल्लेख गरिएको छ । यस्ता प्रलोभनमा पारी दमन गर्ने गरिएको प्रसङ्ग यस उपन्यासमा उल्लेख छ । ‘चीरहरण’ मा महाभारत–कालीन नारी पात्रहरूले भोग्नुपरेको दमन र नारी शोषणको विरुद्ध आवाज उठाइएको छ । यस उपन्यासमा नारीमाथि गरेको दमनको अवस्था मात्र नदेखाई त्यसका विरुद्ध ससक्त आवाज पनि उठाइएको देखिन्छ। जहाँ नारीवादले उठाएका नवीनतम विचारहरूले पनि स्थान पाएका छन् । नारीलाई सहयोग गर्नु कर्तव्य, दायित्व, धर्म र न्याय हुन् भन्ने आधुनिक मान्यताले पनि नारीलाई माथि उठाउन नसक्ने विचार चीरहरण उपन्यासमा रहेको छ । यस्ता मान्यताले नारीलाई अझ कमजोर र आरक्षित बनाउने भएकाले नारी स्वयम् संघर्षशील र आत्मनिर्भर हुनुपर्ने उत्तरआधुनिक विचारहरू उपन्यासमा व्यक्त गरिएका छन् । यो यथार्थ  हाम्रो सामाजिक चित्रण हो ।

रेल सम्बन्धि लेखको नकारात्मक टिपणी उदेक लाग्दो छ। नेपाली मध्ये केही नेपाली मख्ख देख्दा दासत्व ज्युँदै छ भन्ने देखियो । सकारात्मक सोचलाई लिएर गरेको सामाजिक तथ्यलाई फरिया तानेर हास्छौ ? कठै तिम्रो सोच ! लाज मानेर सत्य नकार्न सक्छौ ? तिमि त्यहि फरिया बेरेकी आमाको लाजबाट निस्कियौ । अनि फरियाको तातोमा हुर्कियौ । यौवनमा त्यहि फरिया प्रति व्याकुलता/तृष्णा देखाउने अनि विकृति बिरुद्ध सचेत गराउन फरियाको बिम्ब प्रयोग गर्दा वितृष्णा देखाउने ? विकृति प्रति अन्धाधुन्द समर्थन गर्नु सडकमा नाङ्गै हिडे सरह हो । फरिया त आखिर फरिया हो। यसले लाज, कामुक्ता, पुरुषका लागि तृष्णा छोपेको छ। सन्ततिको न्यानो काख ढाकेको छ। तर त्यही फरियाको बिम्बलाई खिल्लि उडाउने ? महिलाको चरित्र हत्या र अपहेलना गर्ने ? यस्ता पात्र सडकमा नाङगै हिड्नु सरह हो । यसरि नग्न हुनेको मुख त्यहि फरियाले छोपेर बचाई दिनु त पर्ने होइन ? यस्तो नारी जगत प्रति हिंसा गर्ने ब्वाँसोरुपी सिकारी चरित्रका कारण सिङ्गो समाजलाई लज्जित बनाएको छ । कलुसित तथा अपराधिक मानसिकताले धेरै निर्मलाको चिरहरण भएको छ। चाहे मर्यादा पुरुष भगवान रामको युगको रावणले सीता प्रति  गरेको हिंसा होस् वा दौपदीको चीरहरण गर्ने र मुकदर्शक बनेकाहरु नै हुन। सवैको दुःखद अन्त्य भएकै हो ।  समयले सबै बेला–कुबेलाका हिंसामा उचित दण्ड दिने नै छ। यस्ता नकारात्मक सोचलाई अनुसरण गरि महिलाको सुन्दरता, लाजलाई हतियार बनाएर समाजमा आफ्नो तथाकथित बहादुरीको बिल्ला बोक्न अभिसप्त ब्वाँसाहरुलाई महिलाले मौनता तोडेपछि समयले अवश्य दण्ड दिनेछ । सत्य र न्यायको लडाई निचोडमा पुग्नेछ ।

सृष्टिकर्ता महिला बिना संसारको सृष्टिनै अधुरो हुन्छ । महिलाले नयाँ सृष्टि अघि बढाउन सहयोग गरेकी हुन्छिन ।  जननीको भुमिका पाएकी माता, आमा, अम्बे, दुर्गा भगवानलाई भावना, दया, मायाको खातिर होइन, कुदृष्टि/घृणा गर्छौ  ? धर्मशास्त्र तथा हाम्रो नेपाली कानुनले पनि स्त्री जातिलाई जननीको भुमिका र उच्च भुमिका दिएको छ।  यहाँसम्म कि स्त्री  जातिका जनावर मार्न नपाइने र मारेमा सजायको भागी हुने धार्मिक तथा कानुनी आधार छ। शिक्षा, अंश समानता जस्ता शब्द कानुनी किताबमा बन्धक छन् । के गर्नु पाप गर्नेले जननीलाई हरेक पल कमजोर ठानेका छन् । यौन दुव्यैबहार गरेका छन् । घरेलु हिंसा, एसिड काण्ड, बलात्कार, यौन दुब्र्यवहार, बालिकाको वेचविखन जस्ता अमानविय घटना समाजमा व्याप्त छ। के समानताको कुरा गर्ने ? यसरी लैङ्गिक समानता सम्बन्धि व्यवस्था कानुनका ठुला–ठूला ठेलीहरुमा सजाएर मात्र ठुलो परिवर्तन हुन सक्दैन। पिडक वर्गको आखाँको नानी केवल गिद्धले सिनो खोजि गरेर बसेको झैं देखिन्छ। जिम्मेवार पद/ठाउँमा सिमित महिला पुगेका छन्। बिभिन्न संघ संस्था, राष्ट्रिय, अन्तर्राष्ट्रिय कानुन, विभिन्न निकाय खटेर लाग्दैमा पनि यो दण्डनीय कार्य सहज निर्मुल हुन सकेको छैन। सम्बन्धित स्थानमा पुगेका महिलाले महिलाको हकहित अधिकारको लागि गरेको कुनै ठोस पहल कदमी अझै सार्थक हुन सकेको छैन । प्रयास जारी छ, पर्याप्त छैन ।

युगीन परिबर्तन, पुस्तौंको उत्पीडन, संघर्षशील अनुभब र अध्ययनका कारण महिलामा नवचेतना जागेको छ । महिलाका लागि पुलिङ्गी दबदबा उती शक्तिशाली छैन, जती थियो । महिला नवचेतनाले युक्त भैरहँदा पुरुष चेतना अझै फरिया वरिपरि परिक्रमा गरिरहेको छ । केही पतीत पुलिङ्गीलेहरुको पुरुषार्थ महिलालाई यौनिक रूपमा आक्रमण गर्नु/देखिनु युगीन विडम्बना हो । अब त बुझनु ऊल्टो त्रिकोणाकारको योनी नारीको कमजोरी होइन, बरू पिडक पुरुषको वास्तविक अनुहार देखाउने दर्पण हो।


र यो पानिः

अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाकेजस्तै हो