विचार

अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाकेजस्तै हो

अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाकेजस्तै हो

सुष्मा तिमिल्सिना

प्रधानमन्त्री ओलीको सपना, उनको योजना रेल यथावत विपना भइदियो- रेल आयो ! सामाजिक संजाल आज भोलि यति छिटो छ कि बहस, पैरवि, फैसला बनेर कुनै पनि बिषय घडिको सुई चले जस्तै सेकेण्डमै आइहाल्छ। नेपालको कुना मात्र होइन विश्वको हरेक कुनामा पुगेका नेपालीलाई यो हप्ता जनकपुर-जयनगर रेलको बिषयले छोयो । सपनामय रेल साँच्चै विपनामा आउँदा दसैको बेलामा नयाँ लुगा  लगाउन पाएको बालकको जस्तो कुतकुति भएको देखियो । राणा कालमै राजधानी काठमाण्डूमा रेल कुदेको नेपालका लागि गणतान्त्रिक युगमा रेल नौलो हुनु नपर्ने हो। भैदियो।

रेल नचढेपनि रेलको खास व्याख्या गर्न सक्ने भैसकेका छौं हामी। राजनीतिको मुख्य नारा रेल भएको जो छ। बिश्वमा रेलसेवाले कस्तो फड्को मार्यो सोको स्मरणसमेत गर्दा नेपालको रेलसेवामा भएको झेल प्रष्ट छ। रेल आयो यो सरकारले गर्यो है आहा ! भनि कि रमायो यात विरोध जनायो | देशमा बिकाश हुनु, रेल आउनु, पानीजहाज चल्नु एकदम राम्रो कुरा हो ! यस्को लागि डटेर काम गरे सरकारलाई सबैले समर्थन र प्रसंसा गर्नै पर्छ ! तर यहाँ रेल राजनीति भैरहेको प्रष्ट छ ।

प्रधानमन्त्री केपी ओली र नेकपाले चुनाबमा वाचा गरेको रेल यो होईन। पूर्वपश्चिम र उत्तरदक्षिण जोडने रेल यो होइन। यो त सन् १९२७ देखि संचालनमा रहेको जयनगर जनकपुर रेलवेको लिक मर्मत गरिएको हो। र, ११ वर्षअघि भारतसँग भएको समझौताअनुसार भारतबाट पुरानो रेललाई रंगीन बनाएर ल्याइएको हो। यहि रेल देखाएर देख्यौ नि भनेर सरकारी पक्ष हौशिनु उदेक लाग्दो छ। ऊ बेला राणाहरुले बनाएको सानो रेलमार्ग मर्मत गरेर मात्र भएन नी, होइन र ?

प्रधानमन्त्री ओलीको रेल उत्तर दक्षिण रेल, केरुङ -काठमाडौ...काठमाडौ -पोखरा...पोखरा बाट बेनि.....बेनि जादाँ कुस्मा हुँदै जाने र कुस्मामा स्टेशन वाला रेल हो ! २१औ सताब्दीमा  रेल १०० बर्ष पहिले चलिसकेको ठाउँमा आउँदा यत्रो जात्रा? रेल नयाँ मोडालिटि र समय सुहाउँदो पनि होइन। साना साना कुरालाई ठूलै उपलब्धि देखाएर भ्रम पार्ने कुरा यो सरकारका लागि सुहाउँने बिषय होइन ।

एकपल्ट इतिहासलाई पनि हेरौं

इ.पू. ६०० मा ग्रीसमा रेलमार्गको अवधारणामा रेलवे सञ्चालनमा आयो। साढे आठ किलोमिटर लामो यो रेलवे लगभग ६५० वर्षसम्म सञ्चालनमा रह्यो। बेलायतमा सर्वप्रथम सन् १५९४ मा पहिलो घोडाले तान्ने रेलमार्ग तयार गरिएको थियो। सन् १७२२ मा कोइला ढुवानीका लागि काठको डब्बासहितको रेल प्रयोगमा ल्याईयो। र १७५८ मा बेलायती संसदद्वारा रेल ऐन पारित भयो। यसपछि रेलका क्षेत्रमा वेलायतले तिव्र प्रगति गर्यो र अत्याधुनिक र तीव्र गतिको रेल सेवा विस्तार हुँदै गयो।

सन् १७६३ मा जेम्स वाटद्वारा वाष्प इन्जिनको विकासपछि आधुनिक रेलको विकास भएको हो। सन् १८४६ देखि ५० को दशकमा हङ्गेरी, फ्रान्स, स्पेन, स्वीट्जरल्याण्ड आदि मुलुकमा रेलसेवा प्रारम्भ भएको पाईन्छ। सन् १८५७ देखि बेलायतले पहिलो पटक स्टिल रेल सञ्चालनमा हो। सन् १८६३ मा लण्डनमा संसारकै पहिलो भूमिगत रेलसेवा शुरु भएको पाईएको छ। सन् १८७९ मा जर्मनीले पहिलो यात्रुवाहक विद्युतीय रेल सञ्चालनमा ल्यायो भने सन् १९१३ मा अमेरिकाको न्यूयोर्कमा पहिलो पटक विद्युतीय रेल प्रयोगमा आएको हो ।

सन् २००४ मा विश्वकै सबैभन्दा तीव्र गतिमा कुद्ने रेल चीनमा सञ्चालन भयो । यो रेल ४ सय ३० किलोमिटर प्रति घण्टा कुद्थ्यो ।

यसरी विश्वमा रेलको विकास हुँदै गएको पाईन्छ । हाल सबैभन्दा बढी रेल नेटवर्क भएको मुलुक अमेरिका हो । त्यसपछि चीन र भारत रेल नेटवर्कमा अन्य देशभन्दा अघि छन् ।

यसै अवधारणवाट विश्वमा दू्रत गतिको रेल सबैभन्दा पहिला जापानले कुदायो । अनि जापानी प्रविधिलाई समेत पछि पार्ने गरी चिनले द्रूत गतिको रेलसेवा सञ्चालन गर्यो । चीनले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा द्रुत गतिको रेल सेवा चीनको राजधानी बेइजिङ्देखि सांघाई रुटमा सञ्चालनमा छ। दु्रत गतिको रेल कुदाउने दौडमा चीनले बाँकी विश्वलाई पराजित गरिसकेको छ ।

२२ हजार किलोमिटर लामो रेल सञ्जालभित्र दु्रत गतिमा कुद्ने रेलले संसारलाई आकर्षित गरिरहेको छ । यसै कारण विश्वका कैयौं देशले चिनिया रेल्वे प्रविधिलाई भित्र्याई रहेका छन् । चिनमा एक सहरदेखि अर्को सहरसम्म पुग्नको लागि पनि रेलमार्ग नै प्रयोग हुने गर्छ ।
 

नेपालको सन्दर्भमा 

सन् १९२३ मा नेपाललाई बेलायतले स्वतन्त्र राष्ट्रको मान्यता दियो। त्यसको चार वर्षपछि रक्सौलमा रेल आयो, जुन अमलेखगन्जसम्म जोडियो र यसरी नेपाल र भारत रेलले जोडिए। यी दुवै घटना प्रधानमन्त्री चन्द्रशमशेरको पालामा भएको थियो। सन् २०१४ देखि बन्द रहदै आएको सन् १९३० राणा श्री ३ चन्द्र समसेरले बनाएको जनकपुर- जयनगर (३० किमी) रेलसेवाको पूरानो रेलको लिक पुन:निर्माण एवं आधुनिकरण गर्दै करिब रू १ अर्ब लागतमा भारत सरकारसंग किनेको नयॉ रेलको डिब्बासहितको रेल ईन्जिन  नेपाल आईपुगेर पुन: संचालन तयारिमा छ । नेपाल र भारतबीच यो रेल सेवा आधुनिकरण गर्ने सम्झौता ११ वर्ष अघिनै भएको थियो र त्यो सम्झौता बमोजिमको काम अहिले ११ वर्षपछि सकिएको छ।

भारतको जयनगर देखि बाराको अमलेखगञ्ज सम्म चल्ने यो रेलसेवा बि.सं. १९८४ देखि नै सञ्चालित सेवा हो। प्रारम्भमा तात्कालिन बृटिश शासकले नेपाली जंगलको काठ ओसार्ने ध्येयका साथ यो रेल सेवा शुरू गरेको भएपनी पछिल्लो समय पुर्वी-दक्षिणी धनुषा तथा सिरहाका जनसाधारणलाई समेत जनकपुर पुग्ने प्रमुख साधन बनेको थियो। तर,रेल्वेको इन्जिन, डब्बा तथा रेल्वे लिक समेत निकै जिर्ण हुँदैजाँदा रेलसेवा जयनगर देखि जनकपुर सम्म मात्र सिमीत हुन पुग्यो र पछिल्लो करिब एक दशक देखि अन्ततोगत्वा बन्द नै भयो। यो रेलसेवा लाई ब्यवस्थित गर्दै ब्रोडगेज मोडेलमा सञ्चालन गर्ने बिषयमा नेपाल सरकार र भारतिय पक्षबीच आजभन्दा ११ बर्ष अघि नै सम्झौता भएपनी कार्य सम्पन्न गर्न लामो समय लाग्यो र अहिले  संचालनमा आएको छ |

रेल विभागका अनुसार  अहिले नेपाल ल्याइएका रेल १३ सय सिट क्षमताका हुन्। यो रेलमा भारतको मध्यम दूरीमा चल्ने ‘इन्टर सिटी एक्सप्रेस’ मा जस्तै सुविधा रहेको छ। रेल्वे कम्पनीले रेलको भाडा लगायतको विषय भने टुंगो लगाइसकेको छैन। अबको केहि महिनामा यो  संन्चालन हुनेछ | भारतसँग खरिद गरिएको दुई रेल डिजेल मल्टी इलेक्ट्रोफायरिङ (डिमो) मोडलको रेल हो। एउटा ट्रेन सेटमा ५ वटा डिब्बा (बोगी) हुन्छ। जसमा एउटा मूख्य इन्जिन र अर्को सहायक इन्जिन समावेश छ। एउटा ट्रेन सेटले १३ सय यात्रु वोक्न सक्छ। रेल विभागका अनुसार डिमो रेल दुवैतिरबाट संचालन गर्न सकिन्छ। यसलाई नघुमाई संचालन गर्न सकिने र छोटो दूरीमा यो मोडलको रेल संचालन गर्न उपयुक्त हुने विभागले जनाएको छ। 

यसको साथै रेल विभागले मेची महाकाली रेलमार्ग ९ सय ४५ किलोमिटर योजना बनाएको छ। जसको लागि विभागले भौलोगिक अवस्था, निर्माण सामग्री, प्राविधिक जनशक्ति लगायतको खर्चको अनुमानित अनुमान एक किलोमिटर रेलमार्ग बनाउन ३५ देखि ४५ करोड रुपैया प्रारम्भिक अध्ययनले देखिएको छ। अब भने रेलमार्गबाटै पूर्व पश्चिम नेपाल जोडिने सपना साकार होला यो अब  असम्भव छैन किन कि यसका लागि सरकारले उच्च प्राथमिकता दिएको देखिन्छ। यो मुद्दा मुलुकका प्रमुख राजनीतिक दलहरूले आफ्ना चुनावी घोषणापत्रमा रेलमार्गका बारेमा उल्लेख गरिसकेका छन् भने हालका प्रधानमन्त्री के.पि ओलिले सपना होइन राष्टिय घोषणा गरिसकेका छन्। साथै सरकारले पनि रेलमार्गका लागि ध्यान दिइरहेकै छ । यी सामूहिक कार्य कार्यान्वयन हुन सक्यो भने नेपाली रेलको सपना शतप्रतिशत साकार हुन्छ । 

अबको  पुस्ता रेल हेर्न र चढ्नका लागि भएपनि बिदेश जान नपरोस। नेपालमै रेल चढ्न पाइओस । राणाकालमा शुरु भएको रेल गणतन्त्रमा समेत तान्त्रिक नाराजस्तो नरहोस। एउटा डेण्टिंगपेण्टिंग रेल देखाएर के के न गरियो जस्तो जग हसाउने काम मुख्य जिम्मेवारबाट नहोस।  रेलसेवा बिस्तारमा भ्रष्टाचारको अडचन नआओस। अनि पो ओली आइडिया भनेर भन्न पाहिएला। अहिलेको रेल देखाएर इज्जत राख्न खोज्नु त फरिया उचालेर स्तन ढाकेजस्तै हो । कुरा क्यिलीएर छ, बुझ्नेलाई यही काफी छ !

ADVERTISEMENT